२०८२ साउन १० गते शनिवार / Jul 26 , 2025 , Saturday
२०८२ साउन १० गते शनिवार
Ads

एमालेलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन्- यो परिपक्व निर्णय भएन

shivam cement
मध्यान्ह
२०८२ साउन ९ गते १६:३२
एमालेलाई पूर्वराष्ट्रपति भण्डारीले भनिन्- यो परिपक्व निर्णय भएन

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध भएर देश र जनताको सेवा गर्ने संकल्प गर्नुलाई कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले आफू राजनीतकि व्यक्ति नै भएकाले राजनीतिमा पुनः सक्रिय हुनु नौलो कुरा नभएको बताइन् । आफ्नो बाँकी जीवन राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको उनले बताइन् ।

कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति नरहेको पनि उनले स्पष्ट पारिन् । आफ्नो उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको उनले बताइन् ।

जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘ म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आवद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन । यो संवैधानिक अधिकार मात्र होइन, बरु म  राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ । कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु । मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो । अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो । नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आवद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन । यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानून र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधैँ छोप्न सकिँदैन । वृहत छलफल गरिकन विवेकसम्मत ढंगले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रियताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’

पूर्वराष्ट्रपति भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायीरूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैं छोप्न नसकिने बताइन् ।

ADV

सम्बन्धित खबर

Advertise