२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

व्यावसायिक किसानलाई सन्धिखर्क नगरपालिकाले अनुदान दिने

सुर्य प्रसाद भुसाल
२०८२ जेठ ८ गते २०:१७
व्यावसायिक किसानलाई सन्धिखर्क नगरपालिकाले अनुदान दिने

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले कृषि कार्यक्रमलाई स्थानीय स्तरमै समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सन्धिखर्कको आयोजनामा सन्धिखर्क नगरपालिका अर्घाखाँचीको सभाहलमा आयोजित कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानमूलक कृषक र जनप्रतिनिधिबीचको अन्तरक्रिया कार्यक्रम उनले सो कुरा बताएका हुन् । कार्यक्रममा नगरपालिकाभित्र रहेका कृषकहरुले स्थानीय आवश्यकता, कृषकको माग  र कृषकहरुको पहुँचका आधारमा स्थानीय सरकारले योजना तय गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख श्रेष्ठले अनुदानका लागि कृर्षि गर्ने र अनुदान पाउन छोडेपछि फर्म बन्द गर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताए । श्रेष्ठले, ‘कृषकहरुलाई सेवा लिन जिल्लासम्म धाइरहन नपर्ने गरी स्थानीय सरकारले सबै पालिकाहरुमा कृषि शाखा  स्थापना गरेकोले सो शाखाबाट प्रधानमन्त्री जोनसँग समन्वय गरेर किसानको समस्या समाधान गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।

नगरप्रमुख श्रेष्ठले पालिकाभित्र रहेका बाख्रा, कफी र तरकारी जोनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आम कृषक लाभान्वित हुने बताए । उनले अनुदानमा मात्रै निर्भर नहुन पनि कृषकलाई आग्रह गरे । माटो परीक्षण, हावापानी र स्थानीय जनशक्तिको अवस्था अध्ययन गरेर मात्रै कार्यक्रम ल्याउनुपर्ने उनले बताए । 

कार्यक्रमम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख बिष्णु मङ्ग्रातीले  उत्पादनपछि बजारीकरणको चुनौती प्रमुख रहेको भन्दै उत्पादन संकलन केन्द्रहरु निर्माण भएपनि ती केन्द्र प्रभावकारी बन्न नसक्दा किसानले समस्या भोग्नु परेको बताए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख मिश्रा आचार्यले वास्तविक  कृषकका वास्तविक आवश्यकताका आधारमा योजना बनाइनुपर्नेमा जोड दिँदै योजना दोहोरिन नदिन अनुदान प्रक्रिया स्पष्ट पार्न आवश्यक रहेको बताइन् । उनले बजारीकरणको लागि न्यूनतम समर्थन मूल्य तोकेर अनुदान व्यवस्थापन गर्ने वैकल्पिक उपायसमेत प्रस्तुत गरिन् ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, विषयगत शाखा प्रमुख, पत्रकार तथा कृषक सरोकारवालाहरूले बाख्रा, कफी र तरकारी  जोन कार्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावकारी समन्वयका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिएका थिए ।

प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीका प्रमुख विष्णु मगरातीले २०७४/०७५ देखि २०८१/८२ सम्म जिल्लामा सञ्चालनमा रहेका तरकारी, बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमबारे सहभागी जनप्रतिनिधिहरूलाई जानकारी दिए ।

स्थानीय तहको सक्रिय समन्वय, आवश्यकता अनुरूपको योजना तथा कृषकको पहुँचमा आधारित सेवा प्रणालीले मात्रै कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न सकिने कार्यक्रम सहभागीहरूको निष्कर्ष रहेको छ । 

ADV

सम्बन्धित खबर