२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

५ दिनमै सगरमाथा आरोहण विवादमा, ‘जेनन ग्यास’ प्रयोग गरिएको खुलासा

दिवाकर अधिकारी
२०८२ जेठ ९ गते ०६:२०
५ दिनमै सगरमाथा आरोहण विवादमा, ‘जेनन ग्यास’ प्रयोग गरिएको खुलासा

काठमाडौं : बेलायतका ४ जना पूर्वसैनिकहरूले ५ दिनमै सगरमाथाको सफल आरोहण गरेर बनाएको कीर्तिमान विवादमा परेको छ ।

उनीहरूले तीव्र गतिमा गरेको सगरमाथा आरोहणले विवाद निम्त्याएको छ । आरोहण तयारी गर्ने क्रममा ती आरोहीहरूले विवादित ग्यास जेनन प्रयोग गरेको बताएपछि विवाद उत्पन्न भएको हो ।

पूर्व बेलायती विशेष फौजका सैनिकहरूले सगरमाथामा नयाँ र आश्चर्यजनक कीर्तिमान बनाएका छन् । उनीहरूले परम्परागत उचाइ अभ्यस्त प्रक्रिया नै पूरा नगरी ५ दिनभित्रै सगरमाथाको चुचुरो चुमेर संसारलाई आश्चर्यचकित बनाएका हुन् ।

परम्परागत रूपमा सगरमाथा आरोहण गर्न १ महिनाभन्दा बढी समय लाग्छ । तर, उनीहरूले द्रुत गतिमा आरोहण सफलतापूर्वक गरेपछि यसले अन्तर्राष्ट्रिय चर्चा पाएको छ ।

यो द्रुत गतिको आरोहण टोलीमा बेलायती सरकारका १ मन्त्रीसमेत छन् । उनीहरूले बुधबार बिहान पृथ्वीको सर्वोच्च शिखर चुमेका हुन् ।

सबैभन्दा छोटो समयमा सगरमाथा चढ्ने कीर्तिमान नेपालका ल्हाक्पा ग्यालु शेर्पाको नाममा छ । उनी सन् २००३ मा १० घण्टा ५६ मिनेटमा सगरमाथाको शिखरमा पुगेका थिए ।

आरोहीहरूले अप्रिलको सुरुतिर यात्रा सुरु गर्छन् अनि आधार शिविर र माथिल्लो शिविरहरूबीच पटक–पटक घुमेर शरीरलाई उचाइमा अभ्यस्त बनाउँछन् । यो प्रक्रिया अत्यन्त आवश्यक मानिन्छ र यसलाई बेवास्ता गर्नु जोखिमपूर्ण ठानिन्छ ।

तर, बेलायती टोलीले ५ दिनमै सम्पूर्ण आरोहण सम्पन्न गरेको छ । अघिल्ला दशकहरूमा अकल्पनीय ठानिएको यो कार्य अहिले वास्तविकता बनेको छ ।

जेनन ग्यासको प्रयोग

पृथ्वीको सर्वोच्च शिखरको यो तीव्र आरोहणमा उनीहरू आरोहण गर्नुअघि ‘जेनन ग्यास’को प्रयोग गरेका छन्, जसले विवाद निम्त्याएको छ ।

केही महिनाको तालिम, हाइपोक्सिक चेम्बर सेसन र जेनन ग्यासको प्रयोगका माध्यमबाट उनीहरूले सगरमाथाको आरोहण गरेको खुलेको हो ।

फुर्टेनबाख एड्भेन्चर्सका संचालक लुकास फुर्टेनबाखका अनुसार पूर्वसैनिकहरू मेजर गार्थ मिलर, कर्नेल एलिस्टेयर स्कट कान्र्स, एन्थोनी जेम्स स्टाजिकर र केभिन फ्रान्सिस गडलिङ्टनले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । लुकासले भने, ‘हाम्रा आरोहीहरू आफ्नो लक्ष्यअनुसार लन्डनदेखि संसारको सर्वोच्च शिखरसम्मको सबैभन्दा छिटो आरोहण र पुनः फर्कने अभियान पूरा गरेका हुन् ।’

यो टोली १६ मेमा काठमाडौं उत्रेको थियो भने ७ दिनमै सगरमाथा अभियान सुरु गरेको थियो । उनीहरू १७ मेमा सगरमाथा आधार शिविर पुगेका थिए भने २० मेमा शिखरतर्फको अन्तिम आरोहण सुरु गरेका थिए । उनीहरूसँगै यात्रा गरेका थिए फोटोग्राफर अलेक्जेन्डर ग्रोमेन हेज । अनुभवी शेर्पा गाइडहरू पनि सँगै सगरमाथा चढेका थिए ।

गैरकानुनी तरिका

आरोहण टोलीले प्रस्थानपूर्व आफ्नै हाइपोक्सिक टेन्ट प्रयोग गरेर शरीरलाई उचाइका लागि तयार गरेका थिए । उनीहरूले जर्मनीको एक क्लिनिकमा जेनन ग्यास उपचार पनि लिएका थिए । 

८ हजार मिटर माथिका हिमालहरूमा जेनन ग्यास र हाइपोक्सिक चेम्बरको प्रयोगलाई लिएर आरोहण समुदायमा मतभेद छ ।

बेलायतमा रहँदा उनीहरूले ‘हाइपोक्सिक टेन्ट’मा अभ्यास गरेका थिए र कडा उचाइ–उपयुक्त प्रशिक्षण लिएका थिए । तर, अहिले विवादको मुख्य विषय भनेको उनीहरूले नेपाल आउनुभन्दा २ हप्ताअघि युरोपमा जेनन ग्यासबाट सास फेरेको विषय रहेको छ । उचाइजन्य रोगको जोखिम घटाउन यो ग्यास प्रयोग गरिएको भनिएको छ ।

जेननले शरीरलाई उचाइसँग अनुकूल बनाउँछ, उचाइ रोगबाट बचाउँछ र कम अक्सिजन भएको वातावरणको असर घटाउँछ । यसले आरोहणलाई सुरक्षित र छोटो बनाउँछ, जसले पर्वतारोहण अझ सुरक्षित बनाउँछ ।

उनीहरूको तीव्र सफलता विश्व पर्वतारोहण समुदायमा चासोको विषय बने पनि नेपालमा यसले सुरक्षा, नैतिकता र हिमाली पर्वतारोहणको भविष्यबारे गम्भीर बहस निम्त्याएको छ । जेनन ग्यासको प्रयोगले स्थिति झनै जटिल बनाएको छ ।

सन् २०१४ मा वल्र्ड एन्टी–डोपिङ एजेन्सीले खेलाडीहरूका लागि जेनन ग्यास प्रयोगमा प्रतिबन्ध लगाएको थियो किनभने यसले शरीरमा इरिथ्रोपोइटिन नामक हार्मोन उत्पादनलाई प्रेरित गरेर प्रदर्शनमा सुधार ल्याउँछ ।

तर, पर्वतारोहण भने वल्र्ड एन्टी–डोपिङ एजेन्सीको अधिकार क्षेत्रभित्र पर्दैन । यसमा प्रतिस्पर्धात्मक नहुने भएका कारण आरोहणमा यसको प्रयोगमा कुनै प्रतिबन्ध छैन ।

सगरमाथाको ८ हजार मिटर माथिको ‘डेथ जोन’ पृथ्वीको सबैभन्दा कठोर वातावरणमध्ये एक हो । त्यहाँ अक्सिजन अत्यन्त कम हुन्छ ।

यस्तै, अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए)ले जेनन ग्यास प्रयोग गरेर सास फेर्नुले हिमाली प्रदर्शनमा सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नरहेको जनाएको छ । यसको गलत प्रयोग खतरनाक हुन सक्ने पनि यूआईएएले भनेको छ ।

नेपाल पर्यटन विभागका निर्देशक नारायण रेग्मी बेलायती टोलीले जेनन ग्यास प्रयोग गरी सगरमाथा चढेको जानकारी नभएको बताए । उनले भने, ‘हामीलाई बेलायती टोलीले एक्लिमटाइजेसन नगरी चढेको जानकारी थिएन । अब हामी छलफल गरेर आगामी रणनीति तय गर्छौं ।’

के हुन् जेनन ग्यास र एरिथ्रोपोएटिन ?

जेनन ग्यासको सहयोगमा मानिसहरूले हिमाल चढ्नुपूर्व गरिने अनुकूलनका कामहरू छल्न सक्छन् र छिटो हिमाल चढ्न सक्छन् । 

पहिला हिमाल चढ्दा लामो समय तयारी र उचाइमा अनुकूलनका अभ्यासहरू गर्नुपथ्र्यो । अहिले सहयोगीहरूले तयार बनाएको बाटो र सुरक्षा तयारीका बीचमा २ महिनाजति तयारीमा हिमाल चढ्ने अभ्यास छ । तर, जेनन ग्यास प्रयोगपछि अनुकूलनको समय घटेर २ हप्तामै हिमाल चढ्न सकिने जानकारहरू बताउँछन् ।

बेलायती टोलीले झन् छोट्याएर १ हप्ताभन्दा कम समयमा सगरमाथा आरोहण गरेको हो । १ व्यक्तिलाई त्यसरी छोटो समयमा आरोहण गर्न करिब १ लाख ७० हजार डलर प्रतिव्यक्ति खर्च लाग्छ ।

अस्ट्रियाली गाइड लुकास फर्टनबाखले ल्याएको यो विधिमा जेनन ग्यासमा भर पर्नुपर्ने हुन्छ, जुन एक प्रकारले एनेस्थेटिकको रूपमा प्रयोग गरिन्छ । जेनन ग्यासले शरीरमा रोचक असर पार्छ, जसले एरिथ्रोपोएटिन (इपियो) भनिने प्रोटिन उत्पादन बढाउँछ ।

यसैगरी, यो मानिसको मिर्गौलाले अक्सिजनको मात्रा कम हुँदा उत्पादन गर्ने एउटा ग्लाइको प्रोटिन हो । इपियोले हाइपोक्सिया अर्थात् शरीरले पर्याप्त अक्सिजन प्राप्त गर्न नसक्ने अवस्थासँग लड्छ ।

रातो रक्त कोशिकाहरूको संख्या र तिनीहरूसँग हुने महत्त्वपूर्ण प्रोटिन र हेमोग्लोबिन बढाउन यसले भूमिका खेल्छ, जसको मदतमा शरीरभरि अक्सिजन पुग्छ । सामान्य भाषामा उचाइमा पुग्दा कम अक्सिजनको तहमा पनि शरीरलाई अभ्यस्त गराउन जेनन ग्यासले सहयोग पुर्‍याउँछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर