कोरोना भाइरसको दोस्रो लहर कम हुँदै जाँदा व्यवसायीक क्षेत्र क्रमशः सामान्य अवस्थामा फर्किन्छन् कि भन्ने देखिएको छ । निषेधाज्ञाका नियमहरु सामान्य बन्दै जानु र संक्रमितहरुको संख्या घट्दै जानुले त्यस्तो देखिएको हो । धेरैजसो व्यवसायिक क्षेत्रमा क्रमशः चहलपहल पनि देखिन थालेको छ । यस्तोमा नेपालको आर्थिक विकासमा महत्वपूर्णं टेपा पर्याएको पर्यटन क्षेत्र भने सामान्यकृत अवस्था फर्किन सकेको छैन ।
यो अवस्थामा पर्यटन व्यवसायीहरु के गरिरहेका छन् ? पर्यटन क्षेत्रमा देखिएका समस्याहरु हल गर्न के–कस्ता प्रयास भएका छन् ? समग्र यो क्षेत्रको उत्थानका लागि के–कस्ता कार्यक्रम ल्याउन आवश्यक छ ? लगायत विषयमा मध्यान्ह दैंनिकका संवाददाता हरिप्रसाद अर्यालले पर्यटनको राजधानीको रुपमा चिनिएको पोखराका पर्यटन व्यवसायीसँग केहि जिज्ञासा राखेका छन् । पर्यटन व्यवसायीहरुको नेतृत्वदायी संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईसँग यिनै विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
कोरोनाको दोस्रो लहर क्रमशः कम हुँदै गएको छ । पछिल्लो समय खोपका कार्यक्रम पनि सरकारले सञ्चालन गरिरहेको छ । के पर्यटन क्षेत्र खुल्ला गर्ने अवस्था बन्दै गएको हो ? कसरी लिनुभएको छ ?
पर्यटन क्षेत्र खुल्ला गर्नुपर्छ भन्ने ढंगबाट हामी लागिरहेका छौं । खुल्ला गर्नको लागि पहल गर्ने कुरामा नेतृत्वदायी संस्थाको तर्फबाट पोखरा पर्यटन परिषदले भूमिका पनि खेलिरहेको छ । खुल्ला गर्ने विषयमा सरकारका सम्बन्धित निकायहरुसँग पनि पहल गरिरहेका छौं ।
हिजो जस्तोसुकै परिस्थितिमा पनि सरकारको अभिन्न अंग भएर हामीले सरकारलाई सहयोग गरेका थियौं । अहिले पनि हामीले सरकारको कार्यक्रमलाई सहयोग गरिरहेका छौं ।
विस्तारै दोस्रो लहर कम हुँदै गएको छ । यो अवस्थामा सबै क्षेत्रलाई खुल्ला गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसको लागि सबैलाई कोरोना खोप लगाउनु अनिवार्य छ । खोप लगाउन सकियो भने सबै क्षेत्रमा नयाँ खालको उत्साह पनि आउने थियो । खोपका कार्यक्रम अगाडि बढाउँदै सबै क्षेत्र खुल्ला गर्नको लागि वातावरण बनाउनु पर्दछ ।
खोपसहितका माग राखेर तपाईँहरु केहि समयदेखि आन्दोलित पनि हुनुहुन्छ । के तपाईँहरुका मागहरु सम्बोधन हुने अवस्थामा छन् ?
व्यवसाय खुल्ला हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । हामीले जहिले पनि बन्दको विकल्प खोज्नुपर्छ भनिरहेका छौं । बाँच्नका लागि उठाएका यी जायज मागलाई राज्यले कता–कता वेवास्ता गरिरहेको हो कि भन्ने लागेको छ । खोप अहिलेको यो संकटको उत्तम विकल्प पनि हो । तर, त्यतातिर सरकारले त्यति ध्यान नदिएको हो कि भन्ने हाम्रो चिन्ता छ ।
महामारीको रोकथाम तथा नियन्त्रणमा सरकारका तीन तहबीच पनि अहिलेसम्म पनि उचित समन्वयन नभईरहेको देखिन्छ । जसले हामीलाई प्रत्यक्ष मार पारिरहेको छ ।
पछिल्लो समय माथिदेखि तलसम्मै सरकार परिवर्तन हुँदा पनि महामारी नियन्त्रण तथा रोकथामका कार्यक्रम अलि अलमल परेजस्तो देखिएको छ । छोटो समयमा धेरै मन्त्रिहरु परिवर्तन हुँदा पनि जायज मागहरु अन्यौंल पर्ने खालको अवस्था रहेको देखिन्छ । अप्ठ्यारो अवस्थालाई सहजीकरण गर्नेभन्दा कुर्सीको खेल माथिदेखि तलसम्मै छ ।
तीन वटै तहका सरकारलाई हामीले हाम्रा जायज मागहरु सम्बोधनका लागि आग्रह गरिरहेका छौं । हामीले कुनै सरकारलाई छाडेका छैनौं । तर, बाँच्न उठाइएका यस्ता जायज माग पनि कुनै सरकारले कता–कता सुन्न नखोजेको हो कि भन्ने चिन्ता हामीलाई छ ।
अहिले व्यवसायी व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा छन्, मजदुरको रोजगारी खोसिएको छ तर, सरकार भने मौन जस्तो मात्रै छ । यो विषय दुःखद छ । हामी चिन्तित छौं ।
झण्डै डेढ दुई वर्षको अवधी उस्तै भईरहँदा कति व्यवसायी विस्थापित भए भन्ने पनि आएको छ । पोखराको अवस्था कस्तो छ ?
कोभिडको पहिलो लहरदेखि नै पोखराको पर्यटन क्षेत्र निकै संकटग्रस्त बनेको थियो । धेरै व्यवसायी निकै निराश भएका थिए । पहिलो लहर कम हुँदै जाँदा सामान्य अवस्थामा फर्किन्छ कि भन्ने उत्साह सबैतिर देखिएको थियो । तर, दोस्रो लहरसँगै भने त्यो सबै उत्साह निराशामा परिणत भएको छ । दोस्रो लहरसँगै कतिपय व्यवसायी व्यवसाय नै छाड्ने अवस्थामा पनि पुगेका छन् । हाम्रो अध्ययनअनुसार झण्डै २० देखि २५ प्रतिशत व्यवसायीले सधैंका लागि यस क्षेत्रलाई छाडेका छन् ।
हिजो पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्ने कुरा थियो । सरकारले पनि भिजिट वर्षको घोषणा पनि गरेको थियो । ति सबै उत्साह ल्याउने कार्यक्रमका कारण पनि व्यवसायीले निकै ठूलो लगानी पनि गरेका थिए । कतिपयले आफ्नो सानो आकारको व्यवसायलाई ठुलो बनाएका थिए भने नयाँ व्यवसाय पनि थप गरेका थिए । तर, यस्तो महामारी आउँदा ती सबै व्यवसायी एकै पटक समस्यामा परे । यो कुनै परायोजित अवस्था त थिएन, तथापी सरकारले समस्यामा परेका व्यवसायीलाई बचाउन कुनै कार्यक्रम ल्याउन सकेन ।
सरकारले बजेट र मौद्रिक नीतिमार्फत समस्यामा परेका व्यवसायीका निम्ति थुप्रै राहतका कार्यक्रम पनि ल्याएको थियो । सरकारले पुनर्कर्जा, सहुलियतपूर्णं कर्जालगायतका कार्यक्रम ल्याईरहँदा के तपाईँहरुले राहत लिन सक्नुभएन र ?
सरकार भनेको अभिभावक हो । अभिभावकले सबैलाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । काठमाडौं मात्रै नभई सबै प्रदेशमा समान ढंगबाट राज्यले सहयोग गर्नुपर्छ । तर, त्यस्तो देखिएन । मौद्रिक नीतिमार्फत केहि कार्यक्रम ल्याइएको भएपनि त्यो कार्यक्रममा सबै व्यवसायी सहभागी हुने अवस्था रहेन । सीमित पहुँचवालाले मात्रै त्यो कार्यक्रमबाट फाईदा लिने अवस्था बन्यो ।
सरकारले घोषणा गरेका कार्यक्रम सबैले पाउनुपर्छ । साना, मझौला र ठूला सबै व्यवसायीहरुलाई समान ढंगबाट व्यवहार गर्न आवश्यक छ । सरकारले घोषणा गरे पनि सोहीअनुसार कार्यान्वयन भने भएन । मौद्रिक नीतिमा कार्यक्रम ल्याएपनि कार्यान्वयनका विषय निकै जटिल देखिए । व्यवसायी सरकारका ति सर्तलाई सम्बोधन गर्न सक्ने अवस्थामा छैनन् ।
सार्वजनिक तथ्यांकमा त थुप्रै व्यवसायीले सहुलितपूर्णं कर्जा लिएको देखिन्छ । के पोखराका व्यवसायी समावेश भएनन् र ?
तपाईंले देशभरिको तथ्यांक भन्नुभयो । हो १० देखि १२ प्रतिशत व्यवसायीले सरकारले घोषणा गरेको कार्यक्रमबाट राहत लिएका छन् । तर, पोखराको सन्दर्भमा मात्रै कुरा गर्दा एक प्रतिशत पनि व्यवसायीले त्यस्तो राहत लिन पाएनन् । एक प्रतिशत पनि नपरेको कार्यक्रमबाट व्यवसायीले कसरी राहत लिए भन्नु ?
मौद्रिक नीतिका कार्यक्रममा सरकारभन्दा अलि बढि बैंक तथा वित्तीय संस्था हाबी भए कि भन्ने देखिएको छ । राहत कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको कता–कता मनमौजी चलेको त होइन् भन्ने आशंका हाम्रो हो । यसमा सरकारले वास्ता गरेको देखिएन ।
पर्यटन क्षेत्रले नेपालको आर्थिक विकासमा ठूलो योगदान गरेको छ । ठूलो योगदान गरेको यो क्षेत्र महामारीबाट सबैभन्दा बढि प्रभावित छ । तपाईँ व्यवसायी पनि भईरहँदा, केहि वैकल्पिक विधि गरेर यो क्षेत्रलाई खुलाउन सकिन्छ भन्ने सोंच्नुभएको छ ?
कोभिडको महामारी कहिले अन्त्य हुन्छ भन्ने सुनिश्चित छैन् । त्यो समय पर्खेर बसेर पनि साध्य लाग्दैन् । त्यो विकल्प पनि होइन् । त्यस्तो पखाई निकै घातक पनि हुन्छ । मेरो बुझाईमा, हेल्थ प्रोटोकललाई कडाईपूर्वक पालना गर्दै अब विस्तारै व्यवसायीक क्षेत्र खुला गर्नुपर्छ । सरकारले भनेको एक महिनाको भिसा फ्रि, १० दिनको सरकारी बिदा, केहि बैंक तथा वित्तीय संस्थाले घुम्नको लागि केहि रकम छुट्याउने जुन कार्यक्रम बनाएका छन् त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ । स्वास्थ्य मैत्री संरचनाहरु विकासमा सरकारले ध्यान दिन आवश्यक छ । साथै पर्यटन क्षेत्रलाई खुल्ला गर्न सरकारले केहि विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्दछ ।
अबको केहि वर्ष आन्तरिक पर्यटनमै सीमित हुनुपर्ने अवस्था देखिन्छ । जसलाई ध्यानमा राख्दै सरकारले कार्यक्रम ल्याउन आवश्यक छ । यो अभियानमा हामी पनि आफ्नो ठाउँबाट पूर्णं भूमिका खेल्न तयार छौं । हामी हात बाँधेर बस्ने सोंचमा छैनौं । सरकारले विशेष ध्यान दिन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies