-कृष्ण सिंह
नेपाल व्यवस्था परिवर्तनमा १० वर्षे जनयुद्धको मूख्य भूमिका छ । जनयुद्धको जगमा भएको जनआन्दोलनबाट नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक तथा समावेशीजस्ता एजेण्डाहरु स्थापित भएका हुन् । यदि जनयुद्धले गाउँ–गाउँ र बस्ति–बस्तिमा प्रभाव जमाउँदैनथ्यो भने जनआन्दोलन हुन सम्भव थिएन । र युगीन महत्वका मुद्दाहरु संस्थागत हुन पनि सम्भव थिएन ।
गणतन्त्र : गणतन्त्र भनेको जनताको तन्त्र अथवा जनताको राज्य । जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदिय हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । लोकतन्त्र अथवा प्रजातन्त्र गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
संघीयता : सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीय स्तरका बेग्ला–बेग्लै तहमा बाँड्ने पद्धति नै संघीयता हो । यसरी संघीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै संघीयता हो । संघीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन पहि हो । संघीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ । अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ । नेपाल संघीय राष्ट्र हो ।
धर्मनिरपेक्षता : सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्माबलम्वी प्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । धर्म निरपेक्षतालाई कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज भनिन्छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो ।
समावेशी समानुपातिक : राज्य प्रणालीका सबै अङ्गमा विभिन्न जातजाति, वर्ग, समुदायलाई संख्याका आधारमा सहभागी गराउने कार्यलाई समानुपातिक प्रतिनिधित्व भनिन्छ । यसले राज्य सञ्चालनको कार्यमा आफ्नो हैसियत अनुसार सबैलाई सहभागी गराउन मद्दत गर्दछ । यो समावेशीकरणको एक तरिका पनि हो । यो बढी मात्रामा राजनीतिमा प्रचलित भए पनि प्रशानिक, आर्थिक, सामाजिक लगायतका अरु क्षेत्रमा पनि लागू गर्न सकिने विषय हो । यसले समावेशी लोकतन्त्रको मान्यता राख्दछ । निर्वाचनमा बहुमत ल्याउनेको मात्र नभई थोरै मत ल्याउनेको पनि उचित प्रतिनिधित्व हुनेहुँदा यसमा बहुमतको तानाशाही नहुने सम्भावना रहन्छ । यसले सुशासनको अवधारणालाई थप बलियो बनाउनसमेत सहयोग गर्दछ । जो नेपाल देश अहिले समावेशी समानुपातिक प्रणालीमा छ ।
खासरुपमा भन्नुपर्दा यी उपलब्धिहरु महान दश वर्षीय जनयुद्ध र जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनका उपज हुन् । जसले एकात्मक राज्य व्यवस्था तथा निरंकुश राजतन्त्रको अन्त्य गरेर जनतालाई अधिकार सम्पन्न बनाउने उपलब्धिहरु हासिल गरे । यी उपलब्धीहरुबाट नै एकात्मक र निरंकुश संरचनामा रहेको राज्य व्यवस्थालाई परिवर्तन गरिदियो भने गाउँ–गाउँमा सिंहदरबार पुर्याउने काम गर्यो । जनतालाई गाउँमै अधिकार सम्पन्न बनाउने दिशामा कदम चाल्यो । जसको कारणले गर्दा देश नयाँ युग तिर लम्कियो । देशमा आमूल परिवर्तन आयो ।
व्यवस्था पुर्ण रुपले परिवर्तन भयो तर, यी उपलब्धिहरु संसदीय व्यवस्थामा टेकेर लागू गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुग्दा माओवादीहरु टुक्रा–टुक्रा भएर अलग भए । जसले गर्दा व्यवस्था नयाँ आउदा पनि सत्तामा त्यहि दलाल र पुँजीपति वर्ग नै जाने अवस्था पनि बन्यो । त्यही कर्मचारीहरु राजाका रैतीहरु नै कायम रहन पुगे । जसले गर्दा व्यवस्था नयाँ भए पनि तिनिहरुले आफू अनकुलतामा लागु गर्न थाले । र नेपाली जनताको बिचमा यो व्यवस्था बदनाम गर्न खोजेका छन । साथै माओवादी नेताहरु बिलासी जीवन बिताउनुमा केन्द्रित हुन पुगे जसको नतिजा नेपाली जनताले भोगिरहेका छन् ।
यो दलाल संसदीय व्यवस्था भनेको खसिको टाउको देखाउने र गोरुको मासु बेच्ने व्यवस्था हो । त्यसैले यो व्यवस्थामा टिकेर आफुलाई राजनैतिक खेलाडी यदि कसैले आफुलाई बुझ्छ भने त्यो नेपाली जनताको प्रमुख दुश्मन हो, चाहे जेसुकै होस । त्यसैले अब क्रान्तिकारीहरुले छिटोभन्दा छिटो एकता गरेर यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरि प्रत्यक्ष जनतावाट निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुने व्यवस्थाका लागि लड्न आवश्यक छ । साथै विशेषाधिकारका लागि पनि एक भएर लड्नुपर्ने हुन्छ ।
(लेखक सिह अखिल (क्रान्तिकारी) भारत नेपाली विद्यार्थी मञ्चको केन्द्रिय समितिका प्रमुख हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies