
एक हुल तिनीहरू
कसरी आत्मदाह गर्ने
छलफलमा व्यस्त छन् !
विष सेवन गर्ने कि
झुण्डिने ?
नदीमा फाल हाल्ने कि
योममायाले झैं ?
पासो लाउने कि
गर्ने हो हाराकिरी
अथवा युकियो मिशिमाले झैं
सुप्पुकू !
आफू मात्र मर्ने होइन
एकसाथ सबै मर्ने प्रणमा
सहिछाप गराउन
उद्यत् छन्
सबैलाई !
दुश्मनका घर घर पुगेका छन्
आत्म समर्पण मुद्रामा
यो पनि थाहा छ
एक दिन तिनले
अवश्य निमिट्यान्न तुल्याईदिनेछन्
उपयुक्त मौकामा !
आफ्नो घरमा आगो लगाएर
न्यानो खोज्न लागेका छन्
आत्महत्या
आत्मदाह
समाप्ति
यसकै घनघोर
नशामा अल्झेका छन् ।
अलि पर जीवन छ
तर उनीहरू
जीवनको विपक्षमा छन्
जीवनको विरूध्दमा छन्
तिनीहरू केवल
समाप्तिको उन्मादमा छन्
आहूतिमा होम्मिन
तम्तयार छन् !
अहो कस्ले फर्काउला तिनलाई
आत्मदाहबाट जीवनतिर !
तिहारमा कविता शृङ्खला
सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल
तिमी र म सँगै रोपौं - बबिता भट्टराई
जीवन र कविता - भानुभक्त आचार्य
सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा
नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी
तिमीलाई पर्खिरहेछु - जनक कार्की
तिमी पनि रसाएको देखें - झलकजी विकल्प
फर्किन मन छ - दीर्घराज उपाध्याय
एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा