२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

प्रतिपक्षको अभ्यास थाल्दै माओवादी

ADV
जानकी पाठक
२०८१ असार २४ गते ०६:५०
प्रतिपक्षको अभ्यास थाल्दै माओवादी

काठमाडौं : प्रमुख प्रतिपक्षमा पुग्ने निश्चित भएसँगै नेकपा माओवादी केन्द्रका सांसदहरु संसदमा त्यसअनुसारको भूमिका देखाउने प्रयासमा उत्रिएका छन् ।माओवादी केन्द्र सरकारको नेतृत्वमा छ । तर, आइतबार प्रतिनिधि सभाको दृश्यले माओवादी केन्द्र प्रतिपक्षमा पुगिसकेको अभास हुन्थ्यो । बरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको नेकपा एमालेका सांसदहरु सरकारको नेतृत्वकर्ता दलको रुपमा प्रस्तुत भएको भान हुन्थ्यो । 

एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेपछि पनि सत्तामा बसिरहेको भन्दै आशंका गरे । अनि, सत्तारुढ माओवादी सांसदहरुले त्यसको प्रतिवाद गर्दै नयाँ गठबन्धनप्रति त्यस्तै आशंका गरे ।एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागे । कांग्रेस र एमालेबीच नयाँ राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भएको भन्दै उनले भने, ‘नयाँ राष्ट्रिय सरकार निर्माणको यो एउटा अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’ 

माओवादीका सांसद लेखनाथ दाहालले जवाफ फर्काए, ‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरुको इच्छाले राजीनामा प्राप्त हुँदैन ।’संवैधानिक प्रावधान अनुसार सरकार अगाडि बढ्ने भन्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने दिन असार २८ सम्म पर्खिन आग्रह समेत गरे ।एमालेका सांसद रघुजी पन्तले राजनीतिमा नैतिकता हुने भन्दै त्यसको ख्याल गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

संविधानले विश्वासको मत लिन ३० दिन समय दिएको भए पनि प्रधानमन्त्रीले स्पष्ट रुपमा बहुमत गुमाएकाले भावी राजनीतिलाई ख्याल गरेर पदमा रहन नहुने उनले बताए ।

एमाले सांसद पन्तले भने आफूले छाडेपछि संविधानको कुन धारा अनुसार सरकार बन्छ भन्ने चिन्ता नलिन प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रलाई सुझाए । ‘अल्पमतमा परिसकेपछि २ मा जान्छ कि ३ मा जान्छ (संविधानको धारा ७६(२) कि ७६(३) ? यो राष्ट्रपतिज्यूको चिन्ताको विषय हो । प्रधानमन्त्रीको काम बहुमत नभइसकेपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो’, पन्तले भने ।

संविधानको धारा ७६ मा सरकार गठन सम्बन्धी व्यवस्था छ । ७६(१) मा एकल बहुमतको सरकार, ७६(२) मा दुई वा दुई भन्दा बढी दलको सरकार र ७६(३) मा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको नेतृत्वको सरकार गठन हुने व्यवस्था छ ।

७६(२) अनुसार गठन भएको प्रचण्ड नेतृत्वको सरकार राजनीतिक रुपमा अल्पमतमा परेको छ । २८ गते विश्वासको मत नपाए उनी स्वतः पदमुक्त हुनेछन् । तर त्यसपछि ७६(३) अनुसार संसद्को सबभन्दा ठूलो दलको नेताको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने माओवादीको तर्क छ ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले संविधानको धारा ७६(३) मा लेखिएको व्यवस्था पढेर सुनाए ।जहाँ भनिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’ यो व्यवस्था अनुसार ७६(२) को प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके ७६(३) अनुसारको सरकार बन्न सक्ने सांसद सापकोटाको तर्क छ ।

ADVADV

सम्बन्धित खबर

Advertise