२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

आज नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवस

ADV
लेखनाथ सिकारु
२०८१ साउन ७ गते १३:५७
आज नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवस

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।

विसं १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए । उनी शहीद गंगालालका भाइ हुन् ।

उनले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसदमा राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् ।

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैं लागिरहे ।

अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले  नेपालको गहिरो इतिहास अध्ययन गर्नुका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज कीर्तिपुर नगरपालिका, वडा नं ४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जली सभाका साथै विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको प्रतिष्ठानका महासचिव गंगालाल तुलाधरले जानकारी दिए । यसैगरी नेकपा एमालेसहित विभिन्न वामपन्थी दलहरुले उनको स्मृतिमा स्वदेश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले करिब १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिक जीवन बिताए र ३८ वर्षसम्म नेपाल र नेपाली जनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्ति अनवरत संघर्ष गरेर नेपाली राजनीतिक आकाशमा एउटा उज्ज्वल नक्षत्रका रुपमा आफूलाई स्थापित गरे । नेपालको एकतन्त्रिय जहाँनिया राणाशासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहीद गंगालाल श्रेष्ठका सहोदर भाइ स्व. पुष्पलालले निरंंकुश राणाशाही विरोधी आम प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काममा र त्यो आन्दोलनलाई क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनका रुपमा उठाउने काममा खेलेको भूमिका असाधारण महत्वको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  पुष्पलाल दुरदर्शिता, त्याग र इमानका प्रतिकका रुपमा नेपालको राजनीतिकमा उच्च स्थान वनाउन सफल भए । २००६ वैशाख १० गते अर्थात सन १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामवजारमा आफ्ना सहकर्मीहरु निरञ्जनगोविन्द वैद्य, नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर  पुष्लालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।  पुष्पलालको योगदान र त्यागका कारण नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु सशक्त र गौरवशाली पार्टीका रुपमा देशभर स्थापित भएका हुन् । नेपालमा कम्युनिष्ट पार्टीको विचारधारा भित्र्याउने,  नेताकै कारण पुष्पलाल आज पर्यन्त हामी सवैका लागि आदर्श र प्रेरणाका श्रोतका रुपमा रहिआएका छन् ।  तीन 'स' अर्थात सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्वन गरेका थिए । त्यसैको जगमा उभिएर आज नेपालमा कम्युनिष्ट आन्दोलन सशक्त पार्टी बन्न सफल भएको छ । 

कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद २००५ अर्थात १९४९ अप्रिल ५ मा प्रकाशन गरेर कम्युनिष्ट विचारधारासँग नेपालीहरुको परिचय गराउनुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर त्यसमा गोलवन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ । त्यतिमात्र होइन, नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीबादी होइन, द्वन्द्वात्मक भौतिकवादी अध्ययन विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । सांस्कृतिक रुपान्तरण विना कम्युनिष्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई उनि उतिकै जोड दिएको पाइन्छ । 

पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्वन्ध, संस्कृति जस्ता विषयमा गहन अध्येता हुन् भन्ने कुरा उनका संकलित रचनाहरु अध्ययन गर्दा थाहा हुन्छ । इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिष्ट पार्टी अघि वढ्नु पर्छ भन्ने कुरामा पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख  छ । 

कम्युनिष्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुन भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गरेका हुन् । दिल्ली सम्झौताको विरोधदेखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपक्तिमा रहेर विरोध गर्ने कामको अगुवाइ गरेको पाइन्छ । पुष्पलालले आफ्नो जीवनकालमा गरेको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमान्दार प्रयास आजको मजवुत कम्युनिष्ट आन्दोलनको आधारशिलाका रुपमा छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise