
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा भएको जिप दुर्घटनामा ज्यान गुमाएका आठ जनाको अन्त्येष्टि गरिएको छ । मृतक सबैको शवलाई पोष्टमार्टमपछि आफ्नै गाउँ स्यालाखदी ल्याएर अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
क्रिश्चियन धर्मावलम्बी चार जनाको शव बाँफिकोट–२ बेरजङगा नजिकैको झाडी वनमा गाडिएको छ भने एक जनाको हिन्दु धर्म अनुसार गाउँ नजिकैको घाटमा दाहसंस्कार गरिएको आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर यरीले बताए ।
उनका अनुसार बाँकी तीन जनालाई पनि वडा नम्बर १ भित्रै क्रिश्चियन परम्पराअनुसार जंगलमा गाडिएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा बाँफिकोट–१ का १६ वर्षका टेकजंग बुढा, १५ वर्षकी दिलमाया बुढा र १५ वर्षकी कल्पना नेपाल रहेका छन् ।
त्यस्तै, वडा नम्बर २ का २८ वर्षकी सविता विक, १७ वर्षकी मनिका ओली, १८ वर्षकी शर्मिला विक र २२ वर्षका गोपाल ओली रहेका छन् । वडा नम्बर ३ की ३० वर्षीया कमला वलीको पनि दुर्घटनामा मृत्यु भएको थियो ।
जिप दुर्घटनामा बाँफिकोट–७ लिस्नेमा १७ वर्षकी सिर्जना बुढा, १५ वर्षकी सपना नेपाल, १८ वर्षकी जुना बुढा, १७ वर्षकी सङ्गीता बुढा, १९ वर्षकी शान्ति बुढा, १७ वर्षकी अञ्जना यरी, २० वर्षकी महिमा ओली, १७ वर्षकी मनिषा थापा, १५ वर्षकी सबिता विक र चालक ३४ वर्षका टोपजंग बुढा घाइते भएका थिए । घाइतेमध्ये चालक मुसिकोट नगरपालिका–२ का हुन् भने बाँकी नौ जना आठबिसकोट नगरपालिका–१ का रहेका छन् ।
जिल्ला अस्पताल सल्लेमा उपचाररत घाइतेमध्ये छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तर आठबिसकोट नगरपालिका–२ की १९ वर्षकी शान्ति बुढा, सोही वडाकी १७ वर्षकी मनिषा थापा र वडा नम्बर १ की १८ वर्षकी जुना बुढाको गम्भीर चोटका कारण नेपालगञ्जमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
चालक बुढाको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
मुसिकोट नगरपालिका–१ खलंगाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदीतर्फ गइरहेको रा.१ ज ४२२ नम्बरको जिप भित्री सडक खण्डबाट करिब ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको थियो । घटनामा १० जना घाइते भएका थिए ।