काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको जेन जेड आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूलाई तत्काल सम्बन्धित कारागारमा फर्कन आग्रह गरेको छ ।
आयोगले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको जेन जेडको प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदी बन्दीहरूका कारण समाजमा त्रास र असुरक्षा बढेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।
आयोगका अनुसार, भागेका कैदीबन्दीहरूले अपराध पीडितको हकमाथि असर पारेको र विशेषगरी महिला, बालबालिका तथा अपराध पीडित परिवारमा मनोवैज्ञानिक त्रास सिर्जना भएको पाइएको छ । विज्ञप्तिमा सुरक्षा निकायलाई कैदी बन्दीहरूको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूलाई पनि कानुनी शासनको सम्मान गर्न आह्वान गरिएको छ ।
यस्तै आयोगले आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका नेपाल प्रहरीका हतियार र पोशाक फिर्ता गर्नसमेत आग्रह गरेको छ । यी हतियारको दुरुपयोग भएर हिंसात्मक गतिविधि हुन सक्ने भन्दै आयोगले यसलाई गैरकानुनी कार्यको रूपमा व्याख्या गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिले समाजमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिएको छ ।