२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, १५ जनाकाे अवस्था गम्भीर

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते १४:०८
विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ नेपालीको मृत्यु, १५ जनाकाे अवस्था गम्भीर

काठमाडौं : विषाक्त मदिरा सेवनबाट कुवेतमा ९ जना नेपाली कामदारको मृत्यु भएको छ । अशक्त बनेका नेपालीसहित ठुलो संख्यामा आप्रवासी कामदारलाई अस्पताल भर्ना गरिएको छ ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले हालसम्म ९ नेपालीकाे ज्यान गएको खबर आएको बताएका छन् । उनका अनुसार १५ जना अस्पतालमा उपचाररत रहेका छन् ।

आज शुक्रबार कुवेतमा सार्वजनिक बिदा परेका कारण अपेक्षाअनुसारको विवरण प्राप्त हुन नसकेको बताउँदै श्रम सहचारी आचार्यले शव प्राप्त गरेपछि मात्रै नेपालीकाे पहिचान खुल्ने बताएका छन् । 'शनिबार पनि बिदा छ, तर हामीले  सकेसम्म छिटो नेपालीको शव प्राप्तिका लागि सम्पर्क गरिरहेका छाैं', आचार्यले शुक्रबार मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।

कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनका कारण एसियाली मुलुकका ६३ जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ । मन्त्रालयले धेरै बिरामीहरू आइसियूमा रहेको र चिकित्सकहरूकाे टोलीले ३१ जनामा कार्डियोपल्मोनरी रिसुसिटेसन (सिपिआर) गरिरहेको बताएको छ । ५१ जनालाई आपतकालीन डायलासिस गरिएको छ । २१ जनाले स्थायी वा अस्थायी रूपमा आँखाकाे दृष्टि गुमाएका छन् । अधिकारीहरूले दूषित पेय पदार्थको स्रोतको अनुसन्धान गर्न अस्पताल र सुरक्षा एजेन्सीबीच समन्वय भइरहेको बताएका छन् ।

नेपालीसहित दक्षिण एसियाली कामदारहरूले सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज र घोलकजस्ता औद्योगिक उत्पादनहरूमा प्रयोग हुने विषाक्त मदिरा सेवन गर्ने गरेको बताइएकाे छ ।

विषाक्त मदिराका कारण टाउको दुख्ने, बान्ता आउने, दृष्टि धमिलो हुने, हृदयाघात भई मृत्यु हुने गरेको छ । कुवेतले मादक पदार्थको उत्पादन, बिक्री र उपभोगलाई कडाइका साथ निषेध गरेको छ । सुरक्षाकर्मीरूले अवैध रूपमा मदिरा उत्पादन बन्द गराउने अभियान तीव्र पारेकाे कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका  छन् । तर ओभरस्टे भई अवैधानिक अवस्थामा लुकीछिपी बसेका नेपालीहरू जीविकाेपार्जनका लागि पनि अवैध मदिरा काराेबारमा लाग्ने गरेको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise