काठमाडौंः नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले सहप्रायोजनका लागि नेबिको लिमिटेडको साथ पाएको छ ।
एनपिएलको दोस्रो संस्करण त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ । त्यसका लागि कर्णाली याक्स स्पोट्र्स प्रालि र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षका लागि मात्र हो ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको उल्लेख गर्दै यस्तो स्थितिमा एनपिएल आयोजनाको तयारी हुँदा खुशी व्यक्त गरे । घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपिएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको उल्लेख गर्दै यो सहकार्यले व्यवसायीक यात्रा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । कर्णाली गत संस्करणमा तेस्रो भएको थियो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । जसले क्रिकेट विकासमा फ्रेन्चाइज लिगबाट सहकार्य गर्ने भएको छ ।
कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै दोस्रो संस्करणमा पनि प्रशिक्षकमा निरन्तरता दिएको छ । उक्त टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णालीको मार्की अनुभवी बल सोमपाल कामी हुन् । यो टोलीले यस संस्करणमा गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । यस संस्करणका लागि मिनी अक्सन पनि भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको आयोजनामा तीव्रता पनि दिइरहेको छ । यद्यपि, क्यानका सचिव पारस खड्काको संयोजकत्वमा रहेको एनपिएलको गभर्निङ काउन्सिलले पहिलो संस्करणको हिसाव किताव सार्वजनिक गरे पनि क्यानको बोर्डबाट पास हुन सकेको छैन ।