लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : विगत झन्डै तीन दशक अघिदेखि गीतिकारितामा लागेका अरुण तिवारी नेपालका केही पूर्ण स्थापित र व्यावसायिक गीतकारमा पर्छन् । नेपालका धेरै प्रतिष्ठित सांगीतिक अवार्डहरु समेत प्राप्त गरेका गीतकार अरुण तिवारीका सात सय भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् । हजार भन्दा बढी रेकर्ड नभएका गीतहरु अझै साथमा राखेका अरुण माया प्रेम, जीवन जगत र देशप्रेमका गीतहरु लेख्न माहिर मानिन्छन् । पछिल्लो पुस्ताका सफल र व्यावसायिक गीतकार समेत रहेका तिवारीसँग गीत के हो, गीतका प्रकारहरु, व्यावसायिक गीत, गीतले पार्ने प्रभावहरु लगायतका गीतका विविध कुरामा आधारित वार्तालापका केही अंशः
गीत संगीत प्रकृतिको वरदान
गीत संगीत भनेको प्रकृतिको अद्धतीय वरदान हो । सायद हाम्रा पुर्खाहरुले फुलमा गीत भेटे, पत्थरमा गीत लेखे, झरना र खोलाका कलकलमा संगीतका सुर भेटे । त्यो बेलादेखि (आदिमकाल) नै मानिसले गीत संगीतलाई आफ्नो अभिन्न अंग बनाए । चरा चुङगीका आवाजहरु मेघ गर्जनका ध्वनीहरु सबैमा मानिसले गीत संगीत भेट्टाए । झन् आजको कालखण्डसम्म आइपुग्दा त गीत संगीतले नछोएको र नपुगेको कुनै ठाउँ छैन होला । संगीत अन्तर्राष्ट्रिय भाषा भइसक्यो । भाषा नबुझदा नबुझदै पनि सुर तालमा मानिस मोहित हुन्छन् । नेपाली संगीतकै कुरा गर्ने हो भने पनि अन्तर्राष्ट्रिस्तरमा तहल्का मच्चाएको एउटा गीत रेशम फिरिरि उदारहण मान्न सकिन्छ ।
गीत के हो ?
सामान्य अर्थमा भन्ने हो भने शब्द संगीत र स्वरको त्रिवेणी हो गीत । आजकल भन्ने हो भने संगीत संयोजन र वाद्यवाधकको पनि अहम भूमिका देखिन थालेको छ गीतमा । तर बृहत रुपमा जाने हो भने गीत स्वयंमा भरिपूर्ण हुनुपर्छ । वाचन गर्दा मात्र पनि त्यो गीतले पूरा कथा भनेको अनुभूत गर्न सक्नुपर्छ । श्रवण गर्दा मात्र पनि आङ जिरिङ्ग गरोस् । यस किसिमका भावहरु गोपाल योन्जनका गीतहरुमा यत्रतत्र सर्वत्र पाइन्छ । त्यही कारणले होला गोपाल योन्जनलाई म पहिलो गीतकार दोस्रो संगीतकार, अनि मात्र गायक ठान्दछु । उहाँप्रति यस्तो प्रतिक्रिया दिनु मेरो दुस्साहस हो । उदारहणका लागि उहाँबाट सिर्जित ‘देशले रगत मागे’ लाई लिँदा यथेष्ठ हुन्छ । कुनै गीत स्वरले चल्न सक्छ कुनै गीत संगीतले चल्न सक्छ र अहिलेको परिवेशमा संगीत संयोजनले मात्र पनि गीत चल्न सक्छ । यो हामीमा मात्र सीमित होइन कि अन्तर्राष्ट्रिय परिवेशमा पनि प्रमाणित कुरा हो ।
गीतका प्रकार
गीत खासमा पुरातन शैली र आधुनिक शैली गरी दुई प्रकारका हुन्छन् । भाव, अभिव्यन्जना, प्रेम विरह, विम्व, प्रतिक आदि इत्यादी सबै एकै प्रकारका हुन्छन् । केवल फरक हुन्छ त मात्र प्रस्तुति । अझ यसलाई संकोचित रुपमा हर्ने हो भने त प्रेम र घृणा बाहेक अरु विषय नै रहँदैन । सायद गीतमा गोपाल योन्जनको शब्द संगीत र स्वरमा रहेको दर्शनले युक्त भजन जुनी भर ईश्वर म सुकर्म गरु नै काफी छ । पीडा वेदना र छटपटिका गीतहरुमा परोक्षरुपमा घृणा मिसिएकै हुन्छ ।
व्यावसायिक गीत
गीतिकारितामा लागेर व्यावसायिक हुनु पनि अहिलेको परिवेशमा अपरिहार्य जस्तो भइसक्यो । तर त्यसका लागि आफ्नो क्षमता लगनशिलता अध्ययनशिलता र सबैभन्दा ठूलो कुरो पहिला आफैंलाई प्रमाणित गर्नु हो । अनि त्यो व्यक्तिको खोजी हुन थाल्छ र ऊ पूर्ण व्यावसायिक हुने मार्गमा अग्रसर हुन्छ । गायक र संगीतकारलाई एउटै गीतले मात्र पनि व्यावसायिक बनाइदिन सक्छ तर एउटा गीतकार लगातार तीन चार वटा हिट गीत दिएपछि मात्र ऊ व्यावसायिक बन्न सक्छ ।
गीतले पार्ने प्रभाव
गीतले पार्ने प्रभाव अद्भूत हुन्छ । अर्बौं खर्बाैं रुपैयाँ खर्च गरेर पनि नपाइने चीज गीतले केही समयमा नै दिलाइदिन्छ । चाहे त्यो गीत प्रेमीत हो चाहे विरह बेदनाका झन्कार होस् । चाहे त्यो देशप्रेमप्रतिको जागरण गीत होस् । महान कवि एवं नाटककार गोपाल प्रसाद रिमालको यी पंक्ति नै काफि छन्– ‘रातो र चन्द्र सुर्य जङ्गि निशाना हाम्रो जिउँदो रगत सरी बल्दो यो शान हाम्रो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies