छेन्दु, चीन : चीनको छेन्दुमा अध्ययन पूरा गरेका नेपाली विद्यार्थीहरूका लागि छेन्दुस्थित नेपाली महावाणिज्यदूतावास र नेप्लिज स्टुडेन्ट्स अर्गनाइजेसन, चीन (पूर्व: एसोसिएसन अफ नेप्लिज स्टुडेन्ट्स, चीन) को संयुक्त आयोजनामा एक भव्य र ऐतिहासिक दीक्षान्त समारोह तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
विश्वभर रहेका नेपाली कूटनीतिक नियोगहरूले पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गर्नु नेपाली विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई संस्थागत रूपमा सम्मान गर्ने ऐतिहासिक प्रयासका रूपमा हेरिएको छ ।
कार्यक्रममा छेन्दुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउत, वाणिज्यदूत कोमल बराल र उपवाणिज्यदूत विनोद खनालको उपस्थिति रहेको थियो । उनीहरूले अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बधाई दिँदै चीनमा प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको समृद्धिमा उपयोग गर्न प्रेरणा प्रदान गरे ।
नेप्लिज स्टुडेन्ट्स अर्गनाइजेसन, चीनको स्थापना कोभिड–१९ महामारीको समयमा भएको हो, जब चीनमा रहेका नेपाली विद्यार्थीहरू विभिन्न कठिनाइ भोगिरहेका थिए । गैर–नाफामूलक उद्देश्यले स्थापना भएको यस संस्थाले आपतकालीन सहयोग, शैक्षिक समन्वय, सांस्कृतिक कार्यक्रम र संस्थागत सहकार्यको माध्यमबाट दूतावास, विश्वविद्यालय र विद्यार्थीहरूबीच सेतुको भूमिका निर्वाह गर्दै आएको छ ।
दीक्षान्त समारोह तथा बिदाइ कार्यक्रम संस्था र महावाणिज्यदूतावासको सहकार्यमा सम्पन्न भएको हो । यस्ता प्रयासले विदेशी भूमिमा रहेका नेपाली विद्यार्थीहरू र कूटनीतिक नियोगबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दूतावासको उत्तरदायित्वपूर्ण भूमिकालाई उजागर गरेको छ ।
महावाणिज्यदूत राउतको आग्रह
दूतावासको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत सुरेश राउतले सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै चीनबाट प्राप्त ज्ञान र अनुभवलाई मातृभूमिको सेवा र विकासमा लगाउन आग्रह गरे ।
साथै, उनले नयाँ पहलस्वरूप चीनबाट स्नातकोत्तर तथा अनुसन्धानग्रन्थ (थेसिस) तयार गरेका विद्यार्थीहरूको कृति संकलन गरिने योजना सार्वजनिक गरे ।
ती कृतिहरूलाई विशेष पुस्तकालय तथा अभिलेखको रूपमा संग्रह गरिने र भविष्यमा नीति निर्माण, विकास आयोजनासहित शैक्षिक अनुसन्धानमा सन्दर्भ सामग्री बन्न सक्ने उनले विश्वास व्यक्त गरे । यो पहलले विद्यार्थीहरूको श्रमलाई दीर्घकालीन योगदानमा रूपान्तरण गर्ने लक्ष्य राखेको उनले बताए ।
प्रेम जोशीको प्रेरणादायी सन्देश
नेपाली कांग्रेसका युवा नेता तथा सिचुवान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरिरहेका प्रेम जोशीले विद्यार्थीहरूलाई सामाजिक निराशा, नकारात्मकता र द्वन्द्वात्मक सोचबाट टाढा रहन आग्रह गरे । उनले विदेशमा प्राप्त ज्ञान, दृष्टिकोण र सीपलाई मातृभूमिको सेवा र सामाजिक रूपान्तरणमा लगाउनुपर्ने साझा कर्तव्य भएको बताए । चेङ्दुमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्ने चुनौतीहरूको चर्चा गर्दै उनले सकारात्मक सोच, सहकार्य र साझा भविष्य निर्माणमा केन्द्रित रहन सुझाव दिए ।
डा. श्रेष्ठको अनुभव र दृष्टिकोण
साउथवेस्ट जियाओटोंग विश्वविद्यालयबाट वास्तुकला विषयमा विद्यावारिधि गरेका डा. राम श्रेष्ठले पाँच वर्षे चीनको शैक्षिक यात्राको अनुभव बाँडे। उनले चीनको शैक्षिक प्रणालीले आफूलाई आत्मानुशासन, सहनशीलता र बहुआयामिक सोच सिकाएको बताए । “वास्तुकला र निर्माण क्षेत्रमा चीनमा प्रयोग हुने नवीनतम प्रविधिहरू नेपालमा पनि समय बचत र कार्यक्षमता वृद्धि गर्ने साधन बन्न सक्छन्,” उनले भने । इञ्जिनियरिङ र वास्तुकलाको संयोजनमा आधारित विकास मोडेल नेपालमा अवलम्बन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
सुमिता चोलेखाेको भावुक मन्तव्य
सिचुवान विश्वविद्यालयमा इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेकी सुमिता चोलेखाे छेन्दुमा बिताएको समय स्मरण गर्दै भावुक भइन् । उनले भनिन्, “छेन्दुमा पाइला टेकेको पहिलो दिनदेखि नै नेपाली महावाणिज्यदूतावास मेरो दोस्रो घरजस्तै बन्यो । कठिन समयमा यहाँका कर्मचारीहरूले दिएको साथ, मार्गदर्शन र आत्मियता आज पनि मनमा अमिट छ।” कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गर्दै उनले यस्तो सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताइन् ।
कार्यक्रममा महावाणिज्यदूतावासले दीक्षित भएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई मायाको चिनोसमेत प्रदान गरेको थियो ।
यस कार्यक्रमले नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रामा महावाणिज्यदूतावासको सक्रिय साथ सहयोग उजागर गर्नुका साथै भविष्यमा उनीहरूले नेपालमा योगदान दिन प्रेरणा प्रदान गर्ने स्पष्ट संकेत दिएको छ । शिक्षा, प्रविधि र सांस्कृतिक सम्बन्धमार्फत नेपाल–चीन मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास यस कार्यक्रमले जगाएको छ ।
दीक्षित हुने विद्यार्थीहरुको सूची :