२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

मूर्तिमा अडिएको जिन्दगी

draupadi film
जुनु भट्टराई
२०८१ पुष १२ गते ०६:२५
मूर्तिमा अडिएको जिन्दगी

विराटनगर : ठाउँठाउँमा चाउरी परेको गाला, हँसिलो अनुहार । उमेरले ७८ नाघ्न लागिसक्यो । विराटनगरको बरगाछीस्थित जय माँ काली मूर्तिकला केन्द्रका संचालक दिनेशकुमार मेहेतोको जोश भने १६ वर्षे जवान युवाको भन्दा कम छैन । उनको जोश देख्दा यस्तो लाग्छ कि उनले संसार जितिसकेका छन् । बस्, त्यही आफूले जितेको संसार आफ्नो दुनियाँमा सजाएर रमाइरहेका छन् उनी ।  

झण्डै साढे ४ दशक अगाडि मूर्तिकला व्यवसाय सुरु गरेका मेहेतोलाई अझै पनि आफ्नो सास रहुन्जेल यही पेसालाई निरन्तरता दिएर गुजारा चलाइन्छ भन्ने लाग्छ ।

यसमा उनी विश्वस्त पनि भएको बताउँछन् । भन्छन्, ‘आफ्नो सुझबुझले भ्याएदेखि यही भगवान्को मूर्ति बनाएर बसँे, अब जतिन्जेल बाँच्छु, यही पेसा निरन्तर चल्छ, बाँचुन्जेल यही मूर्ति बनाएर खान्छु ।’

कर्म सबैले गर्छन् । कर्म गर्नेहरू त्यही कर्मलाई पूजा ठान्छन् तर दिनेशका लागि भने पूजा नै कर्म हो । बिहान उठेर नित्य कर्म सकेपछि उनको दैनिकी यही मूर्ति बनाउने कलाबाट सुरु हुन्छ र दिनको अन्त्य पनि ।

यही मूर्तिकला नै आफ्नो संसार भएको बताउने दिनेश भन्छन्, ‘जेठो छोरो नै ४० कटिसक्यो, त्यसबेलादेखिको संघर्ष अहिलेसम्म पनि उस्तै नै छ तर संघर्षले थकान दियो तर पीडा भने कहिल्यै दिएन है !’

मेहेतोको १० जनाको परिवारको सबै आर्थिक भार थेग्दै आएको छ मूर्तिकला व्यवसायले । सुरुसुरुमा एक्लैको सीपले जेनतेन परिवार पाल्दै आएका मेहेतो छोराहरू ठूला हुँदै गएपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको बताउँछन् । 

पहिले दिनेशकी श्रीमतीले पनि काममा हात बटाउन सहयोग गर्न मूर्तिकला केन्द्र आउने गर्थिन्, पछि छोराहरूले सीप सिकेपछि आमालाई घरमै बस्न भन्न थापछि भने उनी घरमै बस्दै आएकी छन् ।

बेलाबेला आफ्नो मूर्तिकला केन्द्र जान्छिन्, आफूले जानेको सीप प्रयोग गरेर सामान बनाउँछिन् । उनको हातले बनाएको चुलो धेरै विक्री हुन्छ, त्यो चुलो बेचेर कमाएको पैसाले उनले आफ्नो खर्च बेर्होदै आएकी छन् ।
दिनेशका ३ छोरा र १ छोरी छन् । विवाह गरेर गइसकेकी छोरी आफ्नै घर गृहस्थीमा रमाइरहेकी छन् । जेठो छोरा राकेश पहिलेदेखि नै बाबुको सीपलाई सिकेर बाबुकै केन्द्रको काम सम्हाल्दै आएका थिए । पहिले जस्तो ब्यापार नभएपछि उनी बाबुको व्यवसाय भाइलाई जिम्मा लगाएर वैदेशिक रोजगारीका लागि गत बर्ष साउदी पुगे । हाल माहिलो छोरा नितेशले उक्त मूर्तिकला केन्द्र चलाउँदै आएका छन् । 
‘बुबा, आमा, दाइ सबै जना आफ्नो हातको सीप प्रयोग गरिरहनुभएको छ । व्यस्त धेरै देखेपछि मलाई अन्य पेसामा जान मन लागेन’, नितेश भन्छन्, ‘बुढा हुनुभएको बाबु दिनरात मिहिनेतका साथ काम गरिरहनुभएको छ, समयमै अर्डर दिन नसकिरहेको अवस्थामा मैले कसरी अन्त काम गर्नु ? मनले मानेन त्यसैले बुबाकै व्यवसायमा सहयोग गर्छु भनेर यतै सुरु गरेँ ।’
पुरानो मान्छे पुरानो ठाउँ भएकाले २ वर्षअघिसम्म उनीहरूलाई काम लिन बजार धाउनु भने परेको थिएन । पुरानो मान्छे भएकाले ग्राहकहरू खोजीखोजी आउँथे । सिजनमा भ्याई नभ्याई हुने गरेको मूर्तिकला केन्द्रमा गत वर्षदेखि भने ब्यापारमा नराम्ररी मन्दी लागेको नितेश बताउँछन् । 
‘विगतका वर्षहरूमा विश्वकर्मा तथा सरस्वती पूजाका लागि लाखौंको मूर्ति अर्डर आउने गथ्र्यो तर यो पटक कुनै अर्डर आएन’, नितेश भन्छन्, ‘विश्वकर्माका लागि ६५ वटा मूर्ति बन(ाएका थियौं, ६ वटा अझै बाँकी छन् । अब सरस्वती पूजाका लागि मूर्ति बनाउन व्यस्त छौं ।’  
मेहेतो परिवारले केन्द्रको भाडा वर्षको १ लाख १० हजार तिर्नुपर्छ । मूर्तिकलाको ब्यवसायले १० जनाको परिवार पाल्न र भाडा तिर्न भने मज्जाले पुगिरहेको उनीहरू बताउँछन् ।
मूर्ति निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको रूपमा माटो, पराल, सुत्ली (सनपाटको डोरी) काँटी, सजावटको कपडा, मुकुट कपाल जस्ता विभिन्न प्रकारका नक्कली गहनाहरू भारतको सिलगुडीबाट ल्याउने गरेको नितेश बताउँछन् ।
‘पराल त यही ठेलाले ल्याइदिन्छ’, माइला छोरा नितेशले भने, ‘मूर्तिमा लगाउने सम्पूर्ण शृंगारका सामग्री र रडहरू भने सिलगुडीबाट ल्याउने गरेका छौं ।’ 
कतिपय ग्राहकहरू मूर्ति बनाउन अर्डर दिएर जान्छन् तर फर्केर आउँदैनन् । त्यस्तो अवस्थामा भने उनीहरूलाई निकै असहज अवस्था सिर्जना हुने गरेको छ । ‘सुरुमै सम्पूर्ण रकम लिन सकेको खण्डमा सबै समयमै आएर आफ्नो अर्डर लानुहुन्छ’, नितेश भन्छन्, ‘थोरै एडभान्स लिएर काम गर्दा सामान खरिद गर्नै अन्य पैसा थप्नुपरेको हुन्छ, त्यसमाथि सामान लिन नआइदिँदा हामीलाई धेरै अप्ठ्यारो पर्ने गरेको छ ।’ 
कोरोनाको समयमा भने केही असहज अवस्था आएको नितेश सुनाउँछन् । भन्छन्, ‘कोरोनाको समयमा सन्त्रासका कारण सार्वजनिक स्थलमा त्यो समय पूजापाठ, चाडपर्व मनाउने लगभग सबै ठप्प जस्तै नै थियो, त्यसैले त्यो बेला भने गुजारा चलाउन केही कठिन महसुस भएको थियो ।’ 

६ महिना भ्याई नभ्याई, बाँकी समय खालि
मूर्तिकलाको काम वैशाखदेखि सुरु गरे पनि माघसम्म लगातार सिजन हुन्छ । माघ महिनासम्म परिवार नै व्यस्त रहन्छन् । माघदेखि वैशाखसम्म फेरि व्यापार सुख्खा हुन्छ ।
सिजन नहुँदाको समयमा जेठो छोरा बुबासँगं मूर्तिकला केन्द्रमा गमलालगायत माटोका सामग्रीहरूको ब्यापार गर्दै आएका थिए । अहिले जेठो छोरा विदेशिएपछि नितेशले नै सबै सम्हाल्नुपरेको बाबु दिनेश बताउँछन् । 
‘पहिले जस्तो ब्यापार भएको भए माहिलोलाई बाहिरको काम गर्न समय पुग्दैनथ्यो तर पहिले जस्तो समय छैन, सिजनमा यता समय दिन्छ, काम नहुँदा सिटी चलाएर खर्च जुटाउँदै छ’, बाबु दिनेशले भने ।
दिनेशलाई भगवान्प्रतिको विश्वास र भरोसा देखिन्छ । उनी भन्छन्, ‘भगवान् बेचेर खाँदै छु, पाप गरेँ या पुन्य, थाहा छैन ।’
 

ADV

सम्बन्धित खबर

Advertise