प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन् । भदौ १ मा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र दिएका थिए । मिति तय नभए पनि अहिलेसम्मको तयारी हेर्दा, प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जान सक्ने सम्भावना छ । जसका लागि प्रधानमन्त्री कार्यालयले भ्रमणको तयारी गरिरहेको छ । भ्रमणको तालिका, स्थान र एजेन्डाका लागि दुवै देशको परराष्ट्र तहबाट छलफल भइरहेको छ । अहिलेसम्मको तयारीअनुसार भ्रमण दुईदिने हुन सक्छ । सँगै, प्रधानमन्त्री ओलीको भ्रमण, भारतको राजधानी दिल्ली नभई बोधगयामा हुन सक्छ । जुन निकै अर्थयुक्त छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बुद्ध जन्मस्थल लुम्बिनीमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका थिए । बुद्धको जन्म लुम्बिनीमा भएको थियो भने उनले ज्ञान बोधगयामा प्राप्त गरेका थिए । जसका आधारमा ओलीको भ्रमणलाई धार्मिक र सद्भावको अर्थबाट पनि हेर्न सकिन्छ ।
तर सुरुवाती तयारी निकै सद्भावयुक्त देखिँदा दिल्लीमा नेपालको सन्दर्भलाई लिएर भारत र चीनबीच अनौठो समझदारी बनेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणकै मुखमा भारतले चिनियाँ पक्षलाई बोलाएर नेपाली भूमि लिपुलेकबारे विशेष सहमति गरेको छ । मंगलबार (भदौ २ मा) भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाली भूमि लिपुलेकलाई सीमा व्यापारका लागि प्रयोग गर्ने सहमति गरिएको हो । दुई देशको विदेश मन्त्रालय तहमा भएको सहमतिपछि जारी गरिएको विज्ञप्तिअनुसार अब लिपुलेक पासलाई सीमा व्यापार गर्ने केन्द्रका रूपमा अघि बढाइनेछ । लिपुलेक नेपाली भूमि हो । ओली प्रधानमन्त्री भएकै बखत २०७७ मा लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भू–भागलाई समेटेर नेपालको अद्यावधिक प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरिएको थियो । यद्यपि जुन क्षेत्रमा भारतले सेना परिचालन गरी कब्जा जमाउँदै आएको छ । नक्सा जारी भए पनि नेपालले आफ्नो भूमिलाई प्रयोगमा ल्याउन सकेको छैन । तर यस्तोमा नेपालकै उत्तरी छिमेकी देश चीनसँग मिलेर भारतले उक्त भूभागलाई आफ्नै भएको दाबी गर्ने गरी व्यापार सम्झौता गरेको छ । एकातिर प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता र अर्कोतर्फ नेपालकै अस्मितामाथि प्रश्न उठाउनेगरी गरिएको व्यवहारप्रति सचेत हुनु आवश्यक देखिन्छ ।
भारत र चीनसहित सबै छिमेक तथा मित्रराष्ट्रसँग विश्वासको सम्बन्ध बनाउनु नेपालका लागि आवश्यक छ । सबैसँग सौहार्दता पनि आवश्यक छ । तर भारतीय पक्षले देखाएको शैलीले भने नेपाललाई अपमानित गरेको छ । एकातिर निम्ता ल्याउँदा विदेश सचिवले देखाएको ‘उपरखुट्टी व्यवहार’ र अर्कोतिर भ्रमणकै मुखमा चिनियाँ पक्षलाई बोलाएर गरिएको सम्झौता सामान्य छैन । जसप्रति सचेतता अपनाउँदै भ्रमणकै विषयमा पनि सोचिनुपर्छ । संविधान जारीपछि भारतीय पक्षले नाकाबन्दी लगाउँदा प्रधानमन्त्री ओलीले नाकाबन्दी नहटाई भ्रमण नगर्ने सर्त राखेका थिए । यतिबेला भ्रमणको अन्तिम समय नेपाललाई अपमान गर्नेगरी गरिएको व्यवहार सच्याउन कूटनीतिक रूपमा भूमिका खेलिनुपर्छ । त्यो प्रधानमन्त्री स्वयंका लागि मात्रै होइन, देशकै लागि महत्वपूर्ण छ ।