काठमाडौं : बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् । जेनजी आन्दोलनका क्रममा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए ।
पाठकले राजीनामा पत्रमा लेखेका छन्, ‘गत भदौ २३ गते जेन जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भावविव्हल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा गरेको छु ।’