वीरगञ्ज : नेपाल-भारत मिल्लत काउन्सिलको आयोजनामा वीरगञ्जमा सम्पन्न ‘नेपाल–भारत प्राज्ञिक भेला’मा दुई देशबीचको ऐतिहासिक, सामाजिक तथा धार्मिक सम्बन्धबारे छलफल गरिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले विशेष गरी मुस्लिम समुदायको साझा सांस्कृतिक पक्षले नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, कानुन, न्याय तथा संघीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन कानुनी, कूटनीतिक र सामाजिक तहमा सहकार्य आवश्यक रहेको औंल्याउँदै मुस्लिम समुदायजस्ता साझा संस्कृतिहरू दुई देशलाई अझ नजिक ल्याउने कडी भएको बताए ।
कार्यक्रमको अध्यक्षता नेपाल-भारत मिल्लत काउन्सिलका अध्यक्ष तथा मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले गरेका थिए । कार्यक्रममा उनले दुई देशका मुस्लिम समुदायबीचको ऐतिहासिक, धार्मिक र पारिवारिक सम्बन्धको चर्चा गरे । उनले १९५० को नेपाल-भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ लाई दुई देशबीचको सजीव सम्बन्धको कानुनी आधारका रूपमा व्याख्या गरे ।
डेनमार्कका लागि नेपालका पूर्वराजदूत विजयकान्त कर्णले नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि र त्यसमा मुस्लिम समुदायको योगदानबारे विश्लेषण गर्दै धार्मिक सहिष्णुता र बहुसांस्कृतिक सहअस्तित्वमा आधारित सम्बन्धको प्रवर्द्धन आवश्यक रहेको धारणा राखे ।
पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले कार्यक्रम सञ्चालन गर्दै ‘पिपल टु पिपल’ सम्बन्ध नै दुई देशबीच स्थायी सेतु भएको उल्लेख गरे । उनले भने, 'राजनीतिक सम्बन्धभन्दा पर जनताको आत्मीयता नै दिगो मित्रताको आधार हो, जहाँ मुस्लिम समुदायको भूमिका अझ सशक्त हुनसक्छ।'
कार्यक्रममा पूर्वमन्त्री अब्दुल खान, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रिय सभा सदस्य खालिद सिद्दीकी, नेशनल मेडिकलका अध्यक्ष जैनुद्दीन अन्सारी, मुस्लिम आयोगका निवर्तमान अध्यक्ष महमदिन अली, जमियत उलमाए नेपालका मौलाना मोहम्मद खालिद सिद्दीकी, उपाध्यक्ष असगरअली मदनी, नेशनल मेडिकलका संस्थापक बसरुद्दिन अन्सारी, नेपालकी पहिलो मुस्लिम महिला पूर्वमन्त्री करिना बेगम र पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रसहितका विशिष्ट व्यक्तित्वहरूले आ-आफ्नो धारणा राख्दै साझा सामाजिक र धार्मिक पक्षहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न प्राज्ञ, समाजसेवी, धार्मिक अगुवा, शिक्षाविद् र स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।