२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

उपभोक्ता अदालतविरुद्ध डाक्टरहरू संघर्षमा

सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने

shivam cement
जानकी पाठक
२०८२ असार २१ गते ०६:३०
उपभोक्ता अदालतविरुद्ध डाक्टरहरू संघर्षमा

काठमाडौं : चिकित्सकीय लापरबाहीका मुद्दामा उपभोक्ता अदालतले डाक्टरलाई क्षतिपूर्ति तिराउने आदेश दिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टरहरू स्वास्थ्य सेवा नै ठप्प पार्ने गरी आन्दोलनमा उत्रन लागेका हुन् ।

संघले चिकित्सा सेवालाई सामान्य उपभोक्ता वस्तुसरह व्यवहार गरी कारबाही गर्नु अस्वीकार्य रहेको भन्दै संघले सशक्त आन्दोलनको चेतावनी दिएको हो । 

‘चिकित्सकीय सेवा कुनै सामान वा उपभोक्ता वस्तु होइन । यसलाई सामान्य व्यापारिक ढाँचामा हेर्नु गम्भीर त्रुटि हो,’ संघले शुक्रबार विज्ञप्ति जारी गरी भनेको छ, ‘उपचारमा देखिने जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकलाई कारबाही गर्नु न्यायसंगत होइन । यस्ता कार्यले सम्पूर्ण स्वास्थ्य प्रणालीमा अविश्वास फैलाउने चिकिन्सकलाई त्रसित पार्ने काम गर्छ ।’

नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरी कानुनी हस्तक्षेप भएकाले चिकित्सा क्षेत्रमा अन्योल सिर्जना गर्न खोजिएको पनि संघको दाबी छ । ‘उपभोक्ता अदालतले यस्तो निर्णयको पुनरवलोकन गर्नुपर्ने र स्वास्थ्य मन्त्रालय तथा सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने संघको आग्रह छ ।

अदालतको निर्णयको विरोध गर्दै संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ । उपचारमा ला

परबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै संघ आन्दोलित बनेको हो । 

महासचिव डा. सञ्जीव तिवारीले आफूहरूको मागका सम्बन्धमा शुक्रबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको जनाए । सोमबार बसेको संघको आकस्मिक बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

साथै यसबारे सरकारले उपयुक्त कदम नचाले सशक्त आन्दोलन गर्ने चेतावनीसमेत संघले दिएको छ । 

यस्तै आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ असारमा नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने तयारी पनि संघको छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् । 

अदालतले विरामीको उपचारमा लापरवाही भएको जनाउँदै हालै काठमाडौंका ३ अस्पताललाई विरामी पक्षका परिवारलाई आर्थिक क्षतिपूर्ति तिर्नुपर्ने फैसला गेपछि डाक्टरहरू विरोधमा उत्रेका हुन् ।

काठमाडौंको ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, काठमाडौंकै हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ र काठकाडौकै ग्राण्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति विरामी पक्षका परिवारलाई तिर्नुपर्ने अदालतले फैसला गरेको हो ।

ओम अस्पतालको गलत तथा गुणस्तहीन उपचारका कारण आफ्नो बुबाको मृत्यु भएको दाबी गर्दै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने माग गरी वसन्त गौतमले मुद्दा दायर गरेका थिए । मुद्दामाथि अदालतले २९ जेठमा फैसला गर्दै ५६ लाख ८१ हजार रुपैयाँ अस्पतालले दिनुपर्ने निर्णय ग¥यो । फैसलाअनुसार अस्पतालले ५० लाख ७० हजार र २ जना चिकित्सकले जनही ३ लाख ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने भयो ।

यसैगरी वर्षा भण्डारीले आफ्नो प्लास्टिक सर्जरी गुणस्तरीय नभएको भन्दै ग्रान्डी सिटी अस्पतालविरुद्ध ३ करोड १७ लाख क्षतिपूर्ति माग गरेकोमा अदालतले ५ असारमा ५७ लाख १९ हजार क्षतिपूर्ति भराउने फैसला ग¥यो । यसमा अस्पतालले ३० प्रतिशत र चिकित्सकले ७० तिर्नुपर्ने भएको छ ।

यस्तै गंगा गौतमले काठमाडौंकै हिमाल अस्पतालको लापरबाही भएका उपचाररत छोरीको मृत्यु भएको भन्दै १ करोड ९५ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने मागसहित उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । १२ असारमा अदालतले फैसला गर्दै १ करोड ४५ लाख रुपैयाँ पीडित पक्षलाई भराउन आदेश दियो । जसमा अस्पतालले ७० प्रतिशत र चिकित्सकले ३० प्रतिशत रुपैयाँ तिर्नुपर्ने छ । यसरी अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई बिरामीका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेपछि चिकित्सकहरूले प्रतिवाद गरेका हुन् ।

उपभोक्ता अदालतको फैसला अपाच्य हुने भन्दै संघले स्वास्थ्य सेवालाई व्यापारिक ढाँचामा हेर्नु त्रुटीपूर्ण हुने जिकिर गर्दै फैसलाको पुनरावलोकन गर्न माग गरेको छ । उपचारमा देखिने जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकलाई कारवाही गर्नु न्यायसंगत नहुने संघको तर्क छ । यस्तै, स्वास्थ्य सेवा र चिकित्सकसँग सम्बन्धित विषयमा नेपाल मेडिकल काउन्सिलबाट मात्र मूल्यांकन गरिनुपर्ने संघको माग छ ।

७३ जिल्लामा पुग्यो डेंगु

देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । गत पुसदेखि असार १८ गतेसम्म १ हजार ६ सय ७३ वटा डेंगुका बिरामी पुष्टि भएका छन् ।

२०८१ पुस १७ गतेदेखि २०८२ असार १८ गतेसम्म ७३ जिल्लामा गरी १ हजार ६ सय ७३ जनामा डेंगु संक्रमण भएको हो । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हिमाली ४ जिल्ला (डोल्पा, हुम्ला, मनाङ र रसुवा) मा भने यस वर्ष हालसम्म डेंगु संक्रमण नपाइएको जानकारी दिए ।

सबैभन्दा धेरै वागमती प्रदेशमा ४ सय ४, गण्डकी प्रदेशमा ३ सय ५८, कोशी प्रदेशमा ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लातर्फ सबैभन्दा धेरै काठमाडौँमा १ सय ७८ जना, कास्कीमा १ सय ३४, सुनसरीमा १ सय ५ वटा डेंगुका केस दर्ता भएको छ ।

प्रवक्ता बुढाथोकीकाअनुसार डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेसी बेस्सरी दुख्ने, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु जस्ता लक्षणहरु देखिन्छन् । डेंगु संक्रमित करिब ८० प्रतिशतमा लक्षण नदेखिने उनले बताए ।
 

ADV

सम्बन्धित खबर

Advertise