जुम्ला : राष्ट्रिय मानवअधिकार आयोग जुम्ला शाखा सुरक्षा गार्डको भरमा रहेको छ । निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका धनराज शाहीको गत भदौमा सरुवा भएर नेपालगञ्ज गएपछि सो कार्यालय सुरक्षा गार्डको भरमा रहेको हो ।
सुरक्षा गार्ड कल्पना महताराले बिहान दश बजे कार्यालय खोल्छिन्, काम हुँदैन । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाहरूको अन्वेषण गर्ने, ती समस्या समाधानका लागि कदम चलाउने, व्यक्तिका अधिकारको उल्लंघन भएको छ भन्ने शंका भएमा अनुसन्धान गर्ने, सरकारलाई र अन्य संस्थाहरूसम्म मानव अधिकार संरक्षणका लागि आवश्यक सिफारिसहरू र सुझावहरू पुर्याउने लगायतका कामहरु गर्नुपर्ने हो ।
तर जुम्ला शाखा विगत पाँच महिनादेखि सुरक्षा गार्डको भरमा थन्किएको छ । पछिल्लो समयमा संघीयताको मर्मसँगै आयोगले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश कार्यालय स्थापना गरेको छ ।
त्यसपछि जुम्लामा रहेको कार्यालय एक सुरक्षा गार्ड र एक निमिक्त कार्यालय प्रमुखको रुपमा खुम्च्याइएको थियो । २०८१ साल भदौ महिनाबाट त्यहाँका कर्मचारीलाई सरुवा गरी अन्त्यै पठाइएको थियो ।
पाँच महिना बितिसक्दा समेत कुनै कर्मचारीको व्यवस्था हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले भने,‘राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अध्यक्ष तपबहादुर मगर, सचिव मुरारी प्रसाद खरेललाई संयुक्त रुपमा भेटेर तत्काल कर्मचारी व्यवस्थापन गर्न माग पनि गरेका हौँ । तर अहिलेसम्म कर्मचारी आएका छैनन् ।’
उनका अनुसार अध्यक्ष र सचिवले मुगु र जुम्लालाई हेर्ने व्यवस्था गरी कर्मचारी छिट्टै व्यवस्थापन गर्ने बताएका थिए ।
जुम्लाबाट ध्यानाकर्षण गराउन गएको टोलीलाई पटक–पटक प्रतिबद्धता जाहेर गरेपनि पाँच महिनासम्म एउटा सुरक्षा गार्डको भरमा कार्यालय रहनु दुखद् रहेको उनले बताए ।
प्रमुख आचार्यका अनुसार यसअघि मानव अधिकार आयोगका जुम्ला कार्यालय प्रमुखको जिम्मेवारी पाएका धनराज शाहीको सरुवा भएर नेपालगञ्ज जाँदा जिल्ला समन्वय समितिले व्यवस्था गरेको भवनभित्र उक्त कार्यालय रहेकोले सबै सामानहरु रोवरमा राखेर गएका थिए । ‘तर पछि हामीलाई जानकारी नगरी, ल्यापटब, मोटरसाइकल, मोबाइल लगायतका आवश्यक सामान सुर्खेतबाट कर्मचारी पठाइ लिइसकेको खवर पाइएको छ । उनले भने,‘अहिलेसम्म यो कार्यालयको कुनै अत्तोपत्तो नभएकाले आउने माघ महिनाको अन्तिमतिर समन्वय समिति त्यो भवन भत्काइ नयाँ भवन बनाउने तयारी छ ।’
उक्त कार्यालयभित्र रहेको मानव अधिकार आयोगको सामानको जिम्मेवारको हुने कुनै अत्तोपत्तो छैन । समग्रमा आयोगले मानव अधिकारको उल्लंघन हुन नदिन र मानव अधिकारको सम्मानको लागि काम गर्ने कार्यालय नै आफै अस्तव्यस्त अवस्थामा रहेको छ ।
त्यस्तै आयोग जुम्ला शाखाका सुरक्षा गार्ड कल्पना महताराले यो कार्यालय सुर्खेतमार्फत चलेको बताइन् ।
उनले भनिन्,‘म सामान कुरेर बसेकी छु । कार्यालय समयमा ढोका खोल्ने र बन्द गर्ने काम मात्रै गर्छु । बेला–बेलामा यस कार्यालयमा गुनासो बोकेर आएका नागरिकहरुलाई कर्मचारी छैनन् भनेर फर्काउँछु । सेवा लिन आउनेहरुले कहिले आउँछन् कर्मचारी भनेर सोध्नु हुन्छ । मेरो काम कार्यालय कुरेर बस्ने हो । मलाई कर्मचारी आउने÷नआउने विषयमा कुनै जानकारी छैन । आफु सानो तहको कर्मचारी भएकाले सेवा लिन आएकालाई अरु कर्मचारी छैनन् भनेर फर्काउने बाहेक अरु उपाय मेरो छैन ।’
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेले जुम्लाको मानव अधिकार आयोगको कार्यालय संचालनको लागि अर्थ मन्त्रालयमा पठाएको बताए ।
उनका अनुसार अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन । ‘हामीले जुम्लामा रहेको कार्यालय बन्द गर्ने कुरै हुँदैन’ उनले भने,‘अर्थ मन्त्रालयमा संगठन संरचना संचालनको लागि पठाएका छौँ । सरकारले मानव अधिकार आयोगको कार्यलाई ढिलासुस्ती गरेको छ । हामी जुम्लाको कार्यालय संचालनको निम्ती पहल गरिरहेका छौँ । जुम्लामा रहेको कार्यालय हटाउने मानसिकतामा आयोग छैन । सबै क्षेत्रबाट उक्त कार्यालय नहटाउने भनेर पटक–पटक ध्यानाकर्षण पनि भइरहेको छ ।’
लामो समयदेखि जुम्लामा रहेको आयोगको कार्यालय कर्मचारी विहीन हुँदा मानव अधिकार उल्लंघन भएका घटनामा आवाज उठ्न छोडेको महिला अधिकारकर्मीहरुले बताउँदै आएका छन् । उनीहरुका अनुसार दिन प्रति दिन जुम्लामा महिला तथा बालबालिकाहरुमाथि भइरहेको मानव अधिकार उल्लंघनका समस्याहरूको समाधानका लागि जुम्लामा मानव अधिकार आयोगको कार्यालय आवश्यक हरेको छ । यसअघि जुम्लामा रहेर आयोगले पीडित व्यक्तिहरूलाई राहत र सहयोग उपलब्ध गराउने कार्य गर्दै आएको थियो ।