काठमाडौं : नेपाल आयाल निगमले रूपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा साढे २५ बिघामा नयाँ इन्धन डिपो निर्माणको तयारी गरेको छ । २०८१ वैशाख ५ गते भूमि पुजन गरेर जमिन सम्याउने काम सुुरु गरेको निगमले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको हो । ५ अर्ब ७९ करोड ३० लाख (करबाहेक) लागतमा लाग्ने नेपाल आयाल निगमले जनाएको छ ।
आयल निगमको रोहिणी र ओमसतिया गाउँपालिकाको रोहिणी नदी किनारमा साढे ११ बिघा जग्गा खरिद गरेको थियो । सो क्षेत्रमा थप साढे आठ बिघा पर्ती जग्गा निगमको स्वामित्व ल्याउने तयारी गरिएको छ । यस्तै, करिब साढे पाँच बिघा पनि जग्गा प्राप्ति गर्दा साढे २५ बिघामा आधुनिक र सुविधा सम्पन्न भण्डारण डिपो बन्ने भएको हो ।
हालसम्म रोहिणीमा खोलाछेउमा भूमि सम्याउने र नदी किनारमा ग्याबियन जाली, रिटेनिङ वालको निर्माण गरी जग्गाको संरक्षण कार्य गरिएको निगमले जनाएको छ । नयाँ डिपोमा सबैभन्दा धेरै डिजेल १३ हजार ५ सय किलो लिटर भण्डारण क्षमताको हुनेछ । यस्तै, पेट्रोल ४ हजार ९ सय ६० किलो लिटर र मट्टीतेल २ सय २८ किलो लिटर भण्डारण क्षमता रहेको परियोजना प्रमुख ई. प्रदीपकुमार यादवले बताए । असोजमा बोलपत्र आह्वान गर्ने र मंसिरबाटै निर्माण कार्य अघि बढाइने यादवले जानकारी दिए । निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न हुनेछ । डिपो निर्माणमा इपिसी मोडलमा बोलपत्र आह्वान हुने भएको लागत नबढ्ने उनले बताए ।
त्यसैगरी, डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताका दुईवटा पानी ट्यांकी निर्माण हुने काठमाडांै विश्वविद्यालय कन्सलटेन्सी विभाग प्रमुख डा. विवेक बरालले बताए । उनले भने, ‘जसमा कुल ४२ सय किलोलिटर पानी भण्डारण हुनेछ ।
इन्धन लोडिङ सेडमा आठवटा बाटो र अनलोडिङ सेडमा पनि आठवटा बाटो रहनेगरी डिपिआर तयार पारिएको छ ।’
काठमाडौं विश्वविद्यालयका पेट्रोलियम विज्ञ एवं निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भलबारीमै भण्डारण क्षमता विस्तारले माग धान्नै नसक्ने अवस्था आएकाले नयाँ डिपोको आवश्यकता रहेको बताए ।
लुम्बिनी प्रादेशिक कार्यालय, भलवारीमा साँघुरो, घनाबस्तीबीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने अवस्थामा पुगेकाले भैरहवामा नयाँ इन्धन डिपो निर्माणमा गर्न लागिएको निगमको भनाइ छ ।