विराटनगर : उच्च अदालत विराटनगरले सप्तकोशी डेभलपमेन्ट बैंकको रकम हिनामिना प्रकरणमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नवीन सुवेदीसहित ३ जनालाई कैद र जरिवाना तोकेको छ ।
उच्च अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार अदालतका कायममुकायम मुख्य न्यायाधीश ध्रवराज नन्द र न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले बैंकका पूर्वसिइओ सुवेदीसहित प्रबन्धक तथा लेखा विभाग प्रमुख देवीप्रसाद भण्डारी र सामान्य सेवा विभागका सुपरभाइजर हिमाल भट्टराईलाई दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला गरेको हो ।
तीनै जनाविरुद्ध अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । रजिष्ट्रार भट्टका अनुसार सजाय निर्धारण गर्दा सुवेदीलाई ४ र अन्य दुई जनालाई ३ वर्षको कैद फैसला भएको हो ।
अदालतले तीनै जनाको हकमा जनही ५ करोड २३ लाख २५ हजार ९ सय ९२ रूपैयाँ बिगो कायम गरेको छ । बिगो बराबर जरिवाना हुने फैसला पनि भएको रजिष्ट्रार भट्टले जानकारी दिए ।
१२ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको मुद्दामा ९ जनाले भने सफाइ पाएका छन् । उच्च अदालतबाट २०८१ माघ ३० गते तीनै जना कसुरदार ठहर भएका थिए ।
सुवेदीसहितले बैंकको रेमिट्यान्सतर्फको ‘पार्किङ एकाउण्ट’बाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो । रकम घोटालामा संलग्नलाई कैद र १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रूपैयाँ बिगो मागदाबीसहित उच्च अदालतमा मुद्दा दायर भएको थियो ।
उच्च अदालतले सुवेदी, भण्डारी र भट्टराई गरेर ३ जनालाई मात्रै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । ९ जना भने अदालतले मागेको धरौटीबापतको रकम तिरेर छुटेका थिए ।