२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सौर्य एयर दुर्घटनाका ४ महिना : प्रतिवेदन न बीमा रकम

ADV
निमिष झा
२०८१ मंसिर १० गते ०६:२५
सौर्य एयर दुर्घटनाका ४ महिना : प्रतिवेदन न बीमा रकम

काठमाडौं : सौर्य एयरालाइन्स विमान दुर्घटना भएको आइतबार ४ महिना पुगेको छ । तर, विमान दुर्घटनामा मृत्यु भएका आफन्तले अहिलेसम्म बीमा रकम पाएका छैनन् ।

सम्पूर्ण मर्मत ‘सी–चेक’का लागि काठमाडौंबाट पोखरा जान लागेको विमान गत ९ साउनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने चालक मनीष शाक्य बाँचेका थिए । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

९ एन–एएमई सीआरजे–७ विमान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै आगो लागेर दुर्घटना भएको थियो । जहाजले टेकअफ गर्दा नै सन्तुलन गुमाएका थियो । विमानले भुइँ छाडेको केही सेकेन्डमै दाहिनेतर्फ कोल्टे फर्किएर दायाँतर्फको पखेटाले ट्याक्सी वेबाटै भुइँ छुँदै बजारिन पुगेको थियो ।  

विमान दुर्घटना भएको ४ महिनासम्म पनि यात्रु बीमाबापतको रकम मृतकका परिवारले पाउन सकेका छैनन् । तर, विमान कम्पनीले छिटोभन्दा छिटो बीमा रकम उपलब्ध गराउन तयार भएको बताएको छ । एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा भएको र उक्त इन्स्योरेन्सले बेलायतस्थित लोयर्ट रिइन्स्योरेन्समा रिइन्स्योरेन्स गरेको छ ।

‘उक्त कम्पनीसँगको छलफलपछि प्रभु इन्स्योरेन्सलाई छिटोभन्दा छिटो दुर्घटनाबापतको यात्रु बीमा दाबी भुक्तानी गर्न भनिएको छ’, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले मध्यान्हसँग भने । उनले बढीमा १० दिनभित्र सबै मृतकका परिवारले बीमा रकम पाउने दाबी गरे । उनका अनुसार यस विषयमा बीमा कम्पनी प्रभु इन्स्योरेन्ससँग अन्तिम चरणको कुराकानी भएको र उसले बेलायती कम्पनी लोयर्ट रिइन्स्योरेन्समा रिइन्स्योरेन्स गरिसकेको बताए ।

तर, आन्तरिक उडानमा यात्रुको दुर्घटना बीमा कम भएकाले बीमा रकम बढाउनेगरी छलफल भएको पनि उनले दाबी गरे ।

नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मोन्ट्रल कन्फेन्सन, १९९९ मा हस्ताक्षर गरेको छ । यो व्यवस्था अन्तर्राष्ट्रिय उडानका लागि मात्र लागू हुन्छ । हाल आन्तरिक उडानमा प्रतियात्रु २० हजार अमेरिकी डलर बीमा रहेको छ । 

सी–चेक उडानको क्रममा रहेको विमान दुर्घटना हुँदा बीमा भुक्तानी के हुन्छ भन्ने प्रश्न पनि पेचिलो बनेको छ । तर, एयरलाइन्सले खरिद गरेको बीमा पोलिसी र हवाई बीमा व्यवस्था ऐनअनुसार नै हुने पनि उपमहाप्रबन्धक आचार्यले बताए ।

‘एयरलाइन्स र बीमा कम्पनीबिच खरिद विक्री भएको बीमा पोलिसीमा एभियसन स्पेयर अल रिक्स लाइबिलिटी, पर्सनल एक्सिडेन्ट एन्ड अल रिक्स इन्स्योरेन्स प्रभु इन्स्योरेन्स कम्पनीमा गरिएकाले शर्तअनुसार नै दाबी भुक्तानी हुनेछ’, उनले भने ।

प्रभु र सौर्यबीचको बीमा पोलिसी सम्झौताअनुसार प्राविधिक र क्रु मेम्बरका हकमा अतिरिक्त बीमा सुविधासमेत उल्लेख भएको भए त्योसमेत दाबी भुक्तानी हुने उनले बताए । त्यस क्रममा यात्रुसरह पाउने बीमा भुक्तानी कटौती नहुने पनि उनले उल्लेख गरे ।

दुर्घटनमा सौर्य एयरलाइन्सका आईटी इन्जिनियर मनुराज शर्माका साथै उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको पनि मृत्यु भएको छ । प्रिजा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटरमा कार्यरत थिइन् । तर, उनलाई एयरलाइन्सको कर्मचारी भनेर फर्जी यात्री बनाएर उडाइएको थियो । छोराको हेरचाह गर्ने कोही पनि नभएपछि उनलाई पनि बाबुआमासँगै लगिएको थियो ।

दुर्घटनामा मृत्यु भएका इन्जिनियर खतिवडाको बीमा भए पनि श्रीमती र छोराको बीमा के हुने भन्नेबारे एयरलाइन्सले केही बताएको छैन ।

एयरलाइन्सको व्यवस्थापन पक्षले प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरी नक्कली कागज तयार पारेको उनका बुबा प्रकाश खतिवडाले बताए । उनले यस विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी पनि दर्ता गराएका छन् ।

दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका खतिवडाले आफ्नी छोरीलाई एयरलाइन्सको व्यवस्थपन पक्षले कर्मचारी खडा गरी अपराध गरेको बताए ।

‘एयरलाइन्सको व्यवस्थापन पक्षले आफ्नो व्यावसायिक स्वार्थ पूर्ति गर्न मेरी छोरीको किर्ते हस्ताक्षर गरेको देखियो’, खतिवडाले मध्यान्हसँग भने । उनले जहाज दुर्घटना छानबिन गर्न बनेको आयोग पनि कानुनविपरीत रहेको दाबी गरे । 

‘जहाज दुर्घटनाको मुख्य कारण व्यवस्थापन पक्षकोे लापरबाही, प्राविधिक त्रुटि र मानवीय कमजोरी हो भन्ने स्पष्ट छ । यो कुरा आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको छ’, उनले भने ।

दुर्घटना भएकै दिन सरकारले दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन थिए । त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदीप भट्टराई, सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल थिए ।

आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको थियो ।

आयोगले मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधि पालना नभएको प्रारम्भिक अध्ययनमा भनेको छ । यस्तै, जहाजको संचालन निर्देशिका (म्यानुअल)को तौलसम्बन्धी मापदण्ड पालना नभएको र १८ हजार ५०० किलो तौलसहितको (टेकअफ वेट) उडान गर्दा पाइलटले प्रयोग गर्ने स्पिड कार्डमा उल्लेख भएको जहाजको गति नै गलत देखिएको पनि अध्ययनले देखाएको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

समग्रमा, विमान उडानमा एयरलाइन्सको चरम लापरवही देखिएको प्राधिकरणका एक उच्चअधिकारीले नाम बनाउने शर्तमा बताए । ‘आयोगले वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरेको छ’, उनले भने ।

यद्यपि, आयोगको प्रारम्भिक प्रतिवेदन मात्र आएको छ । प्रारम्भिक प्रतिवेदनमा आएका कतिपय विषय पूर्ण प्रतिवेदन आइसक्ने समयमा थप सूचनाका आधारमा अर्को निष्कर्षमा पुग्ने सम्भावनासमेत छ । तर, प्रारम्भिक प्रतिवेदन दिएको बढीमा ४५ दिनभित्र पूर्ण प्रतिवेदन आइसक्नुपर्ने भए पनि अहिलेसम्म आएको छैन । आयोगको कार्यावधि ४५ दिनको हुने व्यवस्थाविपरीत ४ महिनासम्म काम सम्पन्न नहुँदा अब आयोगको हैसियत के हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise