२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘मकै ब्लक कार्यक्रम’अन्तर्गत प्रविधि हस्तान्तरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २ गते २१:३६
‘मकै ब्लक कार्यक्रम’अन्तर्गत प्रविधि हस्तान्तरण

अर्घाखाँची : परम्परागत रुपमा मकै खेती गर्दै आएका अर्घाखाँचीका किसानहरु नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा खुसी देखिएका छन् ।

पुरानै ढंगले मकै लगाउँदै आएका अर्घाखाँचीका किसानहरु मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर १, २, ३ मा २ हजार रोपनी जग्गामा मनकामना जातको मकै रम्भा रत्न कृषि सहकारी संस्था लिमिटेडमार्फत  उत्पादन बढाउनका लागि नयाँ प्रविधि अनुसार किसानलाई  बिज उत्पादन गर्ने गरी मकै ब्लक खेती शुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख उपसचिव बुद्धि राज घिमिरेले बताए । 

घिमिरेका अनुसार  कृषि ज्ञान केन्द्र अर्घाखाँचीको १९ लाख र सहकारी संस्थाको १९ लाख लगानीमा पाणिनीका ३ वडा समेट्ने गरी मकै ब्लक कार्यक्रम शुरु गरिएको छ ।

कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रुपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका यहाँका किसान ब्लक कार्यक्रममार्फत नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातको बीउ, विभिन्न औजार तथा यन्त्र अनुदानमा प्रयोग गर्न पाउँदा उत्पादन बढ्नेमा आफुहरु ढुक्क भएको पोखरा थोकका किसान प्रमोद गौतमले बताए । 

‘मकै खेती जाने बुझेदेखि नै गर्दै आएको हो, खेती गर्दा लागत, मेहनत धेरै लाग्ने तर उत्पादन सोचे अनुसार हुँदैनथ्यो, अहिले मेसिनबाट मकै रोप्ने प्रविधि भित्रिएको छ, लाइनमा मकै रोप्ने होइन रहेछ । हामी त अन्धाधुन्ध तरिकाले खेतबारीमा सिँधै मकै छथ्र्यौँ, अनि उत्पादन भएन, फल लागेन भन्यौँ र बस्यौँ’ उनले । अहिलेको प्रविधि हेर्दा आफु दंग परेको उनले बताए । 

सहकारीका १ सय ५३  कृषक आवद्ध भइ ब्लकमा मकै खेती शुरु गरेका छन् । ब्लक कार्यक्रमअन्तर्गत यहाँ दुई हजार रोपनी जग्गामा मकै खेती  शुरु गरिएको भएपनि पानी नपरेपछि किसान चिन्तित छन् ।

मकै खेतीमा ब्लक कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला जग्गा उपयुक्त छ कि छैन ?, त्यसको छनोट गर्नुपर्दछ । कृषि प्राविधिकले उपयुक्त ठहरेको जग्गा छनोट गरी कम्तीमा दुई हजार रोपनी क्षेत्रफलमा खेती गरिनुपर्ने कार्यविधि रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख घिमिरेले बताए ।

निर्वाहमूखी खेती प्रणालीले लागत र मेहनतअनुसार उत्पादन लिन नसकिरहेको अवस्थामा अब उत्पादन वृद्धि गर्न नयाँ प्रविधिबाट खेती प्रणाली सिकाएर कृषकको आर्थिकस्तर उकास्न ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्ने कार्यलय प्रमुख घिमिरेको दाबी छ ।

घिमिरेले भने, ‘एक दुई वर्ष मात्र नभइ दीर्घकालीन रुपमा किसानलाई व्यावसायिक बनाउन, उत्पादन लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्ने, मकै लगाउने पुरानो शैलीलाई विस्थापित गरी नयाँ प्रविधिबाट खेती गर्न सिकाउनका लागि ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्नेछ ।’

उत्पादन वृद्धि, बजारीकरण, यान्त्रिकरणमा सघाउ पुग्ने र लागत खर्च घटाउने उद्देश्यले गरिएको ब्लक कार्यक्रममा सहभागी कृषकलाई अनुदानमा विभिन्न सामग्री उपलब्ध गराइएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए ।

ब्लक क्षेत्रमा लगाइएको मकैको उत्पादन राम्रो हुँदै जाने  र यस कार्यक्रमले उत्पादन कसरी बढाउन सकिने रहेछ भन्ने कुराको किसानले जानकारी पाउनेमा आशावादी रहेको कोइरालाले दाबी गरे ।

ब्लक विकास कार्यक्रम सञ्चालन गर्न एकै ठाउँमा ठूलो क्षेत्रफल आवश्यक पर्ने भएकाले पाणिनी गाउँपालिका नै छनोट गरिएको र किसानले यस कार्यक्रमबाट खेती लगाउने नयाँ प्रविधिका अलवा विभिन्न प्रविधि अनुदानमा प्राप्त गरेकाले उत्पादन बढाउने गरी काम गर्न अनुरोध गरेको पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

गत आर्थिक वर्षदेखि  जिल्लाका ६ स्थानीय तहहरुमा  पुरानो कार्यक्रम नै क्रमागत रुपमा चलिरहेका छन् । कृषि ज्ञानकेन्द्रको रु.१९ लाख, सहकारी संस्थाको रु.१९ लाख गरी रु. ३८ लाखको लागतमा कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी सिवलाल घिमिरेले बताए ।

उनले विभिन्न बाली प्रवद्र्धन गर्नुका साथै कृषकलाई नयाँ प्रविधिको प्रयोग गराउन सिकाउँदै व्यावसायिकरुपमा खेती गरी आत्मनिर्भर बनाउन ब्लक कार्यक्रम सञ्चालन गरिएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise