२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

राजा फर्केको विश्व इतिहास

draupadi film
निमिष झा
२०८१ फागुन २६ गते ०६:३०
राजा फर्केको विश्व इतिहास

काठमाडौं : पछिल्ला केही दिनदेखि ‘अपदस्थ’ भइसकेको राजतन्त्र पुनर्वहालीको माग राख्दै पक्ष/विपक्षमा बहस चलिरहेको छ । राजतन्त्रको पुनर्वहालीको माग गर्दै ठाउँठाउँमा र्‍याली र सभाहरू पनि भएका छन् ।

सडकदेखि सदनसम्म राजतन्त्र पुनर्स्थापनाको विषयले चर्चा पाउन थालेको छ । ६ फागुनमा ७५औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडियो सन्देशपछि देशको राजनीतिक महोल गर्माएको छ ।

सन्देशमा उनले राजनीतिक दलहरू असफल भएका आरोप लगाउँदै एकता र समृद्धिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । 

एकथरिले ‘श्मशानघाट’मा पुगिसकेको राजतन्त्र फर्कनै नसक्ने बताइरहेका छन् भने अर्काथरि ‘जनताको नासो’ फिर्ता हुनुपर्ने तर्क गरिरहेका छन् ।

केही समययता राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाको माग उचालेका छन् । पूर्वपञ्चहरूको पार्टी राप्रपा, राप्रपा नेपाललगायत हिन्दुवादी संगठन र राजावादी समूहहरूले राजतन्त्र पुनर्स्थापनाको माग गरिरहेका छन् ।

१ महिनादेखि पोखरामा रहेका पूर्वराजा शाह आइतबार काठमाडौं फर्किएपछि उनलाई त्रिभुवन विमानस्थालमा राप्रपा, राप्रपा नेपालसहित राजावादी समूहहरूले स्वागत गर्दै उनको निवास निर्मल निवाससम्म पुर्‍याएका थिए ।

राजावादीहरूले शक्ति प्रदर्शन गरी नेपालमा राजतन्त्रको पक्षमा माहोल बनाउँदै पूर्वराजा शाहलाई नारायणहिटीमा पुनर्स्थार्पित गर्ने सम्भावना रहेको भन्ने सन्देश दिन खोजेका छन् ।

२०६२/०६३ सालपछि राजनीतिक व्यवस्था परिवर्तन भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि नागरिकको अवस्था खस्किँदै गएपछि जनतामा निराशा छाउन थालेको छ । यो व्यवस्था ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूप्रति आमनागरिकको असन्तुष्टि बढेको छ ।

गणतन्त्र घोषणा भएपछि बारम्बार सरकार परिवर्तन, भ्रष्टाचार र अस्थिरताका कारण पूर्वराजाप्रति भरोसा बढेको र दलहरूप्रति विश्वास गुमेको विश्लेषण गरिँदै छ । 

यद्यपि, नयाँ संविधानमा धर्मनिरपेक्षता राखिएसँगै केही धार्मिक समूहहरू भने नेपाललाई हिन्दु राष्ट्रका रूपमा पुनर्स्थापित गर्दै राजसंस्थालाई नै फर्काउने अभियानमा छन् ।

गणतन्त्रपछिका सरकारले आशाअनुरूप काम गर्न नसकेका नागरिकमा महसुस हुँदै जाँदा धेरैले वैकल्पिक शक्ति खोजिरहेका छन् । राजनीतिक रूपमा वैकल्पिक शक्ति नपाउँदा कतिपय राजतन्त्रको विकल्पतर्फ मुखरित भएका हुन् ।

राजतन्त्रको अन्त्य हुनुमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्ताप्रतिको आशक्ति, प्रत्यक्ष शासन असफल हुनुलगायत कारण मुख्य छन् ।

त्यस्तै, १९ जेठ २०५८ को नारायणहिटी दरबार हत्याकाण्ड जस्ता घटनाले पनि राजसंस्थाको साख गुमेको थियो भने सर्वसाधारणले राजपरिवार देशको भन्दा पनि भोग विलास, मोज मज्जा र शासन हत्याउन जस्तोसुकै हतकण्डा अपनाउन पछि नपर्ने रूपमा लिएकाले तत्कालीन समयमा राजसंस्थाविरुद्ध राष्ट्रव्यापी माहोल बनेको थियो ।

करिब २४० वर्षे शाह वंशीय राजतन्त्र १५ जेठ २०६५ मा विधिवत् रूपमा अन्त्य भएको थियो । १० वर्षे जनयुद्ध र २०६२÷०६३ सालको जनआन्दोलनले राजतन्त्र अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । तर, पछिल्लो समय केहीले राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका छन् ।

संविधानविद्हरू संवैधानिक रूपमा राजा फर्किने सम्भावना नरहेको बताउँछन् । त्यस्तै, राजनीतिशास्त्रीहरू राजनीतिक परिवर्तनका माध्यमबाट पनि राजसंस्था पुनर्स्थापित हुन सक्ने नदेखिने बताउँछन् । तर, राजावादीहरूले यी दुवै तर्कलाई बेवास्ता गर्दै राजसंस्था पुनर्स्थापित हुने भन्दै आए पनि कसरी पुनर्स्थापित हुने भन्ने विषयमा मौन छन् ।

राजसंस्था पुनर्स्थापितको यस्तो छ इतिहास

नेपालमा राजसंस्था पुनर्स्थापना हुने वा नहुने बहस जारी रहँदा विश्व इतिहासमा राजसंस्था पुनवर्हाली भएका घटना पनि छन् । इतिहासमा विभिन्न समयमा विश्वका कतिपय देशमा राजतन्त्र पुनर्स्थापित भएको पाइन्छ ।

बेलायतमा सन् १६४९ मा राजा चाल्र्स प्रथमको मृत्युदण्डपछि ओलिभर क्रमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । क्रमवेलको मृत्युपछि राजनीतिक अस्थिरता बढ्दा सन् १६६० मा राजा चाल्र्स द्वितीयलाई पुनः सिंहासनमा ल्याइयो । यो घटनालाई इतिहासमा ‘द रेस्ट्रोरेसन’ (पुनर्स्थापना) भनेर चिनिन्छ ।

यस्तै, फ्रान्सेली राज्य क्रान्ति (सन् १७८९–सन् १७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर, सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८औंलाई गद्दीमा पुनर्स्थापित गरियो ।

सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे तर वाटरलु युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो । बोर्बन राजवंश सन् १८३० मा समाप्त भयो, जब राजा चाल्र्स १०औंलाई क्रान्तिबाट हटाइयो ।

सन् १८६८ मा स्पेनको राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको थियो । तर, सन् १८७४ मा राजा अल्फोन्सो १२औंलाई पुनः सिंहासनमा राखेर राजतन्त्र पुनर्स्थापित गरियो । सन् १९३१ मा पुनः गणतन्त्र स्थापना भयो र राजा अल्फोन्सो १३औं निर्वासनमा जान बाध्य भए ।

तानाशाह फ्रान्सिस्को फ्राङकोको मृत्युपछि सन् १९७५ मा राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखियो, जसले स्पेनलाई लोकतन्त्रतर्फ लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १८१५ मा भियना सम्मेलनमार्फत इटालीका विभिन्न राज्यहरूमा राजतन्त्र पुनर्स्थापित गरिएको थियो । तर, सन् १९४६ मा जनमतसंग्रहमार्फत इटालीले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरियो । राजा उम्बर्टो द्वितीय निर्वासनमा जान बाध्य भए र त्यसयता इटालीमा राजतन्त्र फर्काउन सफल प्रयास भएका छैनन् ।

सन् १९७० मा कम्बोडियामा गणतन्त्र लागू गरियो र राजा नरोद्दम सिंहानुक पदच्युत भए । सन् १९७५–सन् १९७९ को खमेर रुज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । स्न १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नरोद्दम सिंहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरियो ।

विश्वका केही देशमा राजसंस्था पुनर्स्थापित भएका घटना भए पनि केही देशमा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भने सफल हु्न सकेका छैनन् ।

सोभियत संघको पतनपछि बुल्गेरिया, रोमानिया र सर्बियामा राजतन्त्र पुनर्स्थापना गर्ने प्रयास भएका थिए तर ती प्रयासहरू सफल हुन सकेनन् ।

बुल्गेरियामा पूर्वराजा सिमेअन द्वितीय सन् २००१–सन् २००५ सम्म प्रधानमन्त्री बने तर उनले राजतन्त्र फर्काउन सकेनन् । रोमानिया र सर्बियामा पनि राजतन्त्र पुनर्स्थापना प्रयास भए तर सफल भएनन् ।

अफगानिस्तानमा पनि राजतन्त्र पुनर्स्थापनाको माग भएको थियो । सन् २००१ मा राजा जाहिर शाहलाई सम्मानजनक रूपमा ‘राष्ट्रपिता’ घोषणा गरिएको थियो तर राजतन्त्र पुनर्स्थापित भने भएन ।

त्यस्तै, इरानमा केही समूहहरूले पहलवी वंशलाई फर्काउन प्रयत्न गरेका थिए तर उनीहरू सफल हुन सकेनन् ।

हाल विश्वभर ४३ देश तथा राज्यमा राजा वा रानी राष्ट्र प्रमुख छन्, जसमध्ये १२ एसियामा, ११ युरोपमा, ९ अमेरिकामा, ६ ओसियानियामा र ३ अफ्रिकामा छन् ।

ADV

सम्बन्धित खबर

Advertise