२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

गोठ निर्माणमा अनुदान पाएपछि चौंरीपालक किसान हर्षित

ADV
गोकर्णप्रसाद भण्डारी
२०८१ असार १६ गते १३:०८
गोठ निर्माणमा अनुदान पाएपछि चौंरीपालक किसान हर्षित

दोलखा : पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनामार्फत अनुदान उपलब्ध भएपछि दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ५ र ६ का चौंरीपालक किसानहरु हर्षित भएका छन् ।

गोठ निर्माण, पाखेरी संरक्षण, धारा तथा पानी ट्यांकी निर्माण र घाँस छर्ने कार्यमा ४७ लाख रकम अनुदान पाएपछि किसानहरू आफ्नो व्यवसायमा राज्यको आँखा परेको र यस वर्षबाट स्थायी गोठ बनेको भन्दै हर्षित भएका हुन् । चौंरीपालक किसान तुला बहादुर थामीले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ को वडा कार्यलयमार्फत पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाबाट आएको बजेटले आफूले आकर्षक गोठ निर्माण गरी चौंरीपालन गरिरहेको बताए । यस पालिकामा आयोजनाले १३ गोठ निर्माण गर्न सहयोग गरेको छ भने २ वटा पानी पोखरी संरक्षण गर्न पनि रकम उपलब्ध गराएको छ ।

आयोजनाले चरण क्षेत्रमा घाँसको बिउ पनि छरेर चौंरीपालन किसानलाई निकै सहजता प्रदान गरेको किसानहरु बताउँछन् । आयोजनाले १६ वटा बाख्रा गोठ पनि निर्माण गर्न सहयोग गरेको छ । स्थायी गोठ बनेपछि जंगलमा काठ फँडानी गरेर गोठ बनाउनुपर्ने फल्याक, प्लास्टिकको छानो छाउँदा पानी चुहिने समस्या, हावाहुरी र पानीबाट जोगिन गाह्रो हुनेजस्ता झन्झटबाट मुक्ति मिलेको किसान भिमबहादुर थामी बताउँछन् । त्यस्तै अर्का चौंरीपालक किसान मनराज थामीले आयोजनाले किसानका लागि गरेको सहयोगले अत्यन्तै खुसी लागेको र चौंरीको दुधबाट उत्पादित सामग्री बेचेर आम्दानी गर्नसमेत सहज भएको बताए ।

चौंरीपालन व्यवसाय परापूर्वकालदेखि गर्दै आएको भएपनि पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा आयातित झाडी बुट्यान बढ्दै जाँदा चौंरीको घाँस, पानी लोप हुँदै गएको र चौंरीपालक किसान घट्दै गएका कारण चरणक्षेत्र पुनर्स्थापनको कार्य गर्दै आएको आयोजनाले जनाएको छ । आयोजनाले कालिन्चोक गाउँपालिकाको झरेनी सामुदायिक वनको १० हेक्टर जमिनमा घाँस छर्न सहयोग गरेको छ भने जिरी ५ नम्बर वडामा पनि ५ हेक्टर जमिनमा घाँस छर्न सहयोग गरेको छ ।

त्यस्तै पारिस्थितिकीय  प्रणालीमा आधारित अनुकूलन आयोजनाले भिमेश्वर नगरपालिका वडा नम्बर ९ मा पनि ५ हेक्टर जमिनमा घाँस छर्न सहयोग गरेको र गौरीशंकर गाउँपालिका वडा नम्बर ८ मा पनि घाँस छरिएको आयोजनाका जिल्ला संयोजक विनोद थापाले जानकारी दिए । आयोजनाले गौरीशंकर गाउँपालिकामा पोखरी संरक्षण गर्दै पानी ट्यांकीसहित धारासमेत निर्माण गरिदिएको छ । दोलखा जिल्लाभर आयोजनाले किसानहरुका लागि २१ चौंरी गोठ निर्माणमा सहयोग, किसानहरुका लागि शौचालय ११ वटा, धारा ६ वटा, ९ वटा पानी पोखरी संरक्षण र ६ वटा पानी ट्यांकी निर्माणजस्ता कार्य गरेको आयोजनाका संयोजक थापाले बताए ।

दोलखाको कालिन्चोक गाउँपालिकाको ५ र ६ नम्बर वडा, भिमेश्वर नगरपालिकाको ९ नम्बर वडा, जिरी नगरपालिकाको ५ नम्बर वडा र गौरीशंकर गाउँपालिकाको ८ नम्बर वडामा वन तथा वातावरण मन्त्रालयमार्फत पारिस्थितिकीय  प्रणालीमा आधारित अनुकूलन आयोजनामार्फत कार्य भइरहेको आयोजनाका संयोजक थापाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise