२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

कश्मीरमा ढलेको नेपाली युवाको सपना

निमिष झा
२०८२ वैशाख ११ गते ०६:३०
कश्मीरमा ढलेको नेपाली युवाको सपना

काठमाडौं : मंगलबार दिउँसो भारतको कश्मीरको मनोरम पहलगामस्थित बेसारन उपत्यका आन्तरिक पर्यटकहरूले खचाखच भरिएको थियो ।

पहलगाम कश्मीरमा अवस्थित एक पहाडी पर्यटकीय क्षेत्र हो । यहाँको पहाडी मार्ग उत्तरपूर्वमा अमरनाथ गुफा मन्दिरसम्म पुग्छ, जुन एक हिन्दु तीर्थस्थल हो र अमरनाथ यात्राको तीर्थस्थल पनि । 

हरिया घाँसे मैदान र सफा पानीका कारण पहलगामले हरेक वर्ष विश्वभरबाट हजारौ‌ं पर्यटकलाई आकर्षित गर्छ । लिद्दर नदीको किनारमा अवस्थित यो उपत्यका समूद्री सतहबाट ७ हजार २०० फिटको उचाइमा छ । 

पहलगाममा केही प्रसिद्ध ठाउँ छन्, जुन घुम्न लायक स्थानमा पर्छन् । यो आफ्नो प्राकृतिक सौन्दर्यका कारण विश्वभर प्रसिद्ध छ । यसबाहेक बेताब उपत्यका, चन्दनवाडी, लिद्दर पार्क र कोलाहोई ग्लेसियर पहलगाममा घुम्न लायक ठाउँ हुन् ।

भारतले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय रहेका पहलगामसहितका क्षेत्रको प्रवर्द्धन गरिरहेको छ ।

गत वर्ष मात्र कश्मीरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्यांकहरूले देखाएका छन् ।

पहलगामाको यही सौन्दर्यले बुटवल उपमहानगरपालिका– १४ बेलबरियाका २७ वर्षीय सुदीप न्यौपानेलाई पनि तान्यो । उनी आमा र बहिनीलाई साथ लिएर काश्मीरतर्फ प्रस्थान गरे ।

सुदीप केही दिनअघि आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसँग भारतको पारिवारिक भ्रमणमा हिँडेका थिए । सुदीपले धरानबाट स्वास्थ्य सहायकको अध्ययन पूरा गरेपछि काठमाडौं गएर बीपीएच अध्ययन गरेका थिए ।

मंगलबार दिउँसो पहलगामको सौन्दर्यमा विचरण गरिरहेका सुदीप र उनका आमा, बहिनी र ज्वाइँलाई अब के हुन्छ, रत्तिभर शंका थिएन । तर, जे नहुनु थियो, त्यही भयो ।

अपराह्न साढे २ बजेको थियो । त्यहाँ उपस्थित अन्य पर्यटकहरू पनि सुदीप र उनका परिवार जस्तै रमाइरहेका थिए । तर, तत्कालै अन्धाधुन्ध गोलीको आवाजले वातावरण बिथोलियो । गोली चलाउने आक्रमणकारीहरूले तत्कालै २६ जनालाई ढाले, जसमा सुदीप पनि परे । रमणीय उपत्यकामा आतंक फैलियो ।

पछिल्लो समय सुदीप बुटवलको आधुनिक समाज डेन्टलसँग जोडिएर मुख स्वास्थ्य अभियान परियोजनामा काम गरिरहेका थिए । आधुनिक समाज डेन्टलका संचालक अमृत भुसालका अनुसार सुदीप मुख स्वास्थ्य अभियान लिएर प्युठान, भैरहवालगायतका ठाउँमा पनि पुगेका थिए ।

न्यौपाने यो परियोजनासँग जोडिएर ग्रामीण क्षेत्रका विपन्न वर्गको मुखको स्वास्थ्यमा केन्द्रित भएर काम गर्न रुचाउँथे ।

सुदीपलाई चिन्नेहरू उनी मिलनसार, मृदुभाषी र सबैसँग मिलेर काम गर्न सक्ने क्षमताका भएका बताउँछन् । सुदीपको मृत्युको खबर बुधबार बिहानै टोलभरि फैलिएको थियो । अहिले उनको टोल मनकामनापथ शोकमा परेको छ । बुटवल– ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री सुदीपको मृत्युले टोलभरि पीडा थपेको बताउँछन् । 

छोरा सुदीपको मृत्यु भएकामा बुबा ध्रुव न्यौपाने बेखबर थिए । छोरा गुमाएका ध्रुव काठमाडौंमा शिक्षक आन्दोलनमा थिए । उनी बुटवल– १८ स्थित भवानी माविका शिक्षक हुन् । 

नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा भाग लिइरहेका उनी काम विशेषले बुधबार बिहानै बुटवल आउन गाडी चढे । तर, गाडी चढ्ने बेलासम्म पनि आफ्नो छोरा गुमेको पत्तो उनलाई थिएन । श्रीमती, छोरा, छोरी र ज्वाइँ भारत घुम्न गएकाबारेसमेत उनी बेखबर थिए ।

उनको श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ । श्रीमती बुटवलमा छोरा–छोरीसँग बस्छिन् भने ध्रुव भने एक्लै बस्छन् ।

श्रीमतीसँग सम्बन्धविच्छेद भएका उनलाई आफ्नो एक मात्र छोरालाई अल्पायुमा गुमाउँदाको पीडा निकै कष्टकर भएको छ ।

आज शव आउने

सुदीपको शव बिहीबार बिहानसम्म नेपाल आइपुग्ने छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव तत्कालै नेपाल ल्याइने व्यवस्था भएको हो । 

सुदीपको शवसँगै उनका परिवारका सदस्यहरूलाई पनि सँगै ल्याइने छ । 

यसरी भयो घटना

प्रत्यक्षदर्शीहरूका अनुसार सैनिक जस्तै पोसाक लगाएका ४ देखि ६ जना आक्रमणकारीहरू नजिकैको जंगलबाट आएर १५ देखि २० मिनेटसम्म नजिकैबाट मानिसहरूमाथि गोली चलाएका थिए ।

१ हजार २०० भन्दा बढी मानिसहरू उपस्थित घाँसे मैदान भएको ठाउँमा गोली चल्दा धेरै पर्यटकहरू लुक्न खोजे । तर, खुल्ला मैदान भएकाले उनीहरू लुक्ने ठाउँ नै थिएन ।

बाँच्न सफल एक पर्यटकले आक्रमणकारीहरूले मैदानमा अनियन्त्रित रूपमा कम्तीमा २० मिनेटसम्म निडर भएर घुम्दै गोली चलाएका थिए ।

एक स्थानीयले आतंककारीहरूले महिलाहरूलाई छाडेर पुरुषहरूमाथि मात्र गोली चलाएका बताएका छन् । मारिनेहरूमा सबै पुरुष नै छन् ।

प्रत्यक्षदर्शीका अनुसार गोलीहरूको वर्षा नै भएको हुँदा आँधी जस्तै माहोल बनेको थियो । गोली लागेकाहरू चिच्याउँदै ढल्न थालेका थिए । घटनापछि मानिसहरू आतंकित भएर चिच्याउँदै थिए । 

आफ्नो पतिसँगै यात्रा गरिरहेकी एक युवतीले खाजा खाइरहेका बेलामा एक आक्रमणकारी आएर उनको पतिलाई ‘मुस्लिम हो कि होइन ?’ भनेर सोधेको र उनले ‘मुस्लिम होइन’ भन्ने जबाफ दिँदै गर्दा नै आक्रमणकारीले गोली चलाएका बताइन् ।

भारतको सैन्य बल र कश्मीर प्रहरीले यो आक्रमणको प्रतिक्रियामा ठूलो आतंकवादविरोधी अभियान सुरु गरेको बताएको छ । तर, बुधबार दिउँसोसम्म पनि कुनै पनि आक्रमणकारीलाई पक्राउ गरिएको पुष्टि भएको छैन । पहलगामका रिसोर्ट र होटलहरू खाली हुँदै जाँदा सैन्य बलले सम्पूर्ण क्षेत्रमा सुरक्षा बढाएको छ ।

आक्रमणको जिम्मेवारी पाकिस्तानस्थित लस्कर–ए–तोयबाको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ ।

ठूलो आक्रमण

पहलगामको घटना हालैका दिनमा भारतमा भएका आतंकवादी घटनाहरूमध्ये सबैभन्दा ठूलो हो । कश्मीर राज्यबाहिरका कामदारहरूमाथि छिटपुट आक्रमणहरू भए पनि पर्यटकमाथि अहिलेसम्म आतंकवादी आक्रमण भएको थिएन ।

आक्रमणपछि पहिलो प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले घटनामा पाकिस्तानको संलग्नता रहेको आशंका जनाए ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच द्वन्द्व रहँदै आएको छ । २ देशबीचले मुख्यतया कश्मीरको क्षेत्रीय विवादका कारण पटक–पटक युद्ध भइरहेको छ ।

भारतले पाकिस्तानलाई आफ्ना सुरक्षा बलहरूसँग लड्न इस्लामी आतंककारीहरूलाई आश्रय र हतियार दिएको आरोप लगाउँछ । दशकौंदेखि, भारतीय राज्यविरुद्ध सशस्त्र विद्रोह चलिरहेको छ ।

सन् २०१९ मा मोदी सरकारले भारतको एक मात्र मुस्लिम बहुल राज्य जम्मु र कश्मीरको विशेष दर्जा समाप्त गरेको थियो ।

भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । यद्यपि, यहाँ बेलाबखत हिंसाका घटना हुँदै आएका छन् ।

त्यसपछि यस राज्यलाई केन्द्र शासित प्रदेशबाट घटाएर सिधै दिल्लीको नियन्त्रणमा ल्याइएको थियो ।

जम्मु र कश्मीरमा भइरहको पटक–पटकको आक्रमण र द्वन्द्वलाई शान्तिमा बदल्न ५ लाख भारतीय सेना, अर्धसैनिक र प्रहरीका हजारौं सैनिक तैनाथ गरिएको छ । त्यति हुँदाहुँदै पनि त्यहाँ शान्ति असहज छ । 

सन् २०१९ मा भारतको सैन्य जत्थाको गाडीमा आत्मघाती बम आक्रमण भयो, जसमा ४० अर्धसैनिकको मृत्यु भएको थियो ।

घटनामा भारतले पाकिस्तानलाई इस्लामी आतंककारीहरूलाई आश्रय दिएको आरोप लगाएर सीमापार सीमित हवाई हमलाहरू गरेको थियो ।

त्यसपछि भारतले पाकिस्तानमा विद्रोहीहरू लुकेको दाबी गर्दै केही क्षेत्रमा आक्रमण गरेको थियो ।

सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथक्तावादी सशस्त्र विद्रोह सुरु भएयता यो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरी दशौं हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक सन् २०२४ जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दु धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

मोदीलाई ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

भारतको जम्मु कश्मीरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । ओलीले पहलगाम आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रस्ट पारेका छन् ।

‘२ देशका प्रधानमन्त्रीबीच कश्मीरमा भएको आतंकवादी हमलाको विषयमा कुराकानी भयो’, ओलीको सचिवालयले भनको छ, ‘प्रधानमन्त्री ओलीले घटनाबारे समवेदना व्यक्त गर्दै आकंवादीविरुद्ध हामी एकै ठाउँमा छौं, जुनसुकै रूप भए पनि आतंकवाद भनेको साझा शत्रु हो, हामी सँगै छौं भन्नुभयो ।’

उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलामा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

‘मैले उहाँ (मोदी)सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा भएको ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरें’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरूविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्‍याएँ ।’

(एजेन्सीको सहयोगमा)

ADV

ताजा खबर

सम्बन्धित खबर