
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् ।
सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् ।
‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क गरेको थिएँ’, उपाध्यायले भनेका छन्, ‘नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नै पुनर्गठन र सुदृढीकरण गरेर समाजवादको यात्रामा अगाडि बढाउनुपर्छ भन्ने विश्वासमा उहाँ अडिग रहनुभएको छ ।’
खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा भारतको दिल्लीमा छन् । खनालले दिल्लीमै रहेको बखत असोज २६ मा पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले विज्ञप्ति नै जारी गरी अन्यसँग एकताभन्दा पार्टीलाई पुनर्गठन र सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए ।
तर शुक्रबार एकाएक एकताको विषय टुंग्गिएको र खनाल पनि सहमत भएको विषय बाहिरिएपछि उनले सचिवालयमार्फत खण्डन गरेका हुन् ।
यसैबीच पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । कात्तिक १२ मा बोलाइएको बैठकमा असहमतिहरूबारे छलफल हुने जनाइएको छ ।