कालीकोट : कालीकोटको सदरमुकाम मान्ममा साक्षर स्थानीय तह घोषणा समन्वय र सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाँडाचक्र नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय, कालीकोटको आयोजनामा संचालन गरिएको कार्यक्रममा सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख रछाने लोहारको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाही, शिक्षा विकास तथा समन्वय ईकाइ, कालीकोटका प्रमुख लालप्रसाद पोखरेल, खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख जशी प्रसाद चौँलागाई, गैरसरकारी संस्था महासंघ (गैरस.स) कालीकोटका अध्यक्ष दिलिप शाही, नागरिक समाजका प्रतिनिधि विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख लोहारले कालीकोट जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य राखेको बताए ।
उनले भने, ‘जिल्लाका ९ वटा स्थानीय तहमध्ये ८ वटा पालिका सारक्षता पालिका घोषणा भइसकेको र अब हामिले खाँडाचक्र नगरपालिकालाई पनि िकसरी साक्षर पालिका घोषणा गर्न सकिन्छ भन्ने बारे जानकारी दिँदै साक्षरतालाई प्रभावकारी बनाउन स्थानीय निकाय र सरोकारवाला निकायहरूको सहकार्य अपरिहार्य रहेको छ ।’ त्यस्तै नगरप्रमुख कमल बहादुर शाहीले भने,‘पालिकालाई साक्षरता घोषणा गर्ने लक्ष्य हाम्रो पहिले नै थियो, तर विविध कारण हुन सकेन, अबको केही समयभित्रै हामिले नगरपालिकालाई साक्षरता पालिका घोषणा गर्ने लक्ष्य रहेको र कार्यक्रमबाट केही महत्वपूर्ण निर्णयहरु समेत गरिएको छ ।’
पालिकालाई साक्षरता घोषणा गर्न राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ वर्षदेखि ५९ वर्ष उमेर समूहका जनसंख्यामध्ये ७८ प्रतिशतमाथि साक्षर भएमा साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ ।
जसमा कालीकोट जिल्लाको साक्षरता दर कुल साक्षरता दर ७२.७ प्रतिशत रहेको छ । यसमा पुरूषको साक्षरता दर ७९.८ प्रतिशत र महिलाको साक्षरता दर ६५.८ प्रतिशत रहेको छ ।
०००