काठमाडौं : नेकपा एमालेले सरकार गैरजिम्मेवाररुपले प्रस्तुत हुँदा मुलुकमा वित्तीय संकट सिर्जना भएको आरोप लगाएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकमा वित्तीय संकट सिर्जना गर्ने ‘सुतुरमुर्ग चाल’ चालेको आरोप लगाएका हुन् ।
प्रतिनिधिसभाको बैठक ४ गतेसम्म सारेको विषयमा सरकारले जवाफ दिनुपर्ने एमालेले उल्लेख गरेको छ । भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं संसद असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले सरकार र सभामुखमाथि लगाएको छ ।
सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको पनि विज्ञप्तिमा उल्लेख छ । एमालेले सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि आपत्ति जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies