२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

खर्चमा सुध्रिएन सरकार : पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित

ADV
मध्यान्ह
२०८१ असार २४ गते २०:५५
खर्चमा सुध्रिएन सरकार : पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित

काठमाडौं : चालु आर्थिक वर्षको (आव)मा भुक्तानीका लागि अन्तिम दिन मानिने सोमबारसम्म सरकारले १३ खर्ब २२ अर्ब ६० करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । साथै सोही अवधिसम्म सरकारले राजस्व, गैर–राजस्व र अनुदान बापत १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६८.०९ प्रतिशत मात्रै आम्दानी गरेको छ ।

महालेखा कार्यालयकाअनुसार सरकारले २४ गतेसम गरेको आम्दानी तथा खर्चको अवस्थालाई हेर्दा दुवै शिर्षकमा लक्ष्य प्राप्ति हुन सक्ने देखिँदैन । सोमबार साँझसम्मको अवस्था हेर्दा सरकार चालु आवमा तीन खर्ब १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँले घाटामा देखिएको छ । आम्दानीमा कमजोर देखिएको सरकार पुँजीगत खर्चमा पनि अघिल्लो आवको तुलनामा थप कमजोर देखिनसक्ने तथ्यांकले देखाएको छ ।

सरकारले चालु आवको बजेटमार्फत् पुँजीगत शिर्षकमा तीन खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेकोमा सोमबार साँझसम्म जम्मा एक खर्ब ५७ अर्ब ६९ करोड नौ लाख अर्थात् विनियोजित रकमको जम्मा ५२.२ प्रतिशत मात्र खर्च गरेको छ । जबकी सरकारले गत आवको असार मसान्तसम्म पुँजीगत शिर्षकमा ६१.४४ प्रतिशत खर्च गरेको थियो ।

विगतका आर्थिक वर्षहरुदेखि कमजोर रहँदै आएको सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा चालु आवमा पनि सुधार नदेखिएको हो । ०७८/०७९ का लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेकोमा सो आवमा दुई खर्ब १६ अर्ब ३७ करोड २७ लाख ५७.२३ प्रतिशत मात्रै खर्च गरेको थियो । त्यस्तै, ०७७/०७८ मा पनि ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रकम पुँजीगत शिर्षकमा विनियोजन गरेकोमा दुई खर्ब २८ अर्ब ३० करोड ६ लाख अर्थात् ६४.६९ प्रतिशत पुँजीगत खर्च गरेको थियो ।

सोमबारसम्म सरकारले चालु खर्च बापत नौ खर्ब २४ अर्ब ३२ लाख अर्थात् उक्त शीर्षकमा विनियोजित कुल रकमको ८०.९३ प्रतिशत चालु खर्च गरेको छ । सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको खर्च लक्ष्य राखेको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षामार्फत् ८७.३ प्रतिशत मात्रै खर्च हुने अनुमान सरकारले गरेको थियो । सोमबारसम्मको पुँजीगत खर्च ५२ प्रतिशतमा सीमित भए पनि आवको अन्तिम दिनसम्म वृद्धि हुनसक्ने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise