२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

निन्दनीय निन्दाको राजनीति

hardik ivf
२०८१ माघ १० गते ०६:२०
निन्दनीय निन्दाको राजनीति

नेकपा एमाले पंक्तिको सम्पूर्ण ध्यान यतिबेला पार्टीबाट निस्कासित नेता भीम रावलमाथि आरोप थोपर्नुमा देखिएको छ । रावललाई सार्वजनिक आरोप लगाउने कार्यको नेतृत्व स्वयं प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । आफ्ना अध्यक्षलाई साथ दिनेगरी केन्द्रीय पदाधिकारी, केन्द्रीय नेताहरू सहित तल्लो कमिटीका नेताहरूले रावलमाथि अनेक आरोप लगाइरहेका छन् । ओलीलाई सार्वजनिक आरोप लगाउन भीम रावलले पनि ४७ पृष्ठको दस्तावेज नै तयार पारेका थिए । विशेषगरी ०७४ सालको चुनाव यता ओलीले गरेका कमजोरीहरू राष्ट्रघातकै तहमा रहेको निष्कर्ष सहित रावलले आरोपको वर्षा गरेका थिए । ती आरोपहरुको क्रमशः जवाफ दिने हो भने प्रधानमन्त्री ओलीले थुप्रै समय खर्चिनुपर्ने हुन्छ । ओलीमाथि लगाइएका कतिपय आरोपमाथि त गम्भीर छानबीनकै जरुरी पर्छ । 

आफूलाई एमालेबाट निस्कासन गर्ने निर्णय भएपछि भीम रावलले आगामी दिनका निम्ति अलिकति ठाउँ समेत नराखी आरोपका वर्षा गरेका थिए । जसको जवाफमा एमाले नेताहरु खनिएका छन् भने जवाफी आरोपबाटै रावलले छुट्टै पार्टी बनाउने अभियान अगाडि बढाएका छन् । नेपाली राजनीतिमा देखिने यो एउटा उदाहरण घटना मात्रै हो । आन्तरिक कलह विभाजनसम्म लैजाने अनि एकअर्काविरुद्ध भत्र्सनाको राजनीति गर्नु नेपाली राजनीतिको परम्परा नै बनिसकेको छ । विशेषगरी कम्युनिष्ट नेताहरुमा कठिन शब्द प्रयोग र आरोप लगाउने समस्या छ । कतिसम्म भने कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई नै गद्दार घोषणा गर्न समेत नेताहरू पछि परेनन् । 

परिणाम भने कम्युनिष्ट आन्दोलनमा विभाजन सामान्य प्रक्रिया जस्तै बनिरहेको छ । २०७४ सालको चुनावपछि नेकपाको नाममा एकताबद्ध बनेकै नेताहरु अहिले अनेक पार्टीका नाममा सक्रिय छन् । नेताहरुबीच आरोपकै राजनीतिका कारण नेकपाको एकता भंग भएर अहिले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय एकता अभियान, आजपा लगायत पार्टीहरू अस्तित्वमा छन् । कम्युनिष्टहरुको रोग गैरकम्युनिष्ट पार्टीहरुमा पनि देखिन्छ । विशेषगरी मधेश केन्द्रीत दलहरुबीच एकता–विभाजनको रोग बढी छ । एकता–विभाजनकै कारण राजनीतिक अस्थिरताले निरन्तरता पाइरहेको विश्लेषण गर्न सकिन्छ । किनकि सार्वजनिक आरोप लगाउने र निषेधको नीति अपनाउने नेताहरू एकअर्कालाई सिध्याउन सधैं सत्ता स्वार्थमा आधारित राजनीति गरिरहेका छन् । त्यसैले अब भन्न ढिलाइ भइसकेको छ– निन्दाको राजनीति निन्दनीय छ ।

ADVADV

सम्बन्धित खबर

Advertise