२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

सरकारी निर्णयले ठप्प उद्योग, व्यवसायमा सन्नाटा

shivam cement
छबि सापकोटा
२०८२ कार्तिक ११ गते १२:०१
सरकारी निर्णयले ठप्प उद्योग, व्यवसायमा सन्नाटा

काठमाडौं : अन्तरिम सरकारले निजी क्षेत्रका समस्या बुझ्न नचाहेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । भदौ २४ को विध्वंसमा लुटपाट, तोडफोड एवं आगजनीबाट ठुलो क्षति बेहोरेका व्यवसायीले अहिले पनि असुरक्षित महसुस गरिरहेका छन् । जसका कारण चाडपर्वपछि व्यवसायमा जुट्नुपर्ने निजी क्षेत्रमा सन्नाटा छाएको छ । 

सरकारको पछिल्लो निर्णयबाट आफूहरू झस्किएको व्यवसायीले बताएका छन् । आन्दोलनपछि उत्पन्न संकटबीच नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन महसुलसम्बन्धी पुरानो विवादमा २६ वटा उद्योगको लाइन काटिदिएको छ । जसका कारण  ठुला उद्योग बन्द भएका छन् । उद्योगमा विद्युत् लाइन काटिएपछि उद्योगका हजारौं कर्मचारी कामविहीन बन्न पुगेका छन् । यसले देशको अर्थतन्त्रमै प्रत्यक्ष असर पर्ने देखिएको छ । 

नयाँ सरकारको मुख्य टार्गेट उद्योग बन्द गर्ने देखिएको भन्दै लगानी जोखिममा परेको व्यवसायीको गुनासो छ । आइतबार बसेको नेपाल उद्योग वाणिज्य महासंघको बैठकले समेत देशमा लगानीको सुुरक्षा र भविष्यमाथि चिन्ता व्यक्त गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने बताए ।

चुनावी सरकारले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीको छानबिन, कारबाही र घटनामा संलग्नको जाहेरीसमेत लिन नसकिरहेको अवस्थामा कसरी व्यवसाय गर्ने भन्ने अन्योलमा व्यवसायी छन् । व्यावसायिक सुरक्षाको प्रत्याभूति नहुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको र आर्थिक क्रियाकलापमै नकारात्मक असर परिरहेको छ । 

उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त रहेको श्रेष्ठले बताएका छन् । व्यवसायीहरूले सरकारबाट दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता चाहेका छन् ।  

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको पछिल्लो अवस्थाले अर्थतन्त्रमा नै दीर्घकालीन असर पर्ने बताए । उनले यतिबेला निजी क्षेत्र आत्मविश्वास निकै कमजोर भएको भन्दै अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । 

घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनताले दण्डहीनता बढ्न गई लगानीको वातावरणलाई गम्भीर चुनौती रहेको व्यवसायीको भनाइ थियो । यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवर्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्ने देखिन्छ । 

यस्तै, महासंघमा उपाध्यक्ष हेमराज ढकालले नयाँ सरकार बनेपछि पनि व्यवसायीले अझै सुरक्षाको प्रत्याभूति गर्न नसकेको बताए । उनले भने, ‘निजी क्षेत्रका व्यवसायीले यही देशमा लगानी गरेका छन् । लगानीको सुरक्षा छैन भने सरकारसमेत गम्भीर नदेखिँदा व्यवसायमा आत्मबल धेरै नै घटेको छ ।’

देशको अर्थतन्त्र र रोजगारीमा महत्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै व्यवसायीले निर्वाध रूपमा काम गर्ने वातावरणसमेत नरहेको व्यवसायी बताउँछन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise