काठमाडौं : बुधबार बिहानबाट सुरु भएको दक्षिण एशियाका २ देश भारत र पाकिस्तानबीच अन्ततः युद्धविरामा भएको छ ।
अमेरिकाको मध्यस्थतामा दुवै देश तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् ।
भारतीय र पाकिस्तानी अधिकारीहरूले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन् ।गत महिना भारत–प्रशासित कश्मीरको पहलगाममा सन्दिग्ध चरमपन्थी लडाकुहरूले गोली हानी १ नेपालीसहित २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो । चरमपन्थीहरूलाई पाकिस्तानले सघाएको आरोप भारतले लगाएको थियो । तर पाकिस्तानले त्यसको खण्डन गरेको थियो ।
यो साता भारतले पहलगाम घटनाको जबाफ दिन भन्दै पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । त्यसपछि दुवै पक्षले एकअर्काले आफ्नो भूमिमा गोलाबारी गर्दै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थिए। भारतले सैन्य कारबाही थालेपछि दुवै देशमा मानिसहरू हताहत पनि भएको छन् ।
नेपालले गुमाएको अवसर
छिमेकी भारत–पाकिस्तानबिचको तनावलाई लिएर नेपालमा पनि चिन्ता र चासो प्रकट भएको छ । २ देशबीच अघोषित युद्ध सुरु भएको ४२ घण्टापछि नेपाल सरकारले आतंकवादविरुद्ध कसैलाई साथ नरहने भन्दै अप्रत्यक्ष रूपमा भारतलाई साथ रहेको बताएको थियो ।
को सर्वोच्च जनप्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाले चासो र चिन्ता प्रकट गरेको छ । भारतको कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछि बढेको २ देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी जनाएको थियो ।
सरकारको विज्ञप्ति भारतप्रति सहानूभुति दर्शाउने खालको थियो । भारतले पाकिस्तानमाथि गरेको मिसाइल आक्रमणबारे सरकारले केही पनि उल्लेख गरेको थिएन । विज्ञप्तिले नेपाल पाकिस्तानलाई किनारा लगाउँदै पहलगाममा भएको आक्रमणको दोष उसैमाथि थोपिदिएको हो । तर २ देशको तनावलाई कम गर्न मध्यस्थताको भूमिका निर्वाह गर्ने सुखद अवसर गुमाएको छ ।
तर भारत र पाकिस्तानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानमा युद्धविराम गर्न सहमति गरेका छन् । भारत र पाकिस्तानको साझा छिमेकी पनि नेपाल हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य र विश्वमा शान्तिको सन्देश बोकेर चिनिएको राष्ट्रको रूपमा स्थापित नेपाल भारत र पाकिस्तानबिच शान्ति स्थापना गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो ।
परराष्ट्रमामिलाका जानकारहरूका अनुसार नेपालले भारत र पाकिस्तानबिच संवादको लागि तटस्थ मञ्च प्रदान गर्न सक्थ्यो । काठमाडौं वा लुम्बिनीमा उच्चस्तरीय शान्ति सम्मेलन आयोजना गरेर कश्मीर र अन्य विवादास्पद मुद्दाहरूमा छलफलको सुरुवात गर्न अवसर नेपाललाई थियो ।
‘नेपालको तटस्थ छविले दुवै देशलाई विश्वासमा लिन सक्छ । विगतमा नेपालले प्रयास नगरेको होइन तर त्यो पर्याप्त भएन्’ परराष्ट्रमामिलाका जानकार अरुण सुवेदीले भने ।
भारत र पाकिस्तानबिचको तनावले सार्कको प्रभावकारिता कमजोर छ । नेपालले सार्कको सक्रिय सदस्य एवं अध्यक्षको रूपमा क्षेत्रीय सहकार्यलाई जोड दिनुपर्नेमा चुक्दै आएको टिप्पणी पनि उनको छ ।
बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स जस्ता अन्य सार्क सदस्यहरूसँग मिलेर नेपालले भारत र पाकिस्तानलाई संवादमा ल्याउन दबाब सिर्जना गर्न सक्छ । यस्तो सामूहिक प्रयासले क्षेत्रीय स्थायित्वलाई बलियो बनाउने धारणा जानकारहरूको छ ।
यतिमात्र होइन, प्रतिनिधि सभामा पनि सांसदहरूले छिमेकी दुई देशबिचको द्वन्द्वका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको हैसियतले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वाभाविक चासो हुनुपछै’रास्वपा सांसद शिशिर खनाल भन्छन्, ‘नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भोग्नुपर्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सिमाना, सुरक्षा जोखिमलाई ध्यान दिएर भारत र पाकिस्तानसँग नेपालले संवादको अग्रसरता लिनुपर्दथ्यो ।’
सांसद राजेन्द्र पाण्डेले पनि सार्क राष्ट्रको अध्यक्षको हैसियतले भारत र पाकिस्तानबिच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल लिनुपर्ने बताउँछन् ।
भारत–पाकिस्तान तनाव बढेका बेला सरकारको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ बुँदे सुझाव दिएका छन् ।
भारत–पाकिस्तान युद्धले नेपाललाई पर्नसक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया र सिंगो देश एक ढिक्का भएर उभिनु पर्ने उनको भनाइ छ ।
‘आतंकवाद नियन्त्रण तर युद्धको चाँडो समाप्तिकालागि सार्क अध्यक्षका रूपमा नेपालको क्रियाशीलता समग्र विश्व राजनीतिले महसुस गर्नसक्ने उचाइको हुनुपर्छ । नेपाल सरकारलाई युद्धको दर्शक बन्ने छुट छैन, यो परीक्षामा नेतृत्वले देशलाई उत्तीर्ण गराउन सक्नुपर्छ’, शर्माले भने ।
कारण जेसुकै भए पनि आणविक हतियार भएका देशहरूबीचको लडाइँ अन्य देशका लागि ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ हुने जोखिम हुन्छ ।
अध्यक्ष राष्ट्रको हैसियतले पनि नेपालले सार्कका दुई सदस्यबीचको आक्रमणमा मुख नखोल्न नसक्नु सरकारको कुटनीतिक अपरिपक्वता रहेको विज्ञहरू भन्छन् ।
अप्रिल २२ : भारत प्रशासित कश्मीरको पहलगाममा आतंकवादी हमला, १ नेपालीसहित २६ जनाको हत्या
अप्रिल २३ : आतंकवादी हमलामा पाकिस्तानको समर्थन रहेको भारतको आरोप, पाकिस्तानसँग कूटनीतिक सम्बन्ध घटाउने निर्णय, सीमा बन्द, सिन्धु जल सन्धि निलम्बन,
अप्रिल २४ : भारत र पाकिस्तानले एक–अर्काका नागरिकहरूलाई भिसा दिन बन्द, पाकिस्तानले सबै भारतीय स्वामित्व वा सञ्चालन भएका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द
अप्रिल २५ : नियन्त्रण रेखा (एलओसी) मा भारतीय र पाकिस्तानी सैनिकहरूबिच गोली हानाहान
मे ३ : पाकिस्तानले ४५० किलोमिटर दूरीसम्म पुग्ने ब्यालेस्टिक मिसाइल परीक्षण,
मे ७ : भारतद्वारा ‘अपरेसन सिन्दूर’ सुरु, पाकिस्तानमा मिसाइल प्रहार, पाकिस्तान प्रशासित कश्मीर र पञ्जाबमा ३१ जनाको मृत्यु, पाकिस्तानद्वारा ५ लडाकु विमान खसालेको दाबी, १० भारतीयको मृत्यु
मे ८ : भारतद्वारा ड्रोन आक्रमण,
मे ९ : पाकिस्तानबाट भारतमा ड्रोन आक्रमण, आइपिएल स्थगित, जी–७ राष्ट्रहरूद्वारा अधिकतम संयमता अपनाउन दुवै देशलाई आग्रह
मे १० : पाकिस्तानद्वारा ‘अपरेसन–बुन्यान–अल–मार्सुस’ सुरु, भारतीय प्रशासित कश्मीरमा ठूलो विस्फोटको आवाज