काठमाडौं : भारतको उडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु झन् रहस्यमय बनेको छ ।
प्रिसा केआईआईटीको छात्रावासमा बिहीबार साँझ मृत भेटिएकी थिइन् । वीरगन्ज घर भएकी १८ वर्षीया प्रिसा साह छात्रावासमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।
भुवनेश्वर प्रहरीका आयुक्त एस देवदत्ता सिंहले बिहीबार साँझ प्रिसाको शव होस्टलमा उनी बस्ने १११ नम्बर कोठामै झुण्डिएको अवस्थामा भेटिएको बताएक थिए ।
घटनालाई लिएर अप्राकृतिक मृत्युको मामिलामा मु्द्दा दर्ता गरिएको त्यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन् ।
घटनाको छानबिनका लागि नेपाल सरकारले कूटनीतिक पहल पनि लिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकार, उडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालिएको जनाएकी हुन् ।
कलेज प्रशासनको शंकास्पद भूमिका
विश्वविद्यालय प्रशासनले प्रिसाको शव प्रहरी पुग्नुअघि नै घटनास्थलबाट उठाएको खुलेको छ । कलेज प्रशासनले घटनास्थलमा प्रहरी पुग्नुअघि नै शवलाई उठाएर अन्यत्र लगेको पाइएको छ ।
उडिसाको उडिसाटीभी अनलाइनका अनुसार विश्वविद्यालय छात्रावासको १११ नम्बर कोठामा उनको शव झुण्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको थियो । तर, घटनास्थलमा प्रहरी पुग्नुअघि नै विश्वविद्यालयका कर्मचारीले शव व्यवस्थापन गरेका थिए ।
उडिसा प्रहरी कार्यालयका कन्स्टेबल निराकर खटुआले भने प्रहरीले शव घटनास्थलबाट नउठाएको दाबी गरे । शव प्रहरीले नभएर विश्वविद्यालयका कर्मचारीले नै छात्रावासबाट निकालेको उनले बताए ।
पोस्टमार्टमका लागि अस्पताल गएका खटुआले शव कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट प्रहरीले भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याएको बताए ।
तर, प्रहरीले स्पष्ट रूपमा भनेको शव झुण्डिएको अवस्थामा नभई बेडमा रहेको विवरण र कलेज प्रशासनले प्रहरी आउनुअघि नै शव उठाएको तथ्यले घटनालाई थप रहस्यमय बनाएको छ ।
शव उठाउने काम प्रहरीले नभई कलेज प्रशासनले गरेको हो भने यसले प्रमाण नष्ट गर्ने वा अनुसन्धान प्रभावित पार्ने सम्भावनाको सन्देह निम्त्याएको छ ।
यस विषयमा विश्वविद्यालयका कुनै पनि अधिकारीले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थलबाट हालसम्म ‘सुसाइड नोट’ फेला परेको छैन । प्रहरीले प्रिसा बस्ने कोठाको जाँच पनि गरेको छ भने उनका साथीहरूसँग बयान लिएको छ ।
यसअघि पनि यही विश्वविद्यालयमा अध्ययनरत बुटवलकी १ छात्राको रहस्यमय मृत्यु भएको थियो । ३ महिनाको अन्तरालमा भएका यी २ घटनाले नेपाली विद्यार्थीहरूबीच त्रास फैलिएको छ । मृतकका परिवार तथा नेपाली समुदायले गम्भीर र स्वतन्त्र छानबिनको माग गरेका छन् ।
यस घटनाले भारतीय शिक्षालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य, समर्थन प्रणाली र विश्वविद्यालय प्रशासनको जबाफदेहितामाथि गम्भीर प्रश्न उठाएको त्यहाँ अध्धयनरत नेपाली विद्यार्थीहरू बताउँछन् ।
केआईआईटीको ठहर : आत्महत्या
घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला विश्वविद्यालय प्रशासनले भने साहले आत्महत्या गरेको दाबी गरेको छ ।
विश्वविद्यालयले साहको मृत्युलाई आत्महत्या भन्दै विज्ञप्ति पनि निकालेको छ । विश्वविद्यालयका रजिस्ट्रारले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बी. टेक. कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसा साहले आत्महत्या गरेकी छन् । कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको छ ।’
घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको र त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालयले मृतक विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको र प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ ।
सहयोगको आश्वासन
घटनाबारे दुःख व्यक्त गर्दै उडिसा सरकारले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ र सबै सहयोगको आश्वासन दिएको छ ।
उडिसा सरकारको सूचना तथा जनसम्पर्क विभागले दुःखको यस घडीमा राज्य सरकारले मृतकको परिवारलाई सहयोग गर्ने आश्वासन दिएको छ ।
घटनाका विषयमा प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायत वरिष्ठ अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका पनि विभागले जनाएको छ ।
यस्तै, भारतको राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाका बारेमा चासो दिएको छ । आयोगकी सदस्य प्रियांक कानुनगोले घटनाप्रति चासो जनाउँदै गत फेब्रुअरीमा भएको यस्तै प्रकृतिका घटनामा आयोगले जारी गरेको सिफारिसलाई कार्यान्वयन गर्न ध्यानाकर्षण गरेकी छन् ।
यसैबीच घटनाका बारेमा दिल्लीस्थित नेपाली दूतावासले केआईआईटीका प्रतिनिधिसँग सोधपुछ गरेको छ ।
दूतावासले शुक्रबार केआईआईटीका प्रतिनिधिलाई दूतावासमै बोलाएर घटनाका बारेमा सोधपुछ गरेको थियो ।
दूतावासले केआईआईटीमा रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । घटनाको उडिसा सरकारले पनि दुःख व्यक्त गरेको छ ।
भारतको विदेश मन्त्रालयले प्रिसाको मृत्यु भएकामा दुःख व्यक्त गर्दै घटनाको विषयमा उडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने जनाएको छ । घटनाको उडिसा प्रहरीले गहन अनुसन्धान गरिरहेको पनि मन्त्रालयले विज्ञप्ति जारी गरी बताएको छ ।
‘घटनाको निष्पक्ष जाँचका लागि भारतमा रहेका नेपाली अधिकारी, उडिसा राज्य सरकार र सबै पक्षसँग सम्पर्कमा छौं’, विज्ञप्तिमा भनिएको छ ।
को हुन् प्रिसा ?
वीरगंजकी १८ वर्षीया साह बी. टेक. प्रथम वर्षमा अध्ययनरत थिइन् । वीरगन्जबाट कक्षा १० सम्मको पढाइ पूरा गरेकी उनी कक्षा ११ र १२ काठमाडौैंको केएमसीमा पढेकी थिइन् । उनी १ वर्ष अगाडि मात्र केआईआईटीमा बी. टेक. पढ्न गएकी थिइन् ।
केही समय अगाडि अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा मृत्यु भएको घटनापछि अन्य थुप्रै नेपाली विद्यार्थी जस्तै उनी पनि घर फर्किएकी थिइन् । त्यतिबेला उनले लम्सालको न्यायका लागि वीरगंजमा भएको प्रदर्शनमा पनि भाग लिएकी थिइन् ।
त्यतिबेला प्रिसालाई बुबा श्यामबाबु साहले भारत नफर्किन र क्रेडिट ट्रान्सफर गरेर नेपालमै पढ्न सुझाएका थिए । तर, उनले पहिलो वर्षको परीक्षा सकेपछि भारतकै बैंगलोरमा पढ्न जाने इच्छा राखेकी थिइन् ।
गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल पनि छात्रावासमै आत्महत्या गरेकी थिइन् । त्यतिबेला विद्यार्थीहरूले लम्सालको मृत्युको सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
रुपन्देहीको भैरहवाकी लम्सालले आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे प्रशासनमा उजुरी पनि दिएकी थिइन् । तर, लम्सालको उजुरीलाई विश्वविद्यालयले गम्भीरतापूर्वक नलिएपछि लम्साल आत्महत्या गर्न बाध्य भएकी थिइन् ।
लम्सालको मृत्युको घटनामा जोडिएका १ भारतीय छात्रविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दर्ता भएपछि उनी अहिले जेलमा छन् ।
दूतावास तथा विद्यार्थीहरूका अनुसार केआईआईटीमा लगभग ७०० जना नेपालीहरू कम्प्युटरदेखि व्यवस्थापनसम्मका विषय पढ्दै आएका छन् ।