काठमाडौं : भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा भएको नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरण संसद्का दुवै सदनमा पुगेको छ भने त्यहाँको राज्य सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ ।
घटनाको भारतमा पनि व्यापक विरोध भइरहँदा केआईआईटीले नेपाली विद्यार्थीहरूमाथि भएको दमनको विषयमा माफी माग्दै त्यहाँ कार्यरत उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षा गार्डलाई निलम्बन गरेको छ । साथै, नेपाली विद्यार्थीलाई खर्चसहित फर्काउन पनि तयार भएको छ ।
घटनाको तीव्र विरोध भएपछि केआईआईटीले २ जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, २ जना बरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का १ जना बरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको मंगलबार जानकारी दिएको छ ।
आइतबार केआईआईटी विश्वविद्यालयको छात्रा होस्टेलमा बीटेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद छ । घटनामा प्रहरीले १ जना छात्रलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकृतिकै सहपाठी उत्तर प्रदेशका एडविक श्रीवास्तव छन् । उनीमाथि अनुसन्धान भइरहेको छ ।
लम्साल मृत भेटिएपछि उनको मृत्यु अस्वाभाविक भएको भन्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।
विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्रा लम्सालको मृत्यु भएको भन्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएपछि केआईआईटी प्रशासनले सोमबार नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरेको थियो ।
विद्यार्थीले विश्वविद्यालय छाड्न नमानेपछि ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगेर छाडिएको थियो । नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको पीडित विद्यार्थीहरूले जनाएका छन् ।
संसद्मा उठ्यो आवाज
सांसदहरूले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु घटनाको विषय उठाएका थिए । घटनाको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न उनीहरूले सरकारलाई आग्रह गरे ।
सांसदहरू छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका हुन् ।
यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा सांसदहरूले यसबारेमा प्रश्न उठाएका थिए । त्यसपछि अध्यक्ष दाहालले लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
समिति गठन
उडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
समितिमा राज्य सरकारको गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सहसचिव) सदस्य छन् । प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझ(ाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘सरकारले गठन गरेको उच्चस्तरीय तथ्य खोजी समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही गरिने छ’, राज्य सरकारले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
केआईआईटी विश्वविद्यालयसँग सम्बन्धित हालैको दुर्भाग्यपूर्ण घटनालाई ध्यानमा राखिएको र तुरुन्तै सुरक्षा गार्डहरूलाई पक्राउ गर्न र गल्ती गर्ने अधिकारीहरूलाई निलम्बन गर्न कदम चालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘निजी व्यक्तिहरूद्वारा विद्यार्थीहरूविरुद्ध बल प्रयोगलगायतका दुव्र्यवहारका घटनाहरूको अनुसन्धान भइरहेको छ र जिम्मेवारहरूलाई कानुनअनुसार जबाफदेही बनाइने छ’, राज्य सरकारले भनेको छ ।
उडिसा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ । त्यस्तै, स्थानीय व्यक्तिहरूले पनि नेपाली विद्यार्थीमाथि बल प्रयोग गरेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । गल्ती गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता उडिसा सरकारले गरेको छ ।
विद्यार्थी फर्काउन तयार
चर्को दबाबपछि केआईआईटीले नेपाली विद्यार्थीलाई सम्मानजनक व्यवहारका साथ अध्ययनमा फर्काउन तयार भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूको टोली, नेपाली विद्यार्थीका प्रतिनिधि र कलेज व्यवस्थापनसँगको त्रिपक्षीय छलफलपछि केआईआईटीले नेपाली विद्यार्थी फर्काउन सहमत भएको हो ।
सहमतिअनुसार छात्रावासबाट बलजफ्ती निकालिएका नेपाली विद्यार्थीलाई कलेजमा फर्किंदा लाग्ने खर्च कलेजले नै बेहोर्ने छ । यस्तै, प्रत्येक विद्यार्थीका परिवार एवं अभिभावकलाई सम्पर्क गरेर बोलाउने पनि कलेज तयार भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका प्रहरी काउन्सिलर सञ्जीव शर्मा दास र नवीनराज अधिकारी, केआईआईटील संस्थापक अध्यक्ष अच्युत सामन्त र विद्यार्थीका प्रतिनिधि बसेर यस्तो सहमति भएको हो । छलफलमा विद्यार्थीले राखेका माग पूरा गर्न कलेज सहमत भएको प्रहरी काउन्सिलर दासले जानकारी दिए ।
छात्रावासमा शान्तिपूर्वक बस्न पाउनुपर्ने, घर गएका विद्यार्थीको आउने–जाने टिकट कलेजले बेहोर्नुपर्ने, कलेजमा सम्मानजनक व्यवहार हुनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायत माग विद्यार्थीले राखेका थिए ।
सामन्तले घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेका थिए । र, विद्यार्थीका माग पूरा गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
यसैबीच, नयाँ दिल्लीस्थित नेपाली दूतावासले कलेजको अवस्था सामान्य रहेको जनाएको छ । दूतावासबाट खटाइएका पदाधिकारीहरू उडिसा पुगेर त्यहाँ भएका विद्यार्थीहरूलाई भेटेको र सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीसँग समेत छलफल गरेको जनाएको छ ।
छलफलकै बीचमा परराष्ट्रमन्त्री डा. आरजु राणाले समेत शैक्षिक संस्थाका पदाधिकारीहरूसँग फोनमा कुराकानी गरेकी थिइन् ।
यसैगरी, दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले पनि कलेजका संस्थापक अध्यक्ष सामन्तसँग कुराकानी गरेका थिए ।
घटनाबारे अध्यक्ष सामन्तले घटनाबारे सार्वजनिक रूपमा माफी मागिएको र केही सुरक्षा गार्ड तथा कर्मचारीमाथि कारबाही गरिएको जानकारी राजदूत शर्मालाई गराएका थिए ।
आज शव ल्याइँदै
लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । उडिसास्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बाबु सुनिल लम्सालबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
मृतकका बाबु सुनिलले आफ्नी छोरीलाई ‘ब्ल्याकमेल’ गरेर आत्महत्या गर्न बाध्य पारिएको प्रतिक्रिया दिएका छन् । ‘पोस्टमार्टम प्रतिवेदन आउन बाँकी छ तर हामीलाई थाहा छ, यसलाई भावनात्मक ब्ल्याकमेल गरेर आत्महत्या गर्न बाध्य पारिएको हो’, उनले स्थानीय संचार माध्यमसँग भनेका छन् ।
एनओसी रोक्ने चेतावनी
शिक्षा मन्त्रालयले केआईआईटीमा भएको घटना र समस्याको न्यायपूर्ण समाधान नगरिए वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।
शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उडिसा राज्यका विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गर्दै आएको एनओसी रोक्न सकिने जनाएको हो । मन्त्रालयले त्यहाँ समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न सहायता कक्षसमेत स्थापना गरेको जनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा कक्षा स्थापना गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले भारतका विश्वविद्यालयमा पढ्ने हजारौं नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास, अन्योल, मनोविज्ञानमा पर्ने प्रभावलाई समेत ख्याल गरी केआईआईटीको पठनपाठन पूर्ववत् संचालन गराउने व्यवस्था मिलाउन भारत सरकारको समेत ध्यानाकर्षण गराएको छ ।