काठमाडौं : नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न र सामाजिक–आर्थिक संरचनामा व्याप्त असमानता अन्त्य गर्न नागरिक समाजको भूमिकालाई औपचारिक र सशक्त बनाएको छ ।
सार्वजनिक गरिएको ’नेपालको असमानता सम्बन्धी प्रतिवेदन २०२५’ ले शिक्षा, स्वास्थ्य, न्याय, जीविकोपार्जन, बसोबास र राजनीतिक सहभागिता जस्ता क्षेत्रहरूमा रहेको पहुँच असमानता औंल्याउँदै संरचनागत विभेदका जरा उखेलेर समावेशी लोकतन्त्रको बाटो बनाउनु आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरेको छ ।
उक्त प्रतिवेदन सन् २०१९ देखि गरिएका तथ्यांक विश्लेषण, क्षेत्रीय परामर्श र विभिन्न सरोकारवालासँगको अन्तरक्रियाको परिणामस्वरूप तयार पारिएको हो । महासंघले यसलाई नीतिगत संसोधन, बहस र कार्ययोजना निर्माणका लागि आधार दस्तावेजको रूपमा लिन आग्रह गरेको छ ।
कार्यक्रममा ‘रणनीतिक योजना २०२८’ र ‘दिगो विकास लक्ष्यसँग मेल खाने दीर्घकालीन योजना २०३०’ समेत सार्वजनिक गरियो। यी योजनाले नागरिक समाजको दिगो विकास यात्रामा सहकार्य, जवाफदेहिता र समावेशीतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने दृष्टिकोण अघि सारेका छन् ।
महासंघले हाल सरकारद्वारा संघसंस्था सम्बन्धी ऐन निर्माणको तयारी भइरहेका बेला नागरिक संस्थाको स्पष्ट धारणाका साथ ‘पोजिसन पेपर’ प्रमुख दलहरूलाई हस्तान्तरण गर्दै नीति निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।
कार्यक्रममा महासंघका वरिष्ठ नेताहरू, नागरिक अभियन्ता, सञ्चारकर्मी, नीति निर्माता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। समावेशी, न्यायपूर्ण र सशक्त लोकतन्त्र निर्माणका लागि नागरिक समाजको पहलकदमी अब दस्तावेजमा मात्र सीमित नरहने र कार्यान्वयनमै केन्द्रित हुने विश्वास व्यक्त गरिएको छ ।
महासंघका अध्यक्ष अर्जुन कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै लोकतन्त्र सुदृढीकरणमा नागरिक समाजको खबरदारी र ऐक्यबद्धताका लागि व्यापक आह्वान गरिएको थियो । अध्यक्ष भट्टराईले लोकतन्त्रको मियो भनेकै सशक्त नागरिक सहभागिता रहेको स्पष्ट पार्दै संस्थागत अभियानलाई अझ संगठित बनाउनु अपरिहार्य रहेको बताए ।