काठमाडौं : वैदेशिक रोजगार कार्यालयले आगामी बैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने भएको छ । बिहीबार एक सूचना जारी गरी वैदेशिक रोजगार कार्यालय ताहाचलले बैशाख २ गतेदेखि संस्थागत अर्थात् म्यानपावर कम्पनीको तर्फबाट पेश हुने फाइलमा श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने बताएको छ ।
त्यसका लागि कम्तीमा ३ कार्य दिनअघि नै पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन समेत कार्यालयले अनुरोध गरेको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारीमा आएलगत्तै शेषनारायण पौडेलले अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन शुरू गरेपछि सोही कामका लागि म्यानपावर कम्पनीले श्रम प्रतिनिधि वा अन्य कसैलाई पठाए कारबाही गरिने बताएका थिए ।
म्यानपावर कम्पनीले फाइलमार्फत अन्तिम स्वीकृति लिँदा उक्त कार्यालयका धेरै कर्मचारी र केही श्रम प्रतिनिधिका लागि वैदेशिक रोजगार कार्यालय ताहाचल कमाईका दृष्टिले आकर्षक मानिएको थियो । वैदेशिक रोजगार विभाग मातहत रहेपनि मन्त्रालयका सचिवले आफू निकटका कर्मचारीलाई ताहाचल पठाउने गरेका थिए ।
विगतमा व्यवसायीले मागपत्र, कामदारले पाउने तलबदेखि कामदारका सबै विवरण स्क्यानिङ गरेर अनलाइनबाटै पठाएपनि कर्मचारीले सबै सक्कली कागजात लिएर आउन दबाब दिएर सानातिना कमजोरी देखाउँदै रकम असुल्ने गरेकोे कतिपय व्यवसायीको गुनासो छ ।
अनलाइन प्रणालीको शुरुवात गरिएपछि त्यसलाई असफल पार्न केही कर्मचारीदेखि बिचौलियाहरुले धेरै मिहेनत गरेको पनि पटकपटक सार्वजनिक हुने गरेकोे थियोे ।
वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरू गरिएपछि सेवाग्राहीले लामो लाइन बस्नुपर्ने यसअघिको झन्झट हटेको मन्त्रालयको भनाइ छ ।
संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानेहरुको विवरण म्यानपावर कम्पनीले भरिदिए पनि व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत जाने कामदारले विभागको वेबसाइटमार्फत फाराम भर्न झन्झट मान्ने गरेका कारण अहिले पनि कार्यालय छेउछाउका बिचौलिया पूर्णरूपमा नहटेको बताइएको छ ।
अनलाइन श्रम स्वीकृति शुरू भएमा तालिम नलिई अभिमुखीकरणको प्रमाणपत्र लिने कार्य, नक्कली बीमाजस्ता समस्या हट्ने विभागको बुझाई छ ।
स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सञ्चालित सुरक्षित आप्रवास परियोजना (सामी)को चार करोड रुपैयाँभन्दा बढी लागतमा पाँच वर्ष अघिदेखि अनलाइन प्रणाली शुरूवात गरिएकोे हो ।
काठमाडौं : मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको छ । कोरोना भाइरस संक्रमण घटेको र आर्थिक तथा सामाजिक गतिविधिमा तिव्रता आएपछि मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको छ ।
मलेसियाका प्रधानमन्त्रीले आगामी मे महिनादेखि सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेका छन् । कतिपय बहुराष्ट्रिय कम्पनीहरूले अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेको बताएका छन् ।
फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।
मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।
मन्त्री साराभाननले परेका आवेदनहरूमाथि मन्त्रालयका अधिकारीहरूले छानविन गरिरहेको भन्दै निर्माण तथा प्लान्टेशन क्षेत्रका लागि २ हजार ६ सय ५ जनाको एप्रुभल दिइसकेको बताए । सेवा क्षेत्रका लागि परेका आवेदनमध्ये कतिपय अपूर्ण रहेको र कतिपय तोकिएको कोटा भन्दा धेरै रहेकोले एप्रुभलको प्रक्रियामा समस्या आएको पनि उनले बताएका छन् ।
मलेसियामा कामदार भर्नाको अनुमति मानव संशाधन मन्त्रालयले दिने भए पनि भिसा जारी गर्ने काम गृहमन्त्रालय अन्तर्गत अध्यागमन विभागले गर्ने गरेकोे छ । मलेसियाले करिब दुई वर्षपछि गत फेब्रुअरी १५ तारेखदेखि विदेशी कामदार ल्याउन खुला गर्ने निर्णय गरेकोे थियो ।
उता ओमानमा भने विदेशी कामदारको संख्या घट्दै गएको बताइएको छ । कोरोना भाइरस संक्रमणको पछिल्लो दुई वर्षभित्रमा तीन लाख श्रमिकले रोजगारी गुमाएको ओमानका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विदेशी कामदारको कमीले देशको आर्थिक गतिविधिमा शिथिलताको अवास्था आउन सक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
कोरोना भाइरस संक्रमणको पहिलो वर्ष सन् २०२१ मा ओमानमा ५८ हजार आप्रवासी कामदारले ओमान छोडेक तथ्यांक त्यससम्बन्धी काम गर्ने नेशनल सेन्टर फर स्ट्याटिक्स एण्ड इन्फरमेसनले आफ्नो प्रतिवेदनमा जनाएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वी युरोपका सात मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा जाने श्रम स्वीकृति शर्तसहित खुला गरेको छ । क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीहरू अलपत्र परेको सूचना प्राप्त भएको भन्दै मन्त्रालयले ती मुलुकमा वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति केही दिन अघिबाट स्थगन गरेको थियोे ।
मन्त्रालयले ती मुलुकमा रोजगारीमा जान रोकिएको श्रम स्वीकृति पुनः शुरु गरिएको बताउँदै व्यक्तिगत श्रम स्वीकृति लिई जाने प्रक्रियालाई व्यवस्थित गरिएको जनाएको छ । मन्त्रालयले आगामी २०७९ वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएअनुसार नेपाली राजदूतावास वा नियोगबाट प्रमाणीकरण भएका मागपत्रमा मात्र श्रम स्वीकृति दिने निर्णय भएको बताएको छ । मन्त्रालयले २०६९ साल भदौ ११ मा व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरेकोे थियो ।
व्यक्तिगत मागपत्र प्रमाणीकरणको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रहरुको सूचीमा हाल साउदी अरेबिया, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । मन्त्रालयले उक्त सूचीमा पूर्वी युरोपेली मुलुकहरू क्रोयसिया, अल्वानिया, पोल्याण्ड, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसलाई समेत थप गरेको छ ।
मन्त्रालयले विभिन्न म्यानपावर कम्पनी (एजेन्सीहरु)ले संस्थागत श्रम स्वीकृति भन्दा व्यक्तिगत श्रम स्वीकृतिलाई आधार बनाई ठगी गरेको भन्ने उजुरीका आधारमा वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिन चाहने व्यक्तिले रोजगारीका सेवा शर्तलगायत कुनै एजेन्सीबाट नभई व्यक्तिगत पहलबाट भएको व्यहोरासहितको स्व–घोषणापत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
यसबाट वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सम्मानजनक बनाउने प्रक्रियामा सम्वद्ध सबैको सहयोग प्राप्त हुने अपेक्षा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : आगामी एक महिनासम्म नेपाली कामदारका लागि पेश हुने मागपत्र प्रमाणीकरणका आवेदन नलिने निर्णय गरेका साउदी अरबस्थित नेपाली दूतावासका कर्मचारी बिदा मनाउन स्वदेश फर्किने तयारीमा लागेका छन् । मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै साउदीस्थित नेपाली दूतावासले बुधबारसम्म यसअघि पेश भएका मागपत्र प्रमाणित नगर्ने र आगामी मे ६ तारेखसम्म प्रमाणीकरणका लागि रोजगारदाताबाट कुनै आवेदन दर्ता नगर्ने निर्णय सार्वजनिक गरेकोे थियोे ।
दूतावासले मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै मागपत्र प्रमाणीकरण गर्ने कार्य एक महिनाभन्दा बढी समय स्थगित गरेर आफ्नो नालायकी र गैर जिम्मेदारी हर्कत प्रदर्शन गरेको धेरैले टिप्पणी गरेका छन् । साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमणीकरण गर्ने गरेका छन् । दूतावासको सूचनाले दुबै स्थानबाट मागपत्र प्रमाणीकरणको काम प्रभावित भएको छ ।
कोरोना भाइरस संक्रमण कम भएको र खोप लगाउनेहरू बढेपछि साउदी अरबले विदेशी कामदारका लागि ढोका खोलेको थियोे । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए । नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण प्रायः बन्द भएपछि नेपाली कामदार लैजान चाहने रोजगारदाताहरू निराशा भएर फर्किने गरेकोे बताइएको छ ।
रियादस्थित नेपाली दूतावासले रमदानको पवित्र महिना र ईद पर्वको अवसर भन्दै अप्रिल ३ तारिख आइतबारदेखि मे ५ तारिख बुधबारसम्म मागपत्र प्रमाणीकरणको काम ‘सस्पेण्ड’ गरेकोे बताएको छ । दूतावासले एक महिनापछि मे ६ तारिखदेखि मात्रै दूतावासको अनलाइन डिमाण्ड एटेस्टेशन अनलाइन प्रक्रियाबाट डिमाण्ड प्रमाणीकरणको आवेदन लिन शुरू गरिने सूचनामा उल्लेख छ । मार्च ३१ तारिखसम्म प्रमाणीकरणका लागि पेश भएका डिमाण्ड भने पहिले जसरी नै प्रमाणीकरण हुने दूतावासको भनाइ छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोक्नुलाई कतिपयले नेपालको राष्ट्रिय आवश्यकता विपरीतको काम भनी टिप्पणी गरेका छन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स घटेको र त्यसले सोधानन्तर अवस्था कमजोर बनेको अवस्थामा सकेसम्म धेरै कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने बिज्ञहरूको सुझाव रहेको अवस्थामा नेपाली दूतावासबाट बहानाबाजी गरेर मागपत्र नै प्रमणाणीकरण नगर्नु दुःखद् घटना भएको नाम बताउन नचाहने एक व्यवसायीको टिप्पणी छ ।
रेमिट्यान्स आप्रवाहमा कमी आएको कारणले हाल श्रीलंकामा राष्ट्रिय संकटको अवस्था सिर्जना भएको छ । कतिपय अर्थविद्हरूले रेमिट्यान्स घट्दै गए नेपाल पनि श्रीलंकाको बाटोमा जानसक्ने चेतावनी दिएका छन् ।
साउदीस्थित नेपाली दूतावासले रमदानको बहाना बनाएर कामै रोक्नु अनुत्तरदायी प्रवृत्ति मानिएको छ । एक मुस्लिम व्यवसायीले मध्यान्हसँग भने, ‘रमदानको महिना भनेको नेपाली दूतावासका कर्मचारीले व्याख्या गरेजस्तो कामै नगर्ने महिना होइन । यो त पवित्र महिना हो र हामी अरु ११ महिना भन्दा रमदानको महिना तीन गुणा बढी काम गर्छौं ।’ उनले रमदानको महिना प्रगति र उन्नतिको महिना भएको बताए ।
रमदानको महिनामा काम रोक्ने निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयको लिखित निर्णय र निर्देशन नभई साउदीस्थित नेपाली दूतानासका करिब आधा दर्जन अनुत्तरदायी कर्मचारीको लहडको निर्णय हो ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठेको छ । नेपाली दूतावास श्रम कूटनीतिसँग पनि सम्बन्धित रहेको र त्यहाँ श्रम मन्त्रालयका उपसचिव सरहका कर्मचारी काउन्सिलर श्रम र शाखा अधिकृत श्रम सहचारी पनि छन् । साउदी रोजगारदाताहरूले मागपत्र पेश गर्न चाहेको अवस्थामा दूतावासको ढोका बन्द गरेर छुट्टी मनाउन हिँड्ने प्रवृत्तिलाई स्वयं परराष्ट्र र श्रम मन्त्रालयको गैरजिम्मेवारी भन्दै छानविन र अनुसन्धान गरिनुपर्ने बताएका छन् । श्रम मन्त्रालयले तत्काल मागपत्र प्रमाणीकरण खोल्न कडा आदेश दिनुपर्ने कतिपयको माग छ ।
साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेकोमा नेपाली व्यवसायीमाथि परेको मर्कालाई लिएर आवाज नउठाएकोमा कतिपय व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पनि आलोचना गरेका छन् । यसबारे संघले गम्भीररुपमा परराष्ट्रदेखि श्रम मन्त्रालयसम्म आवाज उठाउनु पर्ने व्यवसायीहरुको धारणा पाइएको छ ।
काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारबाट फर्केका र जान चाहने व्यक्ति तथा परिवारका लागि वित्तीय साक्षरता र उद्दमशिलता तालिम सम्पन्न गरेकोे छ । स्थानीय तहसँगको साझेदारीमा हेटौंडामा सम्पन्न दुई दिने अभिमुखीकरण तालिम प्रभावकारी रहेको विभागले बताएको छ ।
विभागका महानिर्देशक शेषनारायण पौडेलको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उप प्रमुख मिना कुमारी लामा, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधकारी भरतमणि पाण्डे, श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका अधिकृत हरिहर पोखरेल, बकैया गाउँपालिका मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, बकैया गाउँपालिकाको कृषि विकास शाखा तथा पशुपंछी विकास शाखाका शाखा प्रमुखहरु, राष्ट्रिय वाणिज्य बैकका प्रतिनिधि र सामी तथा हेल्भाटास परियोजनाका पदाधिकारीहरुको सहभागितारहेको विभागले बताएको छ ।
हैटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबाट छनोट गरिएका वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने व्यक्ति तथा तिनका परिवारका चालिस भन्दा बढीको संख्यामा सहभागिता रहेको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने व्यक्ति तथा तिनका परिवारका सदस्यहरुलाई वित्तीय साक्षरता, विप्रेषण र विप्रेषणको उत्पादनमूलक क्षेत्रमा लगानीको लागि महत्वबारे जानकारी गराइएको थियोे ।
विभागका अनुसार वित्तीय लक्ष्य निर्धारण र पारिवारिक बजेट, सफल उद्धमीका लागि व्यावसायिक अवसरको पहिचान र छनोट, बजार र बजारीकरण, व्यावसायिक योजनाबारे जानकारी गराइएको थियोे । सहभागीहरूले वैदेशिक रोजगारीमा जाने क्रममा प्रस्थान बिन्दुदेखि गन्तव्य मुलकमा रहँदासम्म ठगी एवं शोषणको सिकार बन्नु परेको विषयमा जिज्ञासा राखेका थिए । विभागका महानिर्देशक पौडेलले जिज्ञासा तथा गुनासाहरुको जवाफ दिएका थिए ।
काठमाडौं : साउदी अरेबियास्थित नेपाली दूतावासका अधिकारीहरुको गैर जिम्मेवारीपूर्ण हर्कतले उक्त मुलुकमा रोजगारीका लागि जाने तयारीमा रहेका नेपाली कामदार र त्यहाँबाट नेपाली कामदारको माग ल्याउने वैदेशिक रोजगार व्यवसायीहरु गम्भीररूपमा प्रभावित भएका छन् । दूतावासले मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै मागपत्र प्रमाणीकरण गर्ने कार्य एक महिनाभन्दा बढी समय स्थगित गरेर आफ्नो नालायकी र गैर जिम्मेदारी हर्कत प्रदर्शन गरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए । तर चैत लागेदेखि साउदी अरबस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण प्रायः बन्द अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् । साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमनणीकरण गर्ने गरेका छन् ।
तर रियादस्थित नेपाली दूतावासले रमादानको पवित्र महिना र ईद पर्वको अवसर भन्दै अप्रिल ३ तारिख आइतबारदेखि मे ५ तारिख बुधबारसम्म मागपत्र प्रमाणीकरणको काम ‘सस्पेण्ड’ गरेकोे बताएको छ । दूतावासले एक महिनापछि मे ६ तारिखदेखि मात्रै दूतावासको अनलाइन डिमाण्ड एटेस्टेशन अनलाइन प्रक्रियाबाट डिमाण्ड प्रमाणीकरणको आवेदन लिन शुरू गरिने बताएको छ । मार्च ३१ तारिखसम्म प्रमाणीकरणका लागि पेश भएका डिमाण्ड भने पहिले जसरी नै प्रमाणीकरण हुने दूतावासको भनाइ छ ।
दूतावासले नेपाली कामदार ल्याउने साउदी रोजगारदाताहरूलाई ती कामदारको सम्पर्क नम्बर एकीकृतरूपमा पेश गर्न र नेपालमा रहेका म्यानपावर कम्पनीहरूलाई डिमाण्डका लागि बिचौलियाहरू प्रयोग नगर्नसमेत सचेत गराएको छ । यस्तै जेद्धास्थित कन्सुलर कार्यालयले पनि मागपत्र प्रमाणीकरण रोकेको बताएको छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोक्नुलाई कतिपयले नेपालको राष्ट्रिय आवश्यकता विपरीतको काम भनी टिप्पणी गरेका छन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स घटेको र त्यसले सोधानन्तर अवस्था कमजोर बनेको अवस्थामा सकेसम्म धेरै कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने बिज्ञहरूको सुझाव रहेको अवस्थामा नेपाली दूतावासबाट बहानाबाजी गरेर मागपत्र नै प्रमणाणीकरण नगर्नु दुःखद् घटना भएको नाम बताउन नचाहने अर्का व्यवसायीको टिप्पणी छ ।
रेमिट्यान्स आप्रवाहमा कमी आएको कारणले हाल श्रीलंकामा राष्ट्रिय संकटको अवस्था सिर्जना भएको छ । कतिपय अर्थविद्हरूले रेमिट्यान्स घट्दै गए नेपाल पनि श्रीलंकाको बाटोमा जानसक्ने चेतावनी दिएका छन् ।
साउदीस्थित नेपाली दूकाबासले रमदानको बहाना बनाएर कामै रोक्नु काम कोर प्रवृत्ति मानिएको छ । एक मुस्लिम व्यवसायीले मध्यान्हसँग भने, ‘रमदानको महिना भनेको कामै नगर्ने महिना होइन । यो त पवित्र महिना हो र हामी अरु ११ महिना भन्दा रमदानको महिना तीन गुणा बढी काम गर्छौं ।’ उनले रमदानको महिना प्रगति र उन्नतिको महिना भएको बताए ।
रमदानको महिनामा काम रोक्ने निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयको लिखित निर्णय र निर्देशन हो कि साउदीस्थित नेपाली दूतानासका ६÷७ जना कामचोर कर्मचारीको लहडको निर्णय हो ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठेको छ । नेपाली दूतावास श्रम कूटनीतिसँग पनि सम्बन्धित छ र त्यहाँ श्रम मन्त्रालयका शाखा अधिकृत र उपसचिव सरहका कर्मचारी पनि हुन्छन् । श्रम सहचारी र काउन्सेलर श्रम पदधारी ती कर्मचारी महँगो तलव भत्ता मात्र खान गएका हुन् कि श्रम मन्त्री या श्रम सचिवलाई पनि यसबारे रिपोर्टिङ गरे ? छानविन र अनुसन्धानको विषय भएको छ । यसबारे श्रम मन्त्रालय तत्काल मागपत्र प्रमाणीकरण खोल्न कडा आदेश दिनुपर्ने देखिएको छ ।
साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेकोमा नेपाली व्यवसायीमाथि परेको मर्कालाई लिएर आवाज नउठाएकोमा कतिपय व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पनि आलोचना गरेका छन् । यसबारे संघले गम्भीररुपमा परराष्ट्रदेखि श्रम मन्त्रालयसम्म आवाज उठाउनु पर्ने व्यवसायीहरुको धारणा पाइएको छ ।
अन्य दूतावासले भने रोकेनन् काम
साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेपनि खाडी मुलुकमा रहेका अन्य नेपाली दूतावासहरूले सेवा रोकेका छैनन् ।
दूतावासहरूले राष्ट्रिय पर्व वा अन्य कारणले नेपालमा वा सम्बन्धित मुलुकमा बिदा परेमा आफ्नो वेबसाइटमा केही दिनअघि नै सेवा रोकिने जानकारी दिने गरेकोमा यस पटक मुस्लिम समुदायको महान पर्व रमदानको शुभकामना व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । तर विज्ञप्तिमा रमदानको कारणले मागपत्र प्रमाणीकरण तथा नियमितरूपमा दिँदै आएका सेवा रोकिएको बारे केही उल्लेख गरेका छैनन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
कतार, २० चैत । मधेश प्रदेश समन्वय परिषद कतारले रमदान तथा नयाँ वर्ष २०७९ को अवसरमा भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सनैयास्थित एसियन टाउनको ग्रेट एसियन रेस्टुरेन्टको सभाहलमा शुक्रबार आयोजित कार्यक्रम परिषद कतारका कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवानको सभापतित्व तथा एन आर एनए कतारका सचिव रविन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सामाजिक अभियन्ता मनिष यादव, प्रवासी नेपाली मञ्च कतारका चानक पोखरेल, जनसम्पर्क समिति कतारका सहमहामन्त्री भुवन साउद, नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, नेपाली महिला समाज कतारकी अन्जिला देवकोटा र जनप्रगतिशील मञ्च कतारका राजेन्द्र देवकोटा विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
सो अवसरमा परिषद कतारका महासचिव शिव कुमार महतो, सल्लाहकारहरु कार्यसमितिका पदाधिकारीहरु, कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । सोहि क्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै सामाजिक अभियानता मनिष यादवले मधेश प्रदेश समन्वय परिषद कतार कुनै जातजाती धर्म राजनीतिक संस्था नभएको भन्दै यो एउटा सार्वजनिक मधेसीको संस्था भएको बताए ।
उनले प्रवासमा रहेर पनि मधेश र मधेशी जस्तो नाम जोडेर स्थापना गरेकोमा परिषदका सम्पूर्ण कार्यसमितिलाई धन्यवाद व्यक्त गरे । साथै ईस्लाम धर्मावलम्बीहरुको पावन महिना रमदान तथा नेपालीहरुको नयाँ वर्ष २०७९ को अवसरमा उनले सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अलि हुसेन राईनले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । संस्थाको एक वर्षको कार्य प्रगति प्रतिवेदन सल्लाहकार जियाबाबु खानले प्रस्तुत गरेका थिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलाकार दिलिप मण्डलले मातृभुमी राष्ट्रप्रति समर्पित गीत ‘विन्ती छै सब नेपाली भैया आउर भाईके किया कनबै छह तु सब नेपाल माईके’ बोलको गीतमा प्रस्तुति दिएका थिए ।
नेपाली राष्ट्रिय गानपछि कतारी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा शहीदहरुको सम्झनामा दीप प्रज्वलन तथा एक मिनेट मौन धारणा गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
सभापति एवं परिषद कतारका कार्यवाहक अध्यक्ष पासवानले मन्तव्य राख्दै निमन्त्रणालाई स्वीकार गरि आएका सम्पूर्ण अतिथिहरुमा धन्यवादसहित नयाँ वर्ष र रमदानको शुभकामना व्यक्त गरेका थिए । जयप्रकाश यादवले सहजीकरण गरेको कार्यक्रमको संचालन शिवकुमार महतोले गरेका थिए ।
काठमाडौं : अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेसँगै मलेसियाले आफ्नो देश प्रवेशमा प्रतिबन्धित व्यक्तिहरूको कालो सूची पुनः सक्रिय गरेको छ । मलेसियाका गृहमन्त्री हमजाह जैनुदिनले राष्ट्रिय सुरक्षा उच्चतम स्तरमा रहेको सुनिश्चित गर्नका लागि मलेसिया प्रवेश प्रतिबन्धित व्यक्तिहरूको कालोसूची पुनः सक्रिय गरेको बताएका छन् । करिब दुई वर्षपछि मलेसियाले अप्रिल एक तारिखदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खुल्ला गरेकोे छ ।
शनिबार आयोजित एक कार्यक्रममा गृहमन्त्री हजमानले कुन देशका नागरिक कालोसूचीमा बढी मात्रामा रहेका छन् भन्ने नखुलाउने बताए । उनले भने, ‘विगत लामो समय लगाएर तयार पारेको सूची सवै अध्यागमन कार्यालयहरूमा पठाइएको छ, तर त्यो सूची सार्वजनिक गरिने छैन ।’
मलेसियाले मुस्लिम अतिवादीहरूको सामुहिक प्रवेशलाई रोक लगाउने मुख्य लक्ष्य राखेर प्रतिबन्धित व्यक्तिहरूको गोप्य सूची बनाउने बताए पनि त्यसबाट अध्यागमन कानून उल्लंघन गरेर स्वदेश फर्किएका आप्रवासी कामदारको पुनः प्रवेशमा पनि समस्या निम्त्याउने बताइएको छ ।
रोजगारीका लागि मलेसिया गएका नेपाली कामदारहरू लुकेर लामो समय बसेका र आपराधिक गतिविधिमा लागेर जेल सजाय पाएकाहरू कालोसूचीमा पर्ने गरेका छन् । मलेसियन अधिकारीहरूलाई उदृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्यमहरूले इन्डोनेशियाबाट अवैधानिकरूपमा कामदार प्रवेश गर्ने समस्या गम्भीर बनेको उल्लेख गरेका छन् । हाल मलेसिया र इन्डोनेसियाबीच घरेलुु कामदार व्यवस्थापन गर्ने विषयमा दुबै देशको शीर्ष तहमा छलफल भइरहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
कतार, १९ चैत । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनबाट बुद्ध पाण्डे पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
पाण्डेको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम भट्टराई, उपाध्यक्ष अख्तर हुसेन, महिला उपाध्यक्ष मनीषा खड्का, महासचिव टेक बहादुर थापा, सचिवद्वयमा सजन लौडारी र विकास गैरे, कोषाध्यक्ष देवराज पुन, सह कोषाध्यक्ष केशर बहादुर खत्री रहेका छन् । त्यसतै सदस्यहरूमा झविन्द्र आचार्य, लक्ष्मण पौडेल, विवश बेल्वासे, छविलाल परियार, नेत्र आचार्य, कृष्ण पन्थी, विश्वनाथ भट्टराई, बलराम जैसी र समुन्द्र खड्का निर्वाचित भएका छन् ।
स्वागत नृत्य शिभान्सी कुवरले पेस गरेकी थिइन भने सन्ध्या अर्याल, जिया हमाल, क्रिजल पन्थी, शान्ति वली लगायतले नृत्य र विकास सुनुवार, आयुस कुमाकी, दीपेन्द्र सुनुवार, मानसिंह परियार, सुरेश बिसी, विजयराज भट्टराई लगायतले आफ्नो सांङ्गीतिक प्रस्तुति दिएका थिए ।
भट्टराईले तनहुँका स्पाइनल मस्कुलर एट्रोफी रोगबाट ग्रसित उस्मान अलिको उपचारमा आर्थिक सहयोग, गैर आवासीय नेपाली संघ मार्फत नेपालमा कोरोना महामारीका बिच पठाइएको अक्सिजन सिलिन्डर पठाउन आर्थिक सहयोग र कोरोना कालमा कतारमा नेपाली नियोग सँग सहकार्य गरी थुप्रै राहत वितरण लगायतका कार्यहरू सम्पन्न गरेको प्रगति विवरण पेस गरे ।
उनले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा समेत केही ट्रली प्रदान गर्ने प्रक्रिया अगाडी बढेको समेत प्रतिवेदन मार्फत जानकारी दिए । २७ हजार ५ सय १९ रियाल आम्दानी गर्दै ७ हजार ८ सय ३० रियाल खर्चँदै १९ हजार ६ सय ८९ रियाल बचत गरेको आयव्यय विवरण सह कोषाध्यक्ष देवराज पुनले अधिवेशनमा पेस गरेका थिए ।
अधिवेशनबाट लुम्बिनी प्रदेश भित्र रहेका सबै संस्था, पदाधिकारी तथा विभिन्न कालखण्डमा सहयोग गर्ने व्यक्ति, कलाकार तथा पत्रकारलाई सम्मान प्रदान गरिएको थियो । परिषद्का अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षता, परिषद्का प्रमुख सल्लाहकार तथा सामाजिक अगुवा कमलमणि गुरागाँईको प्रमुख आतिथ्यतामा सम्पन्न खुल्ला सत्रमा परिषद्का वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियारले स्वागत मन्तव्य राखेका थिए । परिषद्का महासचिव डिल्लीराम भट्टराईले कार्यक्रमको सहजीकरणका साथै प्रगति प्रतिवेदन समेत पेश गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
कतार, १९ चैत । नेपाली श्रमिक कल्याणकारी संघ कतारले ‘स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सचेतना मूलक कार्यक्रम’ सम्पन्न गरेको छ ।
संघले कतारमा रहेका श्रमिकहरूलाई सचेतना जगाउने उद्देश्यले काम गर्दा अपनाउनु पर्ने सुरक्षा नीतिका विषयमा प्रशिक्षण गराएको थियो । विमल सुबेदी र अमिर डाँगीले श्रब्यदृश्यसहित प्रशिक्षण दिँदै कामदारले अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी गराएका थिए ।
प्रशिक्षकद्वय सुबेदी र डाँगीले कामदारले सुरक्षाको पूर्ण पालना नगर्दा दुर्घटना निम्तिन सक्ने भन्दै त्यस तर्फ सचेत गराएका थिए । सुरक्षको पूर्ण पालना नगर्दा कार्यस्थलमा बढी दुर्घटना हुने गरेको बताउँदै उनीहरुले सुरक्षाका सबै संयन्त्र अपनाएर काम गर्न आग्रह गरेका थिए ।
स्वास्थ्य सम्बन्धी जानकारी दिँदै डाक्टर मोहम्मद मोदसिर आलामले गर्मी मौसमको सुरुवात हुन लागेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे । संघका अध्यक्ष देव लम्सालको अध्यक्षता तथा सुरत शाहीको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा डाक्टर आलामले शरीरले चाहेजति पानी पिउनुपर्ने बताउँदै चिसो–तातोबीचको सन्तुलन मिलाउनसमेत आग्रह गरेका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies