२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एउटा नोटको जीवनी

shivam cement
भूपिन
२०८२ कार्तिक ७ गते ०८:२४
Shares
एउटा नोटको जीवनी

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।
यो नोटको जन्मको बारेमा
म बिलकुल अनभिज्ञ छु
तर थाहा छ मलाई
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा शुरु भयो ।
एक क्यासियरले
जिब्रोको थुकमा बुढीऔंला चोबेर
गन्यो यो नोट
र पहिलोपटक थमायो ग्राहकको हातमा ।
बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा 
नोटमा मासु पसलेको हातको आलो रगत टाँसियो ।
त्यसपछि पुग्यो नोट
रुघाग्रस्त साहुको हातमा
नोटमा साहुको सिँगान टाँसियो ।
त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेर
नोट गन्दै थियो ।
पुग्यो नोट
भर्खरै बाथरुममा सेटी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
त्यसमा टाँसियो
मासिक श्रावको रगत ।
पुग्यो नोट
यौनकर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस ।
भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिप्पोक्रेट
सबैको हात–हातसम्म
नोटको यात्रा जारी रह्यो ।
एकपटक बडो मुस्किलले
गरीबको हातमा पनि पुग्यो नोट
जसमा उसको आँसु
र पसिना पनि मिसियो ।
तर भोलिपल्ट नै नोट पुग्यो
बेरोजगारीले किलकिले अँठ्याएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको बासना टाँसियो ।
लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवान्लाई
त्यही नोट ।
म पढिरहेछु
एउटा नोटको रोमाञ्चक जीवनी
तर बुझिरहेको छैन
कि किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट ?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट ?
मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

(‘भूपिनका कविता’बाट)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर