२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सन्देह

shivam cement
अभय श्रेष्ठ
२०८२ कार्तिक ५ गते ०७:०५
Shares
सन्देह

यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने     
विविध रङको अस्तित्व
र बादलका टुक्राझै“
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर ।
अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर ।
तिम्रा सम्मानित गुरुले
मीठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता 
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर ।
सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन् तिम्रै सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपद, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य 
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर ।
आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर ।
म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा ।

(बुकहिलबाट प्रकाशित ‘लहना र तीर’बाट)

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

सम्बन्धित खबर