२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

वरिष्ठ कलाकार सिंहको बृहत् कला प्रदर्शनी, पाँच हजारले गरे अवलोकन

Nada
२०८१ कार्तिक ३० गते २०:४०
Shares
वरिष्ठ कलाकार सिंहको बृहत् कला प्रदर्शनी, पाँच हजारले गरे अवलोकन

नेपालगञ्ज : मानिससँग सीप र इच्छाशक्ति भएपछि जस्तोसुकै फालिएका वस्तुबाट पनि धेरै राम्रा कलाकृतिहरू बनाउन सकिने रहेछ भन्ने उदाहरण वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले पेश गरेका छन् । कलाकार सिंहद्वारा तयार गरी यहाँ शुरु गरिएको बृहत कला प्रदर्शनीमा राखिएका चित्रकलाहरुबाट उक्त कुरा प्रष्ट भएको छ । श्यामानन्द कला संस्कृति प्रतिष्ठान नेपालगञ्ज बाँकेद्वारा २३ गतेदेखि शुरु भएको प्रदर्शनी मंसिर ३ गतेसम्म सञ्चालन हुने छ । स्थानीय रामलीला मैदान स्थित सरस्वती मन्दिर परिसरमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने कलाकार सिंहले जानकारी गराए । 

ncell

कलाकार सिंहद्वारा तयार गरिएका हस्तकला तथा कलाहरु हजारौंको संख्यामा प्रदर्शनीमा सजाइएका छन् । प्रदर्शनीमा नेपालगञ्जका विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको समूह लगायत करिब शुक्रबारसम्म पाँच हजार बढी जनाले बृहत कला प्रदर्शनीको अवलोकन गरेको सिंहले बताए । 

नेपालगञ्ज उपमहानगरपालिका वडा–९ बाँके गाउँ सरस्वती टोल निवासी ७० वर्षीय वरिष्ठ कलाकार ठकुरीले करिब एक दशकदेखि आफ्नै निजी दुई तल्लाको घरै कला संग्रहालय बताएका छन् । 

पुराना फालिएका, प्रयोग गरिसकेका प्लाष्टिकका सामान, बोतल, थर्माकोल, डेट एक्स्पाएर औषधी लगायतबाट विभिन्न किसिमका हजारौंको संख्यामा आकर्षक हस्तकलाहरु तयार गरेका छन् भने तेल चित्रहरु पनि तयार गरेका छन् । 

बहुमुखी प्रतिभाका धनी वरिष्ठ कलाकार सिंह गीत, संगीत, गायन, बाँसुरी, वाद्यवादनमा पनि खप्पिस छन् भने उनले साहित्यिक क्षेत्रमा पनि कलम चलाएका छन् । तर, विडम्वना नै भन्नु पर्छ कि उनले तयार गरेको बहुमूल्य कलालाई अलग्गै संग्रहालय बनाएर संरक्षण गर्नका लागि स्थानीय निकायबाट कुनै चासो लिएको भने देखिँदैन । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टबाट २३ गते उद्घाटन गरिएको उक्त बृहत कला प्रदर्शनीमा लागेको सम्पूर्ण खर्च उनी स्वयम्ले आफ्नै  निजी स्रोतबाट गरेका कलाकार सिंहले बताए । 

उक्त प्रदर्शनी अवलोकन गर्न पुगेका नेपालगञ्जस्थित वेस्ट जोन इंग्लिस मिडियम स्कुलमा कक्षा ७ का विद्यार्थी प्रनिश कुँवरले आफूले पहिलो पटक यत्ति धेरै मूर्ति तथा चित्रहरू एक ठाउँमा देख्न पाएको बताए । ‘यत्तिका मूर्ति तथा चित्रहरू आँखै अगाडि पहिलो पटक देख्ने मौका पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ, हामीले किताबमा पढेका बस्तुहरू प्रत्यक्ष यहाँ देख्न पाइयो, मन रमाएको छ, खुसी भएको छु’ कुँवरले भने । 

‘सीप भएपछि जस्तोसुकै फालिएका वस्तुबाट पनि धेरै राम्रा कलाकृतिहरू बनाउन सकिने रहेछ भन्ने ज्ञान भयो, सीप मात्र भएर पनि भएन, इच्छा पनि हुनु पर्दोरहेछ विद्यार्थी कुँवरले भने,‘७० वर्ष पुगिसक्नुभएका वरिष्ठ कलाकार सिंह छ, उहाँसँग भेट्ने मौका पनि पाएँ, धेरै कुराहरूको ज्ञान पनि पाएँ । इच्छा भएपछि काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने बुझेँ’ उनले थपे । 

अर्का विद्यार्थी प्रज्ञान रेग्मीले कला प्रदर्शनीमा आएर धेरै कलाकृति अवलोकन गर्न पाएको र यस्तै आफूले पनि बनाउन पाए हुन्थ्यो भन्ने लागेको बताए । ‘हजारौँ कलाकृतिहरू रहेछन्, हेरेर आफूले पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने लाग्यो’वेस्ट जोन स्कुल कक्षा ७ मा अध्ययनरत विद्यार्थी रेग्मीले भने । बनाउन कोसिस गरे त म पनि बनाउन सक्छु भन्ने आत्मबल बढेको छ, अब प्रयास गर्ने बताए ।

सम्बन्धित खबर