काठमाडौंः दिल्ली प्रहरीले बुधबार बिहान दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि सार्वजनिक गुनासो सुन्दै गर्दा शारीरिक दुर्व्यवहार गरेको आरोपमा ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
उक्त व्यक्तिको पहिचान पश्चिमी राज्य गुजरातका राजेश खिमजीका रूपमा भएको छ । दिल्ली प्रहरीले हाल उनलाई आक्रमणको कारणबारे सोधपुछ गरिरहेको छ ।
दिल्ली प्रहरीका एक अधिकारीका अनुसार, आक्रमणकारीले मुख्यमन्त्रीलाई थप्पड हाने र त्यसपछि उनको हात र कपाल समाते । ‘आक्रमणका क्रममा मुख्यमन्त्रीलाई हल्का चोट लागेको छ । उहाँको टाउकोमा सानो चोट लागेको छ र हाल चिकित्सकीय परीक्षण भइरहेको छ’, ती अधिकारीले भने ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन रिपोर्टअनुसार मुख्यमन्त्रीले नागरिकहरूसँग कुरा गर्दै र उनीहरूको गुनासो सुन्दै गर्दा एक व्यक्ति अचानक अगाडि आए । उनले कागजको टुक्रा दिए, चर्को स्वरमा बोल्न थाले, अपशब्द प्रयोग गरे र त्यसपछि थप्पड हाने ।
यसैबीच, गुजरातका मिडिया रिपोर्टहरूका अनुसार आक्रमणकारीकी आमाले आफ्नो छोरा ‘कुकुरप्रेमी’ भएको बताएकी छन् । उनका अनुसार, दिल्ली र आसपासका क्षेत्रमा बेवारिसे कुकुर हटाउने विषयमा हालैको विवादका कारण देशका विभिन्न भागमा शृङ्खलाबद्ध विरोध प्रदर्शन भइरहेका छन्, जसबाट उनका छोरा विचलित भएका थिए ।
एक दिनअघि मात्रै दिल्लीकी मुख्यमन्त्रीले सम्बन्धित सबै अधिकारीलाई कुकुरप्रेमीहरूको भावनामा चोट पुर्याउने वा कुकुरलाई हानि पुर्याउने कुनै पनि कडा कदम नचलाउन कडा निर्देशन जारी गरेका थिए ।
पार्टी सीमाभन्दा माथि उठेर राजनीतिक नेताहरूले महिला नेतामाथि भएको आक्रमणको निन्दा गरेका छन् । रेखा गुप्ता सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की नेत्री हुन् । उनले यस वर्ष फेब्रुअरीमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।