काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित स्थलका रुपमा निरन्तरता दिएको छ।
यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो।
राष्ट्रपति कार्यालय शीतलनिवासको पूर्व पुरानो पवित्र वर्कसप चोक, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट, दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेध गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारको पुरानो पवित्र वर्कसप चोकबाट रसियन राजदूतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ एक सय मिटर र इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको हो।
‘जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क)बमोजिम देहायको क्षेत्रमा मिति २०८०/११/०५ देखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ', आदेशमा भनिएको छ ।
काठमाडौं । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ।
प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मेहनतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए। गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारमा भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र महाबु दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बिसी र गृह मन्त्रालयका प सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले गत पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।
आयोगका अध्यक्ष पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डाक्टर तथा घटनासँग सम्बन्धित अन्यसहित १६ जनाको बयान अभिलेख गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवं अन्यसमेत गरी २९ जनाको बयान लिएको जनाइएको छ।
इपिएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नं गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदनहरू लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक सबुतको परीक्षण प्रतिवेदन तयार गरिएको थियो।
यसैगरी, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवं प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसिटिभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसिटिभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनालाई गहन अध्ययन तथा विश्लेषण गरिएको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा शून्यप्रायः योगदान भएपनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको बताएका छन्।
जलवायु परिवर्तन र दिगो विकासमा सांसदको भूमिका विषयक सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तन सामाजिक–आर्थिक र वातावरणीय सन्तुलनका लागि ठूलो चुनौती भएको बताए। विश्वव्यापी खतराको रूपमा विकसित भइरहेको जलवायु परिवर्तनले विकासका सम्भावनाहरूमा गम्भीर अवसर पार्ने उल्लेख गर्दै उनले अति कम विकसित मुलुकहरू जलवायु परिवर्तनको प्रभावबाट बढी जोखिममा रहेका बताए।
‘हाम्रा जनता पहिरो, बाढी, डढेलो, हिम पहिरोको प्रकोप, खडेरीजस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन्,” उनले भने, ‘जोखिममा परेका त्यस्ता मुलुकका जनतालाई आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ, त्यस विषयमा अन्तरराष्ट्रिय समुदायको ध्यान जानुपर्छ।’
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने योजनाहरू कार्यान्वयन गर्ने प्रयासमा ठूला वित्तीय र प्राविधिक खाडलहरू देखिएका उल्लेख गर्दै प्रधानमन्त्रीले पारिस्थितिकी प्रणाली र जलवायु परिवर्तनसँग जनतालाई तादात्म्य मिलाउन एवं स्थानीयस्तरमा जलवायु अनुकूलन हुनेगरी योजना कार्यान्वयन गर्न थप स्रोतहरू जुटाउनुपर्ने आवश्यकता रहेको बताए।
जलवायु न्यायको पक्षमा वकालत गर्न र पारिस्थितिकी प्रणाली, मानिस र पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका सांसदहरू र नीति निर्माताहरूबीच वार्ता गर्नुपर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सहज तवरले हानिनोक्सानी कोष कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले भने, ‘एक सय बिलियन अमेरिकी डलरको जलवायु वित्त दायित्व पूरा गर्न, हरित जलवायु कोषमार्फत जलवायु कार्यहरूलाई गति दिन तथा अतिकम विकसित मुलुकको पहुँच विस्तार गर्न र त्यसको कार्यान्वयनमा जोड दिन चाहन्छु।’ अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनको जोखिममा रहेका मुलुकहरूलाई सहयोग गर्न आग्रह गरे।
स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत वनले ढाकेको जमिनलाई कायम राख्न नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौँ।’
रुकुम । रुकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि ७५ करोड ११ लाख ५० हजार रुपैयाँ निकासा भएको छ भने हालसम्म जिल्लामा २६ हजार सात सय सातवटा अस्थायी आवास निर्माण भएका छन्। पाँच हजार छ सय ३७ निर्माणाधीन छन्।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार आठ सय ९८ वटा अस्थायी आवास निर्माण भएका छन्। त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार पाँच सय ६३, मुसीकोट नगरपालिकामा छ सय ६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार छ सय ७५, त्रिवेणी गाउँपालिकामा तीन हजार दुई सय ६४ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन्।
चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७४ हजार रुपैयाँ, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख रुपैयाँ, मुसीकोट नगरपालिकामा तीन करोड ८६ लाख ७५ हजार रुपैयाँ, सानीभेरी गाउँपालिकामा १४ करोड ३३ लाख रुपैयाँ, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार रुपैयाँ र बाँफिकोट गाउँपालिकामा छ करोड ६० लाख २५ हजार रुपैयाँ लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए।
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा कर्मचारी र बिचौलीयासहित १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार फैला सनाउँदै उनीहरु दोषी हुने ठहर गरेको हो ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारी जग्गा व्यक्तिको नाममा लैजान कर्मचारी र बिचौलीयाले मिलेमतो गरेको भन्दै उनीहरुलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर हुनेहरुमा तत्कालिन सचिव छविराज पन्त र दीप बस्न्यात रहेका छन्। दोषी ठहर हुने अन्य प्रतिवादीहरुमा रामकुमार सुवेदी, शोभाकान्त ढकाल, प्रेमबहादुर खापुङ, अजुन खतिवा, शंकर सुवेदी, अंगुर सिग्लेन, केदारप्रसाद श्रेष्ठ, हरिकृष्ण तिमिल्सिना, परशुराम पोखरेल, कृष्ण पौडेल र टंक भट्ट रहेका छन्।
विशेष अदालतले उनीहरुलाई २ वर्ष कैद र दामासाहीमा ९ करोड ६५ लाख रुपैयाँ विगो जफत हुने फैलास गरको हो। ललिता निवासको जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ। अदालतको आदेश सुनाउँदै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले ६५ जनाको जग्गा सफत हुने भएको हो । तर, उनीहरुमाथि कुनै सजाय भने हुने छैन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको विषयमा २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिव सहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। तर, मन्त्री र सचिवहरुले भने यसमा उन्मुक्ति पाएका छन्।
लुम्बिनी । राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौंतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन् । उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन्।
सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा उनी घाइते भइ हाल अस्पतालमा उपचाररत छिन्। सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए।
‘दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो’, भीमदत्त नगरपालिका–१६ घर भएकी थापाले सुनाइन्, ‘रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो।’
सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भने, ‘राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रुहरू चिच्याउन थाले ।’
पिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहनुभएका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएको बताए। ‘शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ’, उनले भने, ‘जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो।’ बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ।
पेशाले मूर्तिकार काठमाडौं कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाए। ‘आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन’, अनिलले भने। उनी बसको क्याबिनमा चालक नजिकैको सिटमा बसेका थिए।
दुर्घटनामा रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल–३ भइ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ।
साथै भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो।
बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाए। बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहनुभएका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।
घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ। सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए।
‘उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ”, केसीले भने, ‘घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ।’ बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।
काठमाडौं। ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ।
परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए। उनले भने, ‘शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन।’
परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ।
परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले बताए। परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ।
यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ। सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका जनाइएको छ।
रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो।
दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउकै रहेका छन् । एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ। तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन्।
पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुधबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बसेको गाउँ कार्यपालिकाको ४६औँ बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका शिक्षा, स्वास्थ्य, सरकारी संघसंस्था, तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णयअनुसार बिदा दिइएको छ।
मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही ३५ हजार रुपैयाँ रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ। बैठकले दुर्घटनाले गाउँपालिकाभित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाका संवेदनशील क्षेत्रमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाइ आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको छ।
दुर्घटनामा तिनाउ–६ मस्याम बस्ने ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ बस्ने ३९ वर्षीय रामबहादुर अस्लामी, सोही ठाउँकै ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मीला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकै ६० वर्षीया चुना रणपाल मृत्यु भएको छ।
तिनाउ–२ खुर्साने बस्ने २० वर्षीया गिता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहा बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ बस्ने २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
प्रहरी निरिक्षक श्रेष्ठका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जिल्लाको तिनाउ–६ मस्यामस्थित इकोफम हाउस नजिकैभित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ करिव ५ बजेको समयमा दुर्घटना भएको हो।
अनियन्त्रित भएर जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ। चालक तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
क्षमताभन्दा बढी यात्रु बोकेकाले, उकालो, कच्ची बाटोमा जीप दुर्घटना भएको छ। ग्रामीण भेगमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना हुने गरेका छन्।
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो।
सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको संघर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए। केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको संघर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ।
यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो।
सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू , प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन्। पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ।
सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो। सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए। उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए।
पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन्। अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन्।
केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन्। पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ। प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन्।
गोदार (धनुषा) । धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ।
करिब दुई साताअघि निर्माण भई सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका छन्। दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलले बताए। नदी र बालुवा बाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उनको भनाइ थियो।
‘पुल वरिपरि धमाधम पसल खुल्दैँछन्,’ मण्डले भने, ‘यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बन्दै गएको छ।’ पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिनुभएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्माप्रसाद यादवले जानकारी दिए।
‘जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो । तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुदैँन)’, जनकनन्दनी–६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भनिन्। पहिले गाउँमा दुई हजारदेखि दुई हजार पाँचय रुपैयाँसम्मको बिक्री हुनेमा अहिले बम हुँदै गएको उनले बताए।
गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताए। यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको उनले बताए।
यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ। सम्झौता मिति भन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ।
त्यस्तै पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ। पुलमा छ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिनुभएका इन्जिनियर विनोदकुमार मण्डलले बताए।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उनले जानकारी दिए। उनका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies