काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमाले नेपालका मुख्य प्रतिस्पर्धी दल हुन् । तर, स्थानीय तहको उपनिर्वाचनमा यी दुवै दलले कतिपय पदका लागि चुनावी तालमेल नै गरेका छन् ।
विभिन्न ४४ पदका लागि मंसिर १६ गते निर्वाचन हुँदै छ । त्यसमध्ये रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा कांग्रेस र एमालेले तालमेल गरेका हुन् । गाउँपालिका उपाध्यक्षका लागि उनीहरू माओवादीविरुद्ध साझा उम्मेदवार उठाएका हुन् ।
उम्मेदवारी दर्ताअघि २ दलले लिखित सहमति गरेका थिए, जसमा उपाध्यक्ष कांग्रेसको निर्वाचन चिह्नमा एमालेले उम्मेदवारी दिने उल्लेख थियो ।
सोहीअनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छन् । वडा– २ मा भने एमालेका जिल्ला सदस्य जीवन रोकाले उम्मेदवारी दिएका छन् ।
पुथाउत्तरगंगा माओवादी केन्द्र बलियो स्थितिमा छ, जहाँ माओवादीले ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रकी भूपेन्द्र बुढा विजयी भएकी थिइन् । माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बुढाको गत असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी, उपनिर्वाचनबाट ओखलढुंगा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख पनि चयन गरिनेछ, जसमा एमालेसँग गठबन्धन गरेर कांग्रेसले दुवै ठाउँको अध्यक्ष सुरक्षित गरिसकेको छ ।
यसअनुसार ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसका भट्टराईको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
२०७९ सालको निर्वाचनपछि विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष २, नगरपालिका प्रमुख र उपप्रमुख १÷१ र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।
आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ पुरुष उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
काठमाडौंको कीर्तिपुरमा भने मुख्य दलहरू एक्लाएक्लै चुनाव लड्दै छन् । नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
अभियन्तासमेत रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले पनि कीर्तिपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
मानवको राम्रो माहोल भएका कारण कीर्तिपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएको छैन । रास्वपाले मानवलाई नै समर्थन गर्ने अड्कल लगाइएको छ ।
मनोनयन भएका क्षेत्रमा उपनिर्वाचनको माहोल उमंगमय बनेको छ । मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरू मत माग्न पनि थालेका छन् । जनताले यसलाई नयाँ नेतृत्व छनोटको अवसरका रूपमा पनि हेरिरहेका छन् ।
कतिपय क्षेत्रमा मतदाताले नयाँ दलको उम्मेदवारप्रति आशा देखाए पनि रास्वपाले स्थिति आफ्नो पक्षमा नजाने आँकलनसहित कतिपय स्थानमा मनोनयन दर्ता गरेनन् ।
काठमाडौंको कीर्तिपुरलगायत केही स्थानमा रास्वपाले भने उम्मेदवारी नै दिएन ।
४४ पदका लागि ४१० जनाको उम्मेदवारी
निर्वाचन आयोगका अनुसार ४४ पदका लागि हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।
आइतबार उपनिर्वाचन हुने जिल्लाहरूमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रमुख दलसहित स्वतन्त्र उम्मेदवारहरूले रिक्त स्तानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार मनोनयन दर्ता गरेका हुन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदमा २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका– १ को वडा अध्यक्ष पदमा सबैभन्दा धेरै उम्मेदवारी परेको छ । त्यहाँ अध्यक्ष पदमा २१ जनाले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका– २ को वडा अध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका– ४ को वडा अध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
उम्मेदवारको विरोधमा सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।