काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६८ हजारभन्दा बढी कामदारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । साउनमा म्यानपावर कम्पनी, व्यक्तिगत नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ६८ हजार १ सय १० जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा पुरुष कामदारको संख्या ५८ हजार ९ सय ४८ र महिला कामदारको संख्या ९ हजार १ सय ६२ रहेकोे छ ।
साउनमा म्यानपावर कम्पनीमार्फत ३१ हजार ८ सय ३० जना वैदेशिक रोजगारीमा गएकोमा पुरुष कामदारको संख्या २९ हजार १ सय ३० र महिला कामदारको संख्या २ हजार ७ सय रहेको छ । व्यक्तिगत नयाँ श्रम स्वीकृतिमार्फत ११ हजार ७ सय ७२ जना गएकोमा पुरुषको संख्या ८ हजार ५ सय ४७ र महिलाको संख्या ३ हजार २ सय २५ रहेको छ । रिइन्ट्रीमार्फत २३ हजार ६ सय ४४ जना गएकोमा पुरुषको संख्या २० हजार ५ सय ४७ र महिलाको संख्या ३ हजार ९७ रहेको छ ।
साउनमा सरकारले पठाउने इपिएस कोरिया, इजरायल र बेलायतमा ८ सय ६४ जना गएका छन् । साउन महिनामा ५ सय ८० उजुरीमा ३५ करोड ३ लाख ८३ हजार बिगो दाबी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । साउनमा ९ वटा नयाँ इजाजतपत्र जारी भएको छ भने २ सय ८३ वटा इजाजतपत्र नवीकरण भएको छ । १ सय ४८ वटा म्यानपावर कम्पनी, ९५ वटा अभिमुखीकरण तालिम संस्थामा अनुगमन गरिएको विभागले बताएको छ ।
त्यस्तै साउनमा १० वटा नयाँ म्यानपावर कम्पनी दर्ता भएका छन् भने एउटा खारेजीमा गएको तथा तीन वटाले सेयर बेचेको विभागले जनाएको छ । साउनमा १०२ शाखा कार्यालय नवीकरण भएका छन् ।