काठमाडौं : परस्पर विरोधी विचारधाराका २ समूहले शुक्रबार काठमाडौं केन्द्रित बृहत् प्रदर्शन गर्ने भएपछि तनावको अवस्था उत्पन्न भएको छ । स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष सुरक्षा व्यवस्था अपनाएको छ ।
गणतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै राजावादी समूहले निरन्तर प्रदर्शन गर्न थालेपछि गणतन्त्र पक्षधरहरूले समाजवादी मोर्चाको ब्यानरमा शुक्रबार काठमाडौंमा आमसभा गर्दै छन् भने गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा राजवादी समूहले पनि शुक्रबार नै अर्को प्रदर्शन गर्दै छन् ।
२ समूहको प्रदर्शन एकै दिन र एकै समयमा परेपछि स्थानीय प्रशासनले दुवैलाई छु्ट्टाछुट्टै स्थानमा प्रदर्शन गर्न निर्देशन दिएको छ । गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुन नदिने रणनीति प्रशासनको छ । त्यसैले, दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।
शुक्रबार एसईई पनि भएकाले स्थानीय प्रशासनले दुवै पक्षलाई परीक्षा सकिएपछि अर्थात् बिहान ११ बजेपछि मात्र प्रदर्शन गर्न अनुरोध गरेको छ ।
चुस्त सुरक्षा व्यवस्था
शुक्रबार एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग–अलग स्थानबाट प्रदर्शन र सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिले पनि त्यहीअनुसार सुरक्षा योजना बनाएको छ ।
यसैबीच प्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग नवराज सुवेदी र दुर्गा प्रसाईंले भेटघाट गरेका छन् । उनीहरूले पूर्वराजा शाहसँग भेट गरेपछि प्रदर्शन चर्को हुने आँकलन सुरक्षा संयन्त्रले गरेको छ । समाजवादी मोर्चासँग मुठभेड हुने सम्भावनातर्फ पनि सुरक्षा निकाय सतर्क बनेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषि तिवारीले २ पक्षको प्रदर्शनलाई ख्याल गर्दै शहरमा सुरक्षा व्यवस्था कडा पारिएको बताए । मुठभेडको स्थिति उत्पन्न हुन नदिन व्यापक मात्रामा एकीकृत सुरक्षाकर्मी फिल्डमा खटाइएको उनले बताए ।
स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६ हजार सुरक्षाकर्मीहरूलाई फिल्डमा खटाएको छ ।
सीडीओ तिवारीले शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुने बताउँदै सोहीअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिने बताए । उनका अनुुसार सु्रक्षा संवेदनशीलतालाई ध्यान दिँदै आवश्यक परे थप सुरक्षाकर्मी पनि परिचालन गरिने छ । नेपाल प्रहरीले पनि शान्ति सुरक्षा कामय गराउन करिब ३ हजार प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।
सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकका प्रहरीसमेत परिचालन हुने छन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्न सादा पोसाकका प्रहरी खटाइने छ ।
दुवै पक्षको रुटमा उनीहरूलाई एकआपसमा भेटघाट हुन नदिनेगरी तयारी सुरक्षा निकायको छ । सशस्त्र प्रहरीले पनि प्रदर्शनलाई लक्षित गरेर करिब २ हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुरक्षालाई ध्यान दिएर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिने छन् ।
ट्रफिक चुनौती
शुक्रबार हु्ने प्रदर्शनका ट्राफिक व्यवस्था अस्तव्यस्त हुने देखिन्छ । यसका लागि करिब ७०० ट्राफिक प्रहरी खटिने छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेका अनुसार प्रदर्शनबाट हुन सक्ने जामलाई कम गर्नेगरी योजना बनाइएको छ ।
ट्राफिक जामलाई कम गर्न ठूला सार्वजनिक यातायातलाई काठमाडौं प्रवेशमा रोक लगाइने छ । यस्तै, सार्वजनिक यातायातलाई चक्रपथमा सीमित गर्ने योजना छ ।
ट्राफिक कार्यालय शुक्रबार आवश्यक परे मात्र निजी सवारी साधन चलाउन आग्रह गरेको छ । ‘भित्रको बाटोमा सार्वजनिक यातायात नचलाउन भनेर खबर गरिरहेका छौं’, एसएसपी घिमिरेले भने ।
यस्तो छ रुट
समाजवादी मोर्चाले विभिन्न ठाउँबाट ¥याली सुरु गर्ने तयारी गरेका छन् । बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे, मैतीदेवी, सुन्धारा, न्युरोडलगायत क्षेत्रमा भेला भएर भृकुटीमण्डपमा ¥याली गर्नेगरी मोर्चाको तयारी छ ।
यस्तै, प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट ¥यालीको तयारी गरिरहेका छन् । प्रसाईं पक्षलाई चक्रपथभित्र छिर्न नदिने तयारी प्रशासनको छ ।
राजावादी र गणतन्त्रवादीको जुलस भेट हुन नदिने उद्देश्यले काठमाडौं प्रशासनले राजावादीहरूलाई चक्रपथभन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति बनाएको छ ।
प्रहरीको यही सुरक्षा रणनीतिअनुसार राजावादीहरूको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।
प्रसाईंको अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी अर्को रुट तय गरिएको छ । कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।
समाजवादी मोर्चाले रिङरोडभित्रबाट जुलुस निकालेर भृकुटीमण्डमा पुग्ने र प्रसाईं समूह रिङरोडभित्रै प्रवेश नगर्ने भएकाले जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ सुरक्षा अधिकारीहहरूको छ ।
गणतन्त्रलाई चुनौती
राजावादीहरूको नेतृत्व पूर्वपञ्च नवराज सुवेदीले गरेका छन् । तर, शुक्रबारको प्रदर्शनको कमान्डर भने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा पहिलो पत्रकार सम्मेलन गरेर गणतन्त्रवादीहरूलाई चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा वितरित १० बुँदे विज्ञप्तिमा भनिएको छ, ‘क्रिया भए प्रतिक्रिया हुन्छ ।’ नेपाली समाजले अब थप द्वन्द्व, मुठभेड, तोडफोड आगजनी र आमहडताल, ध्वंसात्मक हिंसा–प्रतिहिंसा र गृहकलह धान्न वा सहन गर्न नसक्ने धरातलीय यथार्थप्रति संवेदनशील भएर अहिंसात्मक एवं शान्तिपूर्ण सहकार्यको प्रक्रिया तथा मार्ग रोजिएको विज्ञप्तिमा जनाइएको छ ।
‘यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ’, चेतावनीयुक्त भाषामा भनिएको छ ।
पत्रकार सम्मेलनमा सुवेदीले २०४७ सालको संविधानलाई आधार मानेर २०७२ सालको संविधानका सकारात्मक प्रावधानलाई समेट्दै सहमतिको बाटो खोज्न आफूहरूले चाहेको बताए । सुवेदीले वर्तमान संविधानमा सातातिना फेरबदल गरेर सम्भव नभएको भन्दै २०४७ सालको संविधानलाई आधार मानेर सहमतिको बाटो खोज्न चाहेको उल्लेख गरे ।
समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसद धवलशम्शेर राणाको नेतृत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरेको छ । समितिमा देशभरबाट १ हजार १११ सदस्य रहने छन् । उक्त समितिअन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने समितिले जनाएको छ । आवश्यकताअनुरूप उपसमितिहरूसमेत बनाउन सकिने जनाइएको छ ।
आयोगको चासो
राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनमा कुनै सुरक्षाको कमी नहुन उपत्यकाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
प्रदर्शनीका क्रममा दुवै पक्ष आमने–सामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।
सुरक्षा योजनाअनुसार दुवै समूहलाई कतै पनि भेट हुन र मुठभेड हुन नदिनेगरी सुरक्षाकर्मीहरू परिचालन गर्न पनि आयोगले आग्रह गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानवअधिकारका मूल्य र मान्यतालाई आत्मसात् गर्न निर्देशन गरेका हुन् ।
आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानवअधिकारको कोणबाट अनुगमनसमेत गर्ने बताएको छ ।