काठमाडौंः नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् ।
प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।
महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।
अर्घाखाँचीः अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादमा परी एक महिलाको ज्यान गएकाे छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवकले ७२ वर्षीया वृद्धाको हत्या गरेका हुन् ।
मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए ।
यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् ।
हत्यापछि वृद्धासँग भएको नगद र सुनका गरगहनासमेत चोरेर नेपाली फरार भएका थिए । अहिले नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो ।
सर्लाहीः सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनि जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो ।
मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायधीश थापाले जानकारी दिए । उनका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।
स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरुको खोजी जारी रहेको उनले बताए ।
काठमाडौंः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । शुक्रबार बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ’, उनले भने । एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।
धनकुटाः १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् ।
ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई बिहीबार पक्राउ गरेको हो ।
झापा: झापामा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मेचिनगर नगरपालिका–१५ भिन्डि बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दा रहेका छन् ।
बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापाः हात्तीको बङगारा जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।
उनीहरुको साथबाट ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा जस्तो देखिने बस्तु प्रहरीले बरामद गरेको हो । तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त बस्तु फेला पारी पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा उक्त बस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः अवैध हातहतियार र लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा मुलपानी बस्ने भारत वेष्ट बंगाल नक्सलबारी ठेगाना भएका ४८ वर्षीय मोहमद करिम र झापा कचनकवल गाउँपालिका–७ ठेगाना भएका ३७ वर्षीय हर्क बहादुर लिम्बु रहेका छन् ।
प्रहरीले उनीहरुकोसाथबाट पेस्तोल १ थान, गोली ३ राउण्ड र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम, डिजिटल तराजु १ थान र नगद ५० हजार रूपैयाँ बरामद गरेकोहो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौंः ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौं उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दशैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडवाडका समयमा नियम उल्लङ्घन गरेर जथाभावी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार आज (पछिल्लो २४ घण्टा)मै दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा सवारीसाधन चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उनले बताए ।
यसअघि यही कात्तिक १५ गते दुई हजार चार, कात्तिक १४ गते एक हजार पाँच सय २७ र १३ गते एक हजार पाँच सय ८७ चालकलाई कारबाही गरिएको कार्यालयले जानाएको छ । यस्तै १२ गते एक हजार एक सय ५५, कात्तिक ११ गते एक हजार सात सय ६८, १० गते एक हजार तीन सय ५५ र कात्तिक ९ गते एक हजार ९७ चालक कारबाहीमा परेका थिए ।
प्रहरीको अध्ययनले तीव्र गतिमा सवारीसाधन चलाउँदा उपत्यकामा बढी दुर्घटना भएका छन् । त्यसैले उपत्यकाको चक्रपथका विभिन्न क्षेत्रमा स्वचालित क्यामरा जडान गरेरै गति मापन गरी कारबाही गरिएको छ भने ठाउँठाउँमा टोली नै परिचालन गरेर पनि गति नियन्त्रणको क्रम जारी छ । यस्तै आकस्मिकरुपमा जाँच अभियानमार्फत नियम उल्लङ्घनविरुद्ध कारबाही जारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए ।
भरतपुरः अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु. २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।
पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।
मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies