डोल्पा : दशकौंसम्म दुर्गम रहँदै आएको हिमाली जिल्ला डोल्पाको मुहार बिस्तारै बदलिन थालेको छ । कारण हो– सडक संजाल । जबदेखि यहाँ सवारी साधन गुड्न थाले, तबदेखि यहाँका स्थानीयवासीको जनजीवन, व्यापार, स्वास्थ्य र पर्यटनमा ठूलो परिवर्तन आएको छ ।
५ मंसिर २०७५ मा राष्ट्रिय सडक संजालसँग जोडिएसँगै डोल्पाका विभिन्न गाउँ बस्तीहरूसमेत सडक संजालसँग जोडिन थालेका छन् । सडक संजालमा जोडिएपछि डोल्पाका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको कठिनाइ हट्न थालेको छ ।
सडक संजालको पहुँच नपुग्दा पहिले खाद्यान्न, लुगाफाटा, निर्माण सामग्री तथा औषधि ढुवानीका लागि घोडा, खच्चड वा भरियाको भर पर्नुपथ्र्यो । अहिले भने गाडीबाटै सहजै सामान ल्याउन सकिने भएको छ ।
सुरुवाती चरणमा सदरमुकामदेखि केही गाउँसम्म मात्र सवारी साधन प्रयोग गरिरहेका डोल्पावासी अहिले भने रुकुम, जाजरकोट, नेपालगन्ज, सुर्खेत, काठमाडौंसम्म सिधै यात्रा गर्न सक्छन् ।
दिनहुँ डोल्पालीका घर आँगनदेखि यात्रुबाहक बस, मालबाहक ट्रकलगायतका सवारी साधन गुड्न थालेका छन् । सडक संजालसँग जोडिएका कारण जिल्लामा पक्कीसहितका भवनसमेत बनेका छन् । बजारीकरण बाक्लो हुँदै गइरहेको छ । त्यहाँका स्थानीय बजारको संरचनासमेत परिवर्तन भइरहेको छ । विभिन्न विकास, निर्माणका कार्यहरू सहजै भइरहेका छन् ।
आफ्नो घर आँगनमा कहिले मोटर पुग्ला भन्ने डोल्पावासी अहिले दैनिकी सवारी साधनको आवतजावतले मख्ख छन् । सडक संजालसँग जोडिएपछिको परिवर्तन देखेर त्रिपुराकोटका स्थानीय जुनबहादुर सार्की भन्छन्, ‘यसरी घर आँगनमै मोटर गाडीहरू गुड्ने भन्ने कुरा कल्पना पनि गरेको थिएन, अहिले दिनहुँ आवतजावत गरिरहेका हुन्छन् ।’
उनले थपे, ‘हाम्रै पालामा एक पोका नुन लिन सल्यानको सल्लीबजारसम्म पैदल हिँड्नुपथ्र्यो, अहिले जस्तो सामान पनि हाम्रै बजारमा पाउँछ । भरियाको रूपमा प्रयोग गरिने घोडा, खच्चड, गधासमेत देखिन छाडेका छन् ।’
जाजरकोट–डोल्पा सडक खण्डको लम्बाइ ११८ किलोमीटर छ । उक्त सडक खण्डमा हिउँदको समय सहजै यात्रा गर्न सकिए पनि बर्खा समयमा भने निकै कठिन हुने गर्छ, जसको मूल कारण हो– यो सडक खण्डभित्रका साना–साना खोलानाला । उक्त खोलानालामा पनि पक्की पुल र बेली ब्रिजका लागि निर्माण प्रक्रिया सुरु भइसकेको छ ।
यदि यी खोलनालामा पुल निर्माणको काम समयमै हुने हो भने अझै डोल्पालीको मुहार फेरिने देखिन्छ ।
व्यापार र आर्थिक उन्नति
डोल्पामा सडक पुगेपछि स्थानीय व्यापार व्यवसायमा उल्लेखनीय सुधार आएको छ । व्यापारीहरूले बाहिरी बजारबाट थोरै लागतमा सामान ल्याउन सक्ने भएकाले सामानको मूल्यसमेत घटेको छ ।
स्थानीय व्यापारी पूर्णकेशर न्यौपाने भन्छन्, ‘पहिला १ बोरा चामल ल्याउन हप्ता दिन लाग्थ्यो, ढुवानी खर्च मात्र ७ हजार रुपैयाँभन्दा बढी पथ्र्यो । अहिले गाडीमा सामान ल्याउँदा कम खर्चमा पुग्छ । जनतालाई सस्तो मूल्यमा सामान दिन सक्ने भएका छौं ।’
त्यस्तै, कृषि उत्पादनले पनि बजार पाउन थालेको छ । किसानहरूले आफ्ना उत्पादनहरू सहजै सदरमुकाम वा जिल्लाबाहिरका शहरहरूमा पुर्याउन सक्ने भएकाले उनीहरूको आम्दानीसमेत बढेको छ ।
स्वास्थ्य सेवामा सुधार
यसअघि डोल्पाका बासिन्दाहरू सामान्य रोगको उपचारका लागिसमेत दिनहुँ पैदल हिँडेर नेपालगन्ज वा काठमाडौं जान बाध्य थिए । तर, सडक संजाल जोडिएपछि बिरामीलाई छिट्टै अस्पताल लैजान सकिने भएको छ ।
डोल्पा जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा. अखण्ड उपाध्याय भन्छन्, ‘पहिला गर्भवती महिला, आकस्मिक बिरामीलाई हेलिकोप्टर वा घोडाको सहारामा लानुपथ्र्यो । धेरै बिरामी समयमा अस्पताल नपुगेर ज्यान गुमाउँथे । अहिले भने गाडीमा लैजान सकिन्छ, जसले धेरैको ज्यानसमेत जोगिएको छ ।’
पर्यटन प्रवर्द्धनमा योगदान
डोल्पा नेपालको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो, जहाँ रहेको फोक्सुन्डो ताल, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, प्राचीन गुम्बाहरू र हिमाली संस्कृति पर्यटकका लागि मुख्य आकर्षण हुन् ।
पहिले यहाँ पुग्न हप्तौं लाग्ने भएकाले विदेशी तथा आन्तरिक पर्यटकको चाप कम थियो । अहिले मोटर बाटो खुलेसँगै पर्यटकको संख्या बढ्न थालेको छ । होटल तथा लजहरू संचालनमा आउँदा स्थानीयलाई रोजगारीको अवसरसमेत सिर्जना भएको छ ।
पर्यटन व्यवसायी नोर्बु लामा भन्छन्, ‘पहिले पर्यटकहरू डोल्पा आउन डराउँथे । अब सडक खुलेपछि सजिलो भएको छ । होटल, गाइड र अन्य पर्यटनसम्बन्धी व्यवसायहरू फस्टाउँदै गएका छन् ।’
सडक विस्तारसँगै केही चुनौतीहरू पनि देखिएका छन् । केही स्थानमा अनियन्त्रित बाटो निर्माणले भू–स्खलनको खतरा बढाएको छ । त्यस्तै, परम्परागत संस्कृति, भाषा र पर्यावरणमा असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।
स्थानीय युवा बमबहादुर सार्कीले भने, ‘सडकले विकास त ल्यायो तर हाम्रो संस्कृति पनि जोगाउनुपर्छ । बाहिरी प्रभावले हाम्रो मौलिकता मेटिने डर छ ।’
डोल्पाका माथिल्लो भेगमा रहेका ३ वटा पालिका भने अझैसम्म पनि सडक संजालसँग जोडिएका छैनन् । राष्ट्रिय सडक संजाल नजोडिए पनि यी सबै पालिकाभित्र एकआपसमा सडकको पहुँच भने पुगेको छ । यहाँका नागरिकले मुस्ताङ र चीनदेखि ल्याइएका सवारी साधनहरूको भरपूर प्रयोग गरिरहेका छन् ।
समग्र रूपमा हेर्दा, मोटर बाटोले डोल्पाको सामाजिक तथा आर्थिक अवस्था सुधार गरेको स्पष्ट देखिन्छ । स्थानीय सरकार तथा संघीय सरकारले उचित योजना बनाएर थप भौतिक पूर्वाधार विकास गर्न सके डोल्पा र डोल्पालीको मुहार अझ बदलिने निश्चित छ ।
मोटर बाटोको निर्माणसँगै डोल्पाको दुर्गम पहिचान क्रमशः हट्दै गएको छ । व्यापार, स्वास्थ्य, शिक्षा र पर्यटनमा आएको परिवर्तनले यहाँको जनजीवनलाई सहज बनाइरहेको छ ।
अबको चुनौती भनेको पूर्वाधारको दिगो विकास गर्दै, सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै, पर्यावरणीय सन्तुलन कायम राख्नु हो । यदि यी पक्षमा ध्यान दिइयो भने डोल्पा अब केवल एक दुर्गम जिल्ला होइन, समृद्ध हिमाली गन्तव्यका रूपमा चिनिन सक्ने स्थानीय बताउँछन् ।