२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

संकट थेग्ने गाउँ सरकार

ADV
अस्मिता बम
२०८१ असोज २१ गते ०६:४५
संकट थेग्ने गाउँ सरकार

काठमाडौं : यस वर्षको अविरल वर्षाले काभ्रेको बेथानचोक गाउँपालिका अति प्रभावित भयो । लगत्तै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी फिल्डमा खटिए । प्रभावितको उद्धार, मृतकको व्यवस्थापन, खानपानको व्यवस्था, संघीय सरकार र सरोकारवालासँग समन्वय आदिमा उनी खटिइरहेका छन् । 

अध्यक्ष अधिकारीका अनुसार बेथानचोकमा मात्रै ३०० भन्दा बढी घरमा पूर्ण क्षति भएको छ । ५०० बढी घरमा आंशिक क्षति भएको छ । १० जनाको मृत्यु भयो । सात जना बेपत्ता छन् । यो पालिकामा सबैभन्दा बढी क्षति भएको वडा नम्बर २, ३ र ४  हो । ३० वटा स्कुलमा क्षति पुगेको छ । एउटा कलेजमा क्षति पुगेको छ । एउटा निजी स्कुलमा क्षति पुगेको छ ।

पहिरोले पालिकामा एकैपटक विद्युत, सडक सेवा र संचार क्षेत्रमा समस्या भयो । एक प्रकारले कसैसँग सम्पर्क हुन नसक्ने, सडक संजाल नभएको र विद्युत पनि नभएको समाज जस्तो हुन पुग्यो । न कसैसँग सम्पर्क न खाने बस्ने ठाउँ र उद्धारका लागि जाने अवस्था छ । 

यस्तोमा पालिका अध्यक्ष अधिकारीसहितका जनप्रतिनिधि खटिए । बिहानदेखि रातिसम्मै र केही दिन नसुतेरै उनीहरु सडक बनाउन, विद्युतका पोल गाड्न र विद्युत सेवा सूचारु गर्नमा लागे । नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा पेट्रोलियम पदार्थ बोकी लगेर जेनेरेटरमा राखेर संचार सेवा जोड्न सफल भए । यी सबै कार्यमा स्थानीय जनप्रनिधिको भूमिका अहम रह्यो ।

यस्तै भूमिका विपद्ले क्षति पुगेका सबै पालिका र अन्य पालिकाका जनप्रतिनिधिले पनि खेलेका छन् । यसमा स्थानीय सरकारलाई प्रदेश र संघका जनप्रनिधिले समेत सघाएका छन् । 

हाल विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण जारी छ । प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना र पुनःनिर्माण गर्ने योजनाका साथ लाग्न सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

विपद् संकटग्रस्त क्षेत्रमा काभ्रेपलाञ्चोकका बेथानचोक गाउँपालिकासहित रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका परेका छन् । 

बाढी पहिरोबाट अति प्रभावित भएर विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहहरूमा ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिका पनि परेको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षका कारण गएको बाढी, पहिरो र डुबानले पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको वेलका नगरपालिका पनि प्रभावित भएको छ । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड अति प्रभावित छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र हो ।

यी क्षेत्रका जनप्रनिधिहरू नागरिकको सेवाका लागि अहोरात्र खटिएका छन् । गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापाका अनुसार ‘विपद् र कुनै पनि संकटका बेला नागरिककहाँ पुग्ने वा सँगै रहने सत्ता भनेकै स्थानीय सरकार हो । जसले आफ्नो भूमिका हरेक संकटमा निभाएको छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise