काठमाडौं : अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) भविष्य विश्वव्यापी रूपमा अनिश्चित बनेको छ ।
युएसएआइडीको वेबसाइट अनलाइनबाट हटाइएको छ भने १०० बढी कर्मचारी कटौती गरिएको छ । उता, अमेरिकी अर्बपति एलन मस्कले युएसएआइडीलाई ‘आपराधिक संगठन’ भनेपछि यसको भविष्य झन अन्योल बनेको छ ।
युएसएआइडीको भविष्य अन्योलपूर्ण बन्दै जाँदा अमेरिकी परराष्ट्र नीति, मानवीय सहायता प्रयासहरू र राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्ने देखिन्छ । सरकारी कार्यक्षमताको नाममा कडा नीति लागू गर्दा लोकतान्त्रिक संस्थाहरू र अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धताहरूलाई कसरी सुरक्षित राख्ने? भन्ने गम्भीर प्रश्न उठेको छ ।
अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति ट्रम्पले मस्कलाई नियुक्त गरेका हुन् । अमेरिकी प्रशासनले युएसएआइडीलाई अप्रभावी र अमेरिकी राष्ट्रिय हितसँग मेल नखाने बताउँदै यी कदमहरू उठाइएको दाबी गरेको छ । युएसएआइडीलाई विदेश मन्त्रालयअन्तर्गत लैजाने र खर्च कटौती गर्ने ट्रम्पको योजना छ ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडीलाई ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको टिप्पणी गर्दै यसको भविष्यबारे विचार गरिरहेको बताएका थिए । यस निर्णयका कारण विश्वभर हजारौं सहायता कर्मचारीहरू बेरोजगार भएका छन् ।
‘युएसएआइडी एक आपराधिक संगठन हो’, राष्ट्रपति ट्रम्पका सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’ मा संलग्न भएको आरोप लगाएका छन् ।
मस्कले युएसएआइडीले जनताको कर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गरेको र लाखौँ मानिसको ज्यान लिएको दाबी गरेका छन् ।
युएसएआइडीप्रति ट्रम्प र मस्कोको टिप्पणी एकैदिन आएको छ । अर्बपति मस्कप्रति आफ्नो समर्थनलाई जोड दिँदै ट्रम्पले आइतबार राति पत्रकारहरूलाई भने, ‘मैले मस्कले राम्रो काम गरिरहेको महसुस गरेँ ।’
मस्कले नेतृत्व गरेको संस्था डज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) का प्रतिनिधिहरूलाई युएसएआइडी भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोशिस गरेका २ सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको छ ।
युएसएआइडीका करिब ३० कर्मचारीहरूले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।
सय अर्बको परियोजना अन्योल
युएसएआइडी बन्द गर्ने राष्ट्रपति ट्रम्पको निर्णयसँगै नेपालमा संचालित विभिन्न ३३ वटा कार्यक्रमको करिब सय अर्बको परियोजना पनि अनिश्चित बनेको छ ।
युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ । यसले सन् २०२२ मा नेपाललाई ५ वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो ।
युएसएआइडी र विदेश मन्त्रालयका अनुदानका कार्यक्रमका लागि करिब ६९ करोड ५० लाख अमेरिकी डलर (९५ अर्ब रुपैयाँ) बराबर सम्झौता भएको छ । त्यसरी भएको सम्झौतामध्ये आर्थिक वर्ष २०८०/८१ सम्म ४० करोड ७ लाख डलर बराबर कार्यक्रम कार्यान्वयन नै सुरु भइसकेको छ ।
सरकारी अधिकारीहरू युएसएआइडीका कार्यक्रम रोकिँदा नेपालमा पनि असर परेको बताएका छन् । यो कार्यक्रम बन्द हुँदा मुख्यतया क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रममा ठूलो असर पुग्ने उनीहरू बताउँछन् ।
युएसएआइडीले नेपालमा ४ वटा कार्यक्रम शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशितालगायतका कार्यक्रम संचालन गर्दै आएको हो । सीप विकास, क्षमता अभिवृद्धि तथा जनचेतना बढाउन यी कार्यक्रमहरू केन्द्रित छन् । यी कार्यक्रम निरन्तर रोकिए भने लक्ष्य पूर्तिमा बाधा पुग्ने पनि निश्चित रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
युएसएआइडीले ४ वटा कार्यक्रमका लागि सरकारलाई प्रत्यक्ष अनुदान दिन्छ र सरकारी कोषबाट रकम खर्च गरिन्छ । यस्तो रकम ९ अर्ब ८० करोड रूपैयाँ बराबरको छ । यस अन्तर्गत स्वास्थ्य, कृषि, शिक्षा तथा समावेशी नीति सुधार परियोजनाहरू सञ्चालनमा छन् ।
यसमध्ये चार अर्ब ७४ करोड रूपैयाँ बराबर रकम प्राप्त भइसकेको छ । भने ४ अर्ब ६ करोड रूपैयाँ प्राप्त हुन बाँकी छ । कार्यक्रम नै बन्द भएपछि बाँकी रकम प्राप्त हुने वा नहुने वा यी कार्यक्रमहरू सुचारु हुने कि नहुने पनि निश्चित छैन ।
त्यस्तै बाँकी २९ वटा कार्यक्रमका लागि युएसएआइडीले प्रत्यक्ष खर्च गर्छ । यी कार्यक्रमहरूको लागि ८१ अर्ब रूपैयाँभन्दा खर्च गर्ने नेपाल सरकारसँग सम्झौता भएको छ । यस अन्तर्गत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कृषि विकासका परियोजनाहरू सञ्चालनमा छन् ।
साथै यस कार्यक्रमअन्र्गत प्रारम्भिक ग्रेड सिकाइ, शिक्षा समावेशीकरण र समानता तथा आपतकालीन शिक्षा प्रतिक्रिया गतिविधि जस्ता परियोजना पनि संचालित छन् । यी योजनामार्फत विपन्न तथा पिछडिएका समुदायमा शिक्षा पहुँच विस्तारको काम गरिएको छ ।
त्यस्तै जलवायु कृषि, कृषि लगानी, बजार सुधार, महिलाहरूलाई व्यवसायमा सशक्तीकरण, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यसहितका कार्यक्रम पनि युएसएआइडीले संचालन गरिरहेको छ । लोकतान्त्रिक अभ्यास, डिजिटल वित्तीय र सामुदायिक न्याय अन्तर्गतका विभिन्न कार्यक्रम पनि संचालित छन् ।
जुलाई २०१७ देखि जुलाई २०२४ सम्म सञ्चालित किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० भन्दा बढी किसानहरूलाई युएसएआइडीले सहयोग गरेको छ । युएसएआईडी, नेपाल सरकार र निजी क्षेत्रबिचको साझेदारीले यस कार्यक्रम अन्र्गत नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा सहयोग मिलेको छ ।
यस्तै, सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली कृषकलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।
के हो युएसएआइडी ?
युएसएआइडी अमेरिकी सरकारको एक स्वतन्त्र निकाय हो । यसले विदेशी सहायता र विकास सहयोग व्यवस्थापन गर्छ । सन् १९६१ मा राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापना गरिएको युएसएआइडीको मुख्य उद्देश्य विश्वव्यापी विकास, मानवीय सहायता र प्रजातान्त्रिक शासन प्रवद्र्धन गर्नु हो । विश्वभर यसका लगभग १० हजार कर्मचारी छन् ।
यसले १०० भन्दा बढी देशहरूमा काम गर्छ, जहाँ यसको ध्यान मुख्य रूपमा स्वास्थ्य, आर्थिक विकास, विपद् र लोकतान्त्रिक सुधारहरूमा केन्द्रित छ । युएसएआइडीले मानवीय संकटको प्रतिकार गर्न, आर्थिक विकासलाई टेवा दिन र अमेरिकी परराष्ट्र नीतिलाई अघि बढाउन पनि भूमिका निर्वाह गर्छ ।
हालै, ट्रम्प प्रशासनले युएसएआइडीको भविष्यप्रति शंका उत्पन्न गर्ने महत्वपूर्ण कदमहरू चालेको छ । २० जनवरीमा सपथ ग्रहण गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी विदेशी सहयोगको ‘पुनरावलोकन र पुनर्संयोजन’ शीर्षकमा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो आदेशले अमेरिकी विदेशी विकास सहायता कार्यक्रमहरूमा ९० दिनको रोक लगाइएको छ । जसको उद्देश्य तिनीहरूको प्रभावकारिता र राष्ट्रिय चासोसँगको मेलमिलाप पुनः मूल्याङ्कन गर्नु हो ।
यस निर्णयले विश्वव्यापी रूपमा विभिन्न सहायता कार्यक्रमहरूमा प्रभाव पार्दै अमेरिकी र अन्तर्राष्ट्रिय सहायता कार्यकर्ताहरूको रोजगारी गुम्ने स्थितिलाई निम्त्याएको छ । स्वास्थ्य सेवा, खाद्य सुरक्षा र शिक्षा जस्ता परियोजनाहरू प्रभावित भएका छन् ।
यसैबीच, युएसएआइडीको आधिकारिक वेबसाइट बिना कुनै स्पष्टीकरण बन्द भएको छ । जसले यसको भविष्य झन् अनिश्चित बनाएको छ । ट्रम्प प्रशासनको कडाइका कारण कम्तीमा ५६ वरिष्ठ अधिकारीहरू निलम्बित भइसकेका छन् भने धेरै विदेशी सहायता कार्यक्रमहरू रोकिएका छन् ।
अमेरिकामै विरोध
ट्रम्पको पछिल्लो निर्णयको अमेरिकी सांसदहरूलाई आपत्ति जनाएका छन् । सिनेटर एलिजाबेथ वारेनले ट्रम्प प्रशासनको कडा आलोचना गर्दै ट्रम्पलाई ‘एलन मस्कलाई सरकारी गोप्य सूचना पहुँच दिन अनुमति दिएर’ अत्यन्त खतरनाक काम गरेको आरोप लगाएकी छिन् । डेमोक्रेटिक पार्टी
का सिनेटर क्रिस कुन्सले ट्रम्प प्रशासनको यो कामको तीखो आलोचना गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले २ हप्तासम्म युएसएआइडी कर्मचारीहरूलाई यातना दिए र अब उनको टोलीले यो संस्थालाई पूर्ण रूपमा समाप्त गर्ने प्रयास गरिरहेको छ ।’
प्रभावित प्रमुख परियोजनाहरूः
कार्यक्रम रकम(डलर)
स्वास्थ्य २ लाख ५० हजार
कृषि र वन २ लाख १० हजार
समावेशी नीति ७ लाख
शिक्षा र आर्थिक मामिला ६–६ २ लाख ५० हजार